
सालाहको २ गोलमा लिभरपुलको जित, २ गोल गरेका ग्रिजम्यानलाई रातो कार्ड


काठमाडौं । मोहम्मद सालाहाले दुई गोल गरेपछि इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा १० खेलाडीमा समेटिएको स्पानिस क्लब एट्लेटिको मड्रिडलाई ३-२ ले पराजित गरेको छ ।
एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यानले दसई गोल गरे तर उनी रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
एट्लेटिकोको मैदानमा भएको खेलको आठौं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
१३औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । तर ग्रिजम्यानले २०औं र ३४औं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
रोमाञ्चक बनिरहेको खेलमा ५२औं मिनेटमा ग्रीजम्यानले रातो कार्ड पाएपछि घरेलु टिम एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि ७८औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाए ।
समूह बीमा यससँगै लिभरपुलको लगातार तेस्रो जित हो ।
लिभरपुल तीन खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक रहेको एट्लेटिको दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा एफसी पोर्टोले एसी मिलानलाई १-० ले पराजित गरेको छ ।
पोर्टो चार अंक जोडेर तेस्रो स्थानमा छ भने मिलान अंकविहीन हुँदै पुछारमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित