
माओवादीले १ फागुन २०५२ मा शुरु गरेको युद्धलाई २६ वर्षपछि याद गर्दा त्यो एउटा त्रासदी जस्तो लाग्छ । माओवादीका लागि त्यो ‘महान जनयुद्ध’ थियो, अरु पार्टीका लागि एउटा ‘राजनीतिक आतंक’ र सर्वसाधारणका लागि दु:ख, कष्ट र असाध्य अप्ठ्याराहरूको बेला थियो ।
२०५५/५६ तिरको कुरा हो । म कक्षा ९ मा अध्यनरत थिएँ । एकाबिहानै गाउँका एक जना अंकलले म र मेरो एक जना साथीलाई एकान्तमा बोलाएर ‘माओवादी साथीहरू आएका छन्, उनीहरूलाई बाटो देखाउन तिमीहरू जानुपर्यो’ भन्नुभयो । हामी केटाकेटी मान्छे । अभिभावक समानको अंकलको कुरा काट्न सकेनौं र बाटो देखाउन जान राजी भयौं ।
करीब १५ जनाको एउटा समूह थियो । शायद युद्ध सामग्री हुनुपर्छ, ठूला ठूला झोला बोकेर आएका थिए उनीहरू । माओवादीका लडाकुसँग हामी फुच्चे दुईजना बाटो देखाउन जाने आँट गर्नु पनि सामान्य कुरा थिएन । पूरै घना जङ्गल थियो । करीब ६/७ किलोमिटर जङ्गलको बाटो हामी अगाडि अगाडि हिंड्यौं । हाम्रो पछि १५ जना हतियारधारी लडाकुहरू ।
त्यो यात्रा अहिले सम्झना गर्दा अनौठो लाग्छ । बीचमा पुगेपछि हामीलाई पनि केही समय हामी भन्दा अग्लो झोला बोकाएका थिए । झोला बोक्दा त्यहाँ पूरै हतियार नै रहेको जस्तो अनुभव हुन्थ्यो । कलले उनीहरूलाई पुर्याउन भन्नुभएको ठाउँमा पुगेपछि हामी त्यहाँबाट घना जङ्गलको बाटो फर्कियौं ।
गाउँमा ठूलै हल्ला भएछ- यिनीहरूले माओवादीलाई बाटो देखाउन गए भनेर । त्यसपछि बल्ल हामीलाई डर–त्रास भयो । कसैले त आर्मीलाई भनिदिनुपर्छ भन्नसम्म भ्याएका थिए । त्यो समयमा माओवादीको प्रभाव हाम्रो गाउँमा शून्य जस्तै थियो ।
केही वर्षपछि स्कूल जीवन सिध्याएर उच्च शिक्षाको लागि काठमाडौंतिर बसाइ हुन थाल्यो । माओवादी द्वन्द्व दिनप्रतिदिन बढिरहेको थियो । काठमाडौं निकै सुरक्षित महसूस गरी गाउँका मानिस दिनप्रतिदिन बसाइसराइ गरिरहेका थिए । धेरै मानिस माओवादी र सेनाको त्रासका कारण गाउँमा बस्न नसकी काठमाडौं जान बाध्य थिए । काठमाडौं बसाइ भएपछि घर आउनको लागि दशैं कुर्नुपर्दथ्यो ।
पूर्णिमाको दिन थियो । बिहानै झिसमिसे उज्यालो हुँदैथियो । गाउँघरमा प्रायः बिहान छिटो उठ्ने चलन हुन्छ । पूर्णिमाको दिन हाम्रो गाउँदेखि पनि मेला भर्न जाने मानिसको चहलपहल हुन्थ्यो । म सुतिरहेको थिएँ । उज्यालो हुँदैथियो । असोज–कात्तिक महीना भएकोले बिहान हल्का हुस्सु लाग्ने हुँदा अँध्यारो महसूस हुन्थ्यो ।
बाटोमा मानिसको चहलपहल थियो तर अँध्यारो भएकोले र गाउँमा बिहानैदेखि घाँस, दाउरा, पानी, पँधेरो गर्नेहरू बिहानै हिंडडुल गर्ने र त्यो दिन पूर्णिमाको मेला भर्न जाने भएकोले मानिसको भीडभाडप्रति खासै ध्यान गएको थिएन ।
उज्यालो हुँदैथियो । एकछिनमा हेर्दा त हाम्रो गाउँमा आर्मीहरूले घेरेका रहेछन् । घाँस-दाउरा, पानी-पधेरो हिंडेका सबैलाई आर्मीले सोधपुछको लागि भनेर कतै जान नदिइकन एक ठाउँमा भेला पारेका रहेछन् । मानिस धेरै भएपछि हल्ला हुन थाल्यो ।
म पनि के रहेछ भनेर त्यतातिर लागें । मलाई पनि सोधपुछ भयो । मैले म अध्ययनको सिलसिलामा काठमाडौं बस्ने र दशैं मनाउनको लागि घर आएको हुँदा माओवादीको गतिविधिबारे अनभिज्ञ रहेको बताएँ । तर पनि मलाई छोडेनन् । एकछिन बस्न अनुरोध गरियो ।
अँध्यारोमा नै आर्मीद्वारा हाम्रो गाउँ घेराउ गरिएको रहेछ । केही समयपछि गाउँ वरिपरिबाट जम्मा गरेका मानिसलाई एकै ठाउँमा भेला गरेर पालैपालो एकएक जनालाई बोलाएर स्पष्टीकरण लिन शुरु भयो । त्यहाँ एकाध साधारण मानिसलाई माओवादी भनी बाँधेर पानीको पोखरीमा राखिएको थियो ।
स्पष्टीकरण दिने पालो मेरो आयो र म गएँ । मलाई माओवादीबारे मेरो धारणा सुनाउन भने । मैले भनें- ‘म गाउँमा बसेको छैन । अध्ययनको सिलसिलामा काठमाडौं बसाइ भएको हुँदा मलाई त्यति जानकारी छैन र म यता आउँदा माओवादीहरूलाई देखेको पनि छैन ।’
लगत्तै त्यो बाँधेर राखेको मानिसको बारेमा मलाई सोधियो । ‘उसलाई माओवादी भन्ने हो भने हामी सबैलाई माओवादी भन्नुस् । ऊ साधारण मानिस हो । ऊ माओवादीमा कहिल्यै पनि हिंडेको छैन ।’
मेरो जवाफ सुनेपछि उसलाई पानीको पोखरीबाट निकालेर बाँधेको डोरी खोलिदिए ।
हाम्रो गाउँ भित्री भागमा रहेको र आर्मी क्याम्प र प्रहरी चौकी नजिक नभएकोले माओवादीको चहलपहल भैरहन्थ्यो । तर पनि आर्मी आउँदा त्यो कुराहरू बताउन कसैको हिम्मत थिएन । किनभने आर्मी जानासाथ माओवादीको कारबाहीमा परिने त्रास आम नागरिकमा थियो । त्यसैले हरेक गाउँमा दोहोरो त्रासको वातावरण थियो ।
एउटा घटना छ जसलाई म आफ्नो जीवनमा कहिल्यै पनि भुल्न सक्दिनँ । म काठमाडौंदेखि दशैं मनाउन आफ्नो गाउँमा पुगें । अपरिचित व्यक्तिहरूले मेरो खानतलासी गर्न थाले । आफ्नै गाउँमा आउँदा अपरिचितहरूले केरकार गर्दै खानतलासी लिंदा मलाई अप्ठ्यारो लाग्यो । तर देशमा द्वन्द्व थियो । द्वन्द्वको बेला असहज मानेर पनि के हुने रहेछ र ? सामान्य अवस्था भएको भए बाहिरिया मानिसलाई हामी गाउँलेले सोधपुछ गर्नुपर्ने हुन्थ्यो ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गको कपिलवस्तु बुड्डी चोकदेखि उत्तरतर्फ करीब १२ किलोमिटर टाढा पर्छ अर्घाखाँची जिल्ला । अरु सबै दैनिकीहरू कपिलवस्तुतर्फ हुने भए पनि स्कूल, बजार, अस्पताल मौवाबारी गाउँमा पर्छ । गाउँमा खानेपानीको ठूलै समस्या थियो । फागुन महीनापछि असारसम्म खानेपानीको लागि अत्यन्तै कठिन थियो । करीब ६० घर रहेको त्यो गाउँमा वर्षायाममा धमिलो पानी पिउनुपर्ने बाध्यता थियो । फागुनदेखि वर्षा शुरु नहुँदासम्म पातपतिङ्गर पन्छाएर एकदम फोहोर पानी पिउनुपर्ने बाध्यता थियो ।
२०५९/६० तिरको कुरा हो । म पनि त्यतिबेला गाउँमा थिएँ । वैशाख महीना भएकोले पानीको समस्या थियो र हामीले खानेपानीको व्यवस्थापन गरौं भनेर छलफल गर्यौं । गाउँका धेरैले समर्थन जनाउनुभयो । खोलामा ढुङ्गा निकासी गर्दा केही रकम जम्मा भएको थियो । त्यो रकमलाई प्रयोग गर्दै अपुग रकम सबैले उठाउने गरी काम सम्पन्न गर्न सहमति गर्यौं ।
खानेपानीको काम गर्ने कुरामा एकाध व्यक्तिको फरक मत थियो । उनीहरूले बहिष्कार पनि गरेका थिए । खानेपानी आउँदा खानेपानी सहज रूपमा सबैले प्रयोग गर्न पाउने भएकोले पूरै गाउँ हर्षित देखिन्थ्यो ।
गाउँका सबैको छलफलबाट खानेपानी निर्माण समिति चयन गरियो । उक्त समितिले तुरुन्तै काम शुरु गर्यो । केही समय पहिले सरकारी योजनाबाट खानेपानीको काम गर्ने भन्दै सर्भे गरेर अलपत्र परेको योजना थियो ।
सर्भे पहिले भएकोले हामीलाई सर्भे गर्न सहज भयो र काम शुरु गर्यौं । काम गर्दा धेरै किसिमका समस्या आए तर सबैजना मिलेर हरेक समस्याको समाधान गर्दै खानेपानी आयोजना समयमै सफलतापूर्वक सम्पन्न गर्यौं ।
उक्त काम गर्दा मेरो जीवनमा कहिल्यै पनि नबिर्सने एउटा कुरा उल्लेख गर्नुपर्ने र नेपालको राजनीतिसँग जोडिएको विषय जोड्न खोजेको छु । खानेपानीको काम अन्तिम चरणमा थियो । म आफैं समितिमा सचिव रहेको हुँदा लगभग १२ घण्टासम्म खटेको थिएँ । काम चलिरहेको थियो । अचानक ५/७ जना अत्याधुनिक हातहतियार सहितका मानिस आइपुगे । उनीहरूले मेरो नाम लिंदै भने- ‘तपाईंलाई हाम्रो एरिया इन्चार्जले लिएर आउन भन्नुभएको छ ।’
एकाएक त्यहाँ त्रासपूर्ण वातावरण बन्न पुग्यो । ती हतियार सहित आएका व्यक्ति तत्कालीन माओवादीका लडाकु थिए । त्यो समयमा माओवादीको ठूलो त्रास थियो । उनीहरूले मसहित तीन जनालाई अपहरणको शैलीमा जङ्गलमा लिएर गए । यो हल्ला सुन्नासाथ मेरो घरमा झन् त्रास बढेछ ।
उनीहरूले हामीलाई गाउँदेखि नजिकैको जङ्गलमा लिएर गए । त्यहाँ उनीहरूको कार्यक्रम थियो । हामी त्यहाँ पुग्दा हाम्रो गाउँका एकजना मेरो अभिभावक पनि हुनुहुन्थ्यो । उहाँले ‘किन आउनुभयो’ भनेर सोध्नुभयो । हामीले सबै कुरा उहाँलाई बतायौं र उहाँले तत्काल निवर्तमान एरिया इन्चार्जलाई बोलाएर जानकारी लिन खोज्नुभयो । हामीलाई किन बोलाइएको भन्ने कारण बुझ्दा अचम्म लाग्यो । हामीले खानेपानीको काम शुरु गर्दा फरक मत राख्ने व्यक्तिले हामीलाई माओवादीमा मौखिक उजुरी गरेका कारण हामीलाई त्यहाँ बोलाइएको रहेछ ।
एउटा मात्र व्यक्तिको कुरामा लागेर हतियारसहित अपहरण शैलीमा लिएर आउँदा कति मानसिक तनाव पर्यो होला । अहिले कल्पना गर्दा पनि शरीरभरी काँडा उठेर आउँछ । माओवादीले माओवादको नाममा मनपरीवाद लादेका थिए । व्यक्तिगत रिसका कारण कति जनाको हत्या भएको थियो होला । शायद पुरानो एरिया इन्चार्ज त्यस ठाउँमा नभएको र हामीसँग चिनजान नभएको भए आज म यसरी लेख्न पाउने थिइनँ होला ।
बुटवल-१३, रुपन्देही
प्रतिक्रिया 4