+
+

कञ्‍चनपुरमा जंगली हात्ती भगाउन सुरक्षाकर्मी परिचालन

रासस रासस
२०७८ कात्तिक ४ गते १२:१२
फाइल तस्वीर

४ कात्तिक, कञ्चनपुर । जंगली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो ।

नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ । हात्ती नियन्त्रणका लागि सुरक्षा निकायका २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका–१, २, ३, ४, ५, ८, ११ र १२ वडा प्रभावित छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने र इलेक्ट्रक फेन्सिङलाई व्यवस्थित पार्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारी दिए । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने काम भइरहेको उनको भनाइ छ ।

लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मर्कामा परेका छन् । जंगलीहात्तीले बुधबारमात्रै नगरपालिकाको वडा नं १२ का दम्पती ध्वजबहादुर कार्की र मथुरा कार्कीको ज्यान लिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

बस्ती नजिकैका सामुदायिक वनमा जंगलीहात्ती दिउँसै ओहोरदोहोर गर्दै आएका छन् । स्थानीय बासिन्दाले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।

प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जंगलीहात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । वर्षात्का बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पुर्‍याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो (करिडोर) मासिदा हात्तीले अधिक नोक्सनी पुर्‍याउने गरेको वन्यजन्तु विज्ञहरुको भनाइ छ ।

‘हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन’, विज्ञहरु भन्छन्, ‘प्रजननका बेला मात चढेको मत्त (भाले) हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ।’ छावामाथि आक्रमण हुनसक्ने ठानेमा हात्ती हिंस्रक हुने बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?