+
+

टी-२० विश्वकप : पीएनजीलाई ८४ रनले हराउँदै बंगलादेश सुपर १२ मा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १९:४८

४ कात्तिक, काठमाडौं । शकिब अल हशनको अलराउण्ड प्रदर्शनमा पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै बंगलादेश आईसीसी टी-२० विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ ।

पहिलो चरण अन्तर्गत बिहीबार भएको समूह बी को आफ्नो अन्तिम खेलमा बंगलादेशले पीएनजीलाई ८४ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १८२ रनको लक्ष्य पछ्याएको पीएनजी ३ बल बाँकी छँदै ९७ रनमा अलआउट भयो ।

पहिलो खेलमै स्कटल्याण्डसँग पराजित भएको बंगलादेशले त्यसपछि ओमान र पीएनजीलाई हराएर ३ खेलबाट ४ अंक जोड्दै सुपर १२ मा स्थान पक्का गरेको हो ।

बंगलादेश समूहको शीर्ष स्थानमा छ । आजै घरेलु टोली ओमान र स्कटल्याण्डबीच खेल हुँदैछ । उक्त खेलमा स्कटल्याण्ड विजयी भएमा समूह विजेता बन्नेछ । यदी ओमानले स्कटल्याण्डलाई ७९ रनले पराजित गरेमा समूह विजेता बन्नेछ ।

टी-२० विश्वकपमा डेब्यु गरेको पीएनजी भने समूहको तीनवटै खेल हार्दै बाहिरिएको छ ।

शकिब र महमुदुल्लाहको ब्याटिङमा बंगलादेशको उच्च स्कोर

यसअघिका दुई खेलमा राम्रो ब्याटिङ गर्न नसकेको बंगलादेशले यस खेलमा १८० रन भन्दा धेरै बनायो । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले कप्तान महमुदुल्लाहको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । पहिलो ओभरमै मोहम्मद नइम खाता नखोली आउट भएपनि लिटन दास र शकिब अल हशनले दोस्रो विकेटका लागि अर्धशतकिय साझेदारी गरे ।

शकिबले ३७ बल खेल्दै ३ छक्का मद्दतमा ४६ रनज जोडे । लिटनले २३ बलमा २९ रन बनाए । त्यसपछि कप्तानी पारी खेल्दै महमुदुल्लाहले २७ बलमै अर्धशतक बनाए । उनले २८ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ५० रन जोडे । अफिफ हवसेनले १४ बलमा २१ रन बनाउँदै मोहम्मद सैफुदिनले ६ बलमै अविजित १९ रन बनाए । पीएनजीका काबुअ मोरेअ, डामिएन राभु र कप्तान असद भालाले २-२ विकेट लिए ।

शकिबको घातक बलिङ

१८२ रनको उच्च लक्ष्य पछ्याउने क्रममा पीएनजीले शुरुमै विकेट गुमाएपछि सम्हालिन सकेन ।

विकेटकिपर किपलिन डोरिगाले अविजित ४६ रन बनाउनु बाहेक अन्य खेलाडी टिकेर खेल्न सकेनन् । चाड सोपरले ११ रन जोडे । बाँकी ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्।

पीएनजीलाई ९७ रनमा अलआउट गर्दा शकिबले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिए । यस्तै मोहम्मद सैफिदिन र तस्किन अहमेदले २-२ विकेट लिए । मेहदी हसनले १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?