
कठै ! पण्डित तिम्रो विवेक
कामी दाइले बनाएको खाटमा सुत्छौं
दर्जी दाईले सिलाएको दौरा लाउँछौं
तर कामी दाइलाई छि-छि गर्छौं
दर्जी दाइलाई दूर-दूर गर्छौं
कठै ! पण्डित तिम्रो मति…
कुनै बेला डायरीमा यस्तै-यस्तै भावना पोखिन्थे । पाखण्डै पाखण्डले भरिपूर्ण नेपाली समाजमाथि कवितामार्फत् हमला गर्ने क्रममा माथिको कविता फुरेको थियो । बाँकी हरफ ठ्याक्कै याद भएन ।
कसैलाई लाग्न सक्छ- माथिको श्लोक कुनै एउटा समुदायमाथिको सुनियोजित हमला हो । तर उतिबेला फुरेका कविताले कसैलाई बाँकी राखेका थिएनन् । एउटा कविताको शीर्षक ‘दलितको दोहोरो चरित्र’ थियो । सो कविता हुबहु कस्तो थियो अहिले भुलिसकेँ । तर सो कविताले दलित समुदायभित्र लुकेको पाखण्ड चित्रण गरेको थियो ।
कतिपय कविता राजतन्त्रको मजाक उडाउने बिम्बले भरिभराउ हुन्थे । आलोपालो, आधाआधा र भागबण्डाले गणतन्त्र थलिनेछ भन्ने थाहा पाएको भए राजतन्त्रविरुद्ध त्यति साह्रो ‘क्रिटिकल’ हुने अवस्था आउने थिएन !
सिसिफसको ढुंगो र नेपाली गणतन्त्रको नियति
पौराणिक ग्रिक कथाका एक पात्र हुन्, सिसिफस । कथाअनुसार जिअस (देवलोकका राजा) ले चीलको रुप धारण गरी एजिनाको अपहरण गर्छन् र एउटा टापूमा पुर्याउँछन् । एजिनाका बाबु एसोपस छोरीको खोजी गर्ने क्रममा कोरिन्थ पुग्छन् । कोरिन्थका राजा सिसिफसले एउटा चराले युवतीलाई नजिकैको टापूतिर लगेको बताउँछन् । उक्त सूचना दिएवापत एसोपसले एक्रोपोलिसमा पानीको मूल फुटाइदिन्छन् ।
सिसिफसको उक्त कार्यबाट निकै क्रुद्ध बनेका जियसले सजाय स्वरुप सिसिफसलाई रसातलमा बाँधेर राख्न थानाटोस (यमराज) लाई आदेश दिन्छन् । तर उनले चतुर्याइँ गरेर उल्टै यमराजका दूतलाई बाँधिदिन्छन् । यमराजका दूत बाँधिएकाले पृथ्वीमा कसैको मृत्यु हुँदैन । छलकपट गरेर मृत्युलाई नै झुक्याएको थाहा पाएपछि यमराजले उनलाई अनन्त कालसम्म एउटै काम गर्नुपर्ने सजाय दिन्छन् ।
सजायअनुसार सिसिफसले एउटा ठूलो ढुंगो पहाडको टुप्पामा पुर्याउनुपर्छ । तर टुप्पोमा पुग्नेबित्तिकै ढुंगो गुल्टिँदै फेदमा आउँछ । पहाडको टुप्पोमा पुर्याउने र गुल्टिँदै फेदमा आउने क्रम कहिल्यै रोकिँदैन ।
उत्पीडन, भेदभाव र असमानताविरुद्ध लड्नेहरु विस्तारै खलनायकमा परिणत भइरहेका छन् । नेपाली राजनीति नयाँ-नयाँ विसंगतिमा डुबिरहेको छ । हजारौंको रगतसँग साटिएको गणतन्त्र अपत्यारिला काण्डले थला परिरहेको छ । झट्ट हेर्दा गणतन्त्रको वर्तमान नियति र सिसिफसको ढुंगो उस्तैउस्तै देखिन्छन् ।
अल्बेयर कामुले ‘मिथ अफ सिसिफस’ मा सोही कथालाई आधार बनाएर आधुनिक समाजको विसंगतिपूर्ण नियतिलाई देखाउन खोजेका छन् ।
कतिपयले ‘सिसिफसको ढुंगो’लाई ईश्वरको सर्वोच्चताविरुद्धको विद्रोहको प्रतीकको रुपमा हेर्छन् । उक्त ढुंगो छलकपट तथा चतुर्याइँमा जिअसभन्दा आफूलाई निपूर्ण ठान्ने सिसिफसको घमण्डको प्रतीक पनि हो । तर कामुले भने आधुनिक समाजको विसंगति र अर्थहीन परिश्रमलाई देखाउन यसलाई बिम्बको रुपमा प्रयोग गरे ।
अहिले हामी बाँचिरहेको नेपाली समाज न कामुले भोगेको जस्तो छ न हाम्रा अगाडि जीवनलाई पूर्णतामा भोग्ने आर्थिक-सामाजिक अवस्था छन् । तथापि, उनले बिम्बको रुपमा प्रयोग गरेको ‘ढुंगो’ लाई नेपाली राजनीतिको नियतिसँग तुलना गर्दा त्यति अस्वाभाविक नहोला ।
समाजभित्र अन्तर्विरोध हुन्छन्, विसंगतिले हरेक सभ्यतालाई कुरुप बनाइरहेको हुन्छ । यिनै अन्तर्विरोध र विसंगतिबीच हरेक समाज अघि बढ्ने प्रयत्न गरिरहेको हुन्छ । कुनै समाज सफल हुन्छन् त कुनै असफल ।
संघर्षपूर्ण र कष्टकर अस्तित्वको बोधसँगै समग्र जीवनको अर्थ खोज्नु आम स्वाभाव पनि हो । जीवनको अर्थ खोज्दै गर्दा कोही निराश बन्न सक्छन् । कोही नयाँ आशासहित जीवनलाई पुनर्परिभाषित गर्न सक्छन् । यही क्रममा नयाँ सभ्यता, नयाँ दर्शन र विचारको जन्म हुन्छ ।
निराशा र आशाबीचको यस्तो संक्रमण निकै कष्टकर हुन्छ । कोही यही संक्रमणको गोलचक्कमा फस्छन् । कसैलाई सिसिफसका झैं आफ्नो नियति थाहा हुन्छ । अनि अस्तित्व र जीवनको नियतिबारे सचेत हुँदै बाँचिरहेका हुन्छन् । कोही यही गोलचक्चर, विसंगतिमा रमाउँछन् र विसंगतिमा रमाउन सक्नु छुट्टै खुशी पनि हो । कोही आत्मघाती बन्न पुग्छन् । र कसैकसैले मानसिक सन्तुलन गुमाउँदै जीवनबाट पलायन हुन्छन् ।
व्यक्तिगत जीवनमा मात्रै होइन, राजनीति र सँस्कृतिको हकमा पनि यही नियम लागू हुन्छ । पछिल्लो समय नेपाली राजनीतिमा देखिएको अन्यौललाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ । जारी अन्यौलता, विसंगति देख्दा हामी दोबाटोमा उभिइरहेको प्रतीत हुन्छ । अगाडि बढ्ने कि ? गोलचक्करभित्रै रमाउने कि ? वा विद्रोह गरेर नयाँ ढोका खोल्ने ? हाम्रा अगाडि कैयौं विकल्प छन् । तर अब के गर्ने भनेर कोही पनि प्रस्ट छैनन् । अर्थात् नेपाली समाज निराशा र आशाबीचको डरलाग्दो संक्रमणमा छ ।
नेपाली राजनीति ‘सिसिफस मार्गमा’ ?
पछिल्लो समय राजनीतिप्रतिको वितृष्णा चुलिएको छ । कहिल्यै अन्त्य नहुने गोलचक्करमा समग्र राजनीतिक नेतृत्व फस्न पुगेको छ । आम नागरिक र राजनीतिक नेतृत्व यसका लागि जिम्मेवार छन् । तर विसंगति र अन्यौलताको मुख्य कारक राजनीतिक नेतृत्व नै हो ।
केही समयअघि संसद विघटन-पुनर्स्थापनाको असंगतिपूर्ण राजनीतिक खेल देखेर विश्लेषक अरुण सुवेदीले ‘नेपाली राजनीति सिसिफस मार्गमा’ भन्ने एउटा भिडियो ब्लग नै बनाएका थिए ।
त्यस्तै हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मुखबाट ‘आत्महत्या’ भन्ने शब्द निस्कियो । एक कार्यक्रममा उनले भनेका थिए- ‘भगत सिंहको फिल्म तपाईंले हेर्नुभएको होला । चन्दशेखर आजाद छन् । लड्दै गर्दा चारैतिर दुश्मनले घेरा हालेका छन् । अब फुत्किने ठाउँ रहेन चन्द्रशेखरको । एउटा रुखमुनि बसेका हुन्छन् । पेस्तोल हुन्छ उनीसँग । अब मार्ने नै भए प्रतिक्रियावादीहरुले भनेर एकमुठ्ठी माटो समाउँछन् र समाएर भन्छन्- धर्मी माँ मैले यत्ति नै गर्न सकेँ भनेर आफैंले आत्महत्या गर्छन् ।’
अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिबाट एकातिर उनी व्यक्तिगत रुपमा निराश बन्दै गएको प्रस्ट हुन्छ भने अर्कोतिर नेपाली समाज भावी नियतिबारे केही संकेत मिल्छ ।
प्रचण्ड सशस्त्र विद्रोह हुँदै शान्ति प्रक्रियामा आएका नेता हुन् । उनले आफूलाई आइपर्न सक्ने परिस्थितिलाई बेलैमा बुझ्न सक्छन् । राजनीति पनि उनकै वरपर घुमिरहेको हुन्छ । कतिलाई प्रचण्ड मन नपर्न सक्छ । कतिका लागि उनी नै सबै कुरा हुन् । नेपालको राजनीतिमा ‘किङमेकर’को छवि बनाएका प्रचण्ड पछिल्लो पटक किन निराश बन्दै गइरहेका छन् ? समाजलाई नै बदल्छु भनेर हिँडेका उनी किन एक्कासि ‘आत्महत्या’ को कुरा गर्छन् ?
नेपाली राजनीति सुवेदीले भनेझैं ‘सिसिफस मार्ग’तर्फ अग्रसर छ ? । प्रचण्डसहितका गणतन्त्र पक्षधर नेताहरुले आफूलाई ‘सिसिफस’ देख्न थालेका हुन् ? वा गणतन्त्र आफैं ‘सिसिफस’ जस्तै बन्न पुगेको हो ? यदि हो भने राजनीति एउटा निराशाको गुफातर्फ लम्किरहेको छ भनेर बुझ्नुपर्छ ।
तर ‘सिसिफस मार्ग’मा सचेत विद्रोहको विकल्प पनि हुन्छ । कामुकै शब्दमा भन्ने हो भने- विद्रोहले विसंगतिपूर्ण अस्तित्वलाई गतिशील बनाउँछ, अर्थहीन यात्रामा ऊर्जा थप्छ । यही भएर गणतन्त्रलाई सिसिफसको ढुंगोझैं आफैंले पहाडको टुप्पोमा पुर्याउने अनि पुन: गुल्टिँदै फेदमा आएको हेरेर बस्ने ? वा नयाँ आयाम थपेर अर्थहीन गोलचक्करबाट मुक्त हुने ? यसप्रति राजनीतिक नेतृत्वको ध्यान बेलैमा जान जरुरी देखिन्छ ।
प्रतिक्रिया 4