+
+

टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १२:२४

७, कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् ।

थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ ।

एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतलाई देश निकाला गर्ने आदेश दिएका हुन् । गत सोमबार ती मुलुकका राजदूतले संयुक्त विज्ञप्ति जारी गर्दै थुनामा रहेका नागरिक अगुवा एवं सामाजिक अभियन्ता ओस्मान काभालालाई रिहा गर्न अपिल गरेका थिए ।

‘मैले हाम्रा विदेशमन्त्रीलाई यी १० राजदूत अस्वीकार्य भएको (परसोना नन ग्राटा) घोषणा गर्न भनेको छु’, एर्दोगनलाई उदृत गर्दै अलजजिराले लेखेको छ । ‘उनीहरूले टर्कीलाई बुझ्नुपर्छ’, उनले थपे, ‘उनीहरूले टर्कीलाई नचिनेको दिनदेखि नै हाम्रो मुलुक छोड्नुपर्छ ।’

‘परसोना नन ग्राटा’ भनेको कुनै पनि राजदूतलाई देश निकाला गर्नुपूर्व चालिने पहिलो कदम हो । राष्ट्रपति एर्दोगनले देश छोड्ने मिति भने तोकेका छैनन् । यदि उनको आदेश पूर्ण पालना भए एर्दोगानको १९ वर्षीय कार्यकालमा पश्चिमी मुलुकसँग सबैभन्दा गहिरो दरार पैदा हुने छ ।

बिरलै जारी गरिने संयुक्त विज्ञप्तिमा काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख गरिएको थियो । संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै सम्बन्धित मुलुकका राजदूतलाई टर्कीको विदेशमन्त्रालयमा बोलाइएको थियो ।

पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभइकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?