+
+

पूर्वी कैलालीका झण्डै २०० घर डुबानमा, ३ जना बेपत्ता

राजापुर-टीकापुर हुलाकी राजमार्ग बाढीले भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ९:४०

३ कात्तिक, धनगढी । कर्णाली नदीमा आएको बाढी गाउँ पस्दा पूर्वी कैलालीमा झण्डै दुई सय घर डुबानमा परेका छन् ।

मंगलबार राति करिब १ बजेको सयमा कर्णालीको बाढी टीकापुर नगरपालिका–५ साइपुरबाट कालाकुुण्डा हुँदै मोहना नदीलाई समेत थुन्दा कालाकुण्डा र अर्नाफाटाका ८० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक विष्टले दिएको जानकारी अनुसार बाढीले इलाका प्रहरी कार्यालय टीकापुर र साइपुर क्षेत्रका थप ७० घर पनि डुबानमा परेका छन् ।

उनकाअनुसार जानकी गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि बाढीले झण्डै ४० घर डुबानमा परेका छन् भने कैलारी गाउँपालिकाको खल्लाफाटामा पनि २५ घर डुबानमा परेका छन् ।

डीएसपी विष्टले नदीले घर डुबाएपछि प्रभावित भएका स्थानीयलाई राति नै कालिका माध्यमिक विद्यालय र आफन्तको घरमा सारिएको जानकारी दिए ।

अविरल वर्षासँगै आएको बाढीले बर्दियाको राजापुरलाई कैलालीको टीकापुरसँग जोड्ने हुलाकी राजमार्ग नै बगाएको छ । राजमार्ग बगाएपछि राजापुर–टीकापुर यातायात सेवा प्रभावित बनेको छ ।

कर्णाली नदीमा तीन जना बेपत्ता

यसैबीच कर्णाली नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । सोमबार नदीमा माछा मार्न गएका लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका ६१ वर्षीय खड्कबहादुर घर्तीमगर, ३५ वर्षीय विक्रम घर्तीमगर र २६ वर्षीय खड्क रानामगर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्टले बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

यस्तै कर्णाली नदीमै माछा मार्न गएका थप तीन जना फसेका छन् । माछा मार्न गएका जानकी गाउँपालिकाका विष्णु चौधरीसहितका तीन जना कर्णाली नदीको भंगालोमा फसेको जानकारी आएकाले उद्धारका लागि पहल भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि आएको पहिरोले भीमदत्त राजमार्ग फेरि अवरुद्ध भएको छ । मंगलबार झण्डै १५ घण्टापछि सञ्चालनमा आएको राजमार्ग कैलालीको चुरे गाउँपालिका–५ को भ्यागुतेपानीमा पहिरोसहित रुख ढल्दा अवरुद्ध भएको हो । चुरे गाउँपालिका–४ को गोपालेमा समेत पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको कैलाली प्रहरीले जनाएको छ ।

फोटो क्रेडिट : रमित पाण्डे, टीकापुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?