+
+

खोप नलगाएकाभन्दा लगाएका व्यक्तिको अन्य स्वास्थ्य समस्याबाट मृत्यु हुने सम्भावना कम : अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:३३

७ कात्तिक, काठमाडौं । कोभिड-१९ विरुद्धको खोप नलगाएकाभन्दा लगाएका व्यक्तिले अन्य स्वास्थ्य समस्याबाट ज्यान गुमाउने सम्भावना कम हुने हालैको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को वेभसाइटमा शुक्रबार प्रकाशित एक रिपोर्टमा अन्य स्वास्थ्य समस्याबाट खोप नलगाएका व्यक्तिको तुलनामा खोप पाएका व्यक्तिले ज्यान गुमाउने सम्भावना कम हुने उल्लेख छ ।

‘गत वर्षको डिसेम्बरदेखि २०२१ को जुलाईसम्म भ्याक्सिन सेफ्टी डाटालिङ्क साइटमा सूचीकृत झण्डै १ करोड १० लाख मानिसबीच एउटा अध्ययन गरिएको थियो’, सीडीसीमा प्रकाशित रिपोर्टमा भनिएको छ,’अध्ययनका क्रममा उमेर र लिङ्गअनुसार मृत्यु दरको तुलना गर्दा कोभिड-१९ खोप लगाएका मानिसले कोभिडबाहेकका समस्याबाट ज्यान गुमाउने सम्भावना खोप नलगाएका मानिसको भन्दा कम पाइएको थियो ।’

केइजर पर्मानेन्टे सदन क्यालिफोर्नियाका स्टानली सुको नेतृत्वमा गरिएको सो अध्ययनमा फाइजर/बायोएनटेक, मोडर्ना र जोनसोन एण्ड जोनसन कोभिड खोप लगाएका मानिसलाई सामेल गराइएको थियो । अध्ययनपछि यी खोपका विभिन्न डोज लगाएका मानिसमा एक डोज लगाएका मानिसको तुलनामा मृत्यु दर कम पाइएको थियो ।

त्यस्तै, फाइजर र मोडर्ना जस्ता ‘एमआरएनए’ खोप लगाएका मानिसमा जोनसन एण्ड जोनसन जस्ता ‘भाइरल भेक्टर’ खोप लगाएका मानिसको तुलनामा यस्तो मृत्यु दर कम भएको समेत अध्ययनले देखाएको थियो ।

फाइजर खोप लगाएका मानिस अन्य स्वास्थ्य समस्याबाट ज्यान गुमाउने सम्भावना खोप नलगाएका मानिसको तुलनामा ३४ प्रतिशत थियो । त्यस्तै, मोडर्ना खोपको हकमा यो दर ३१ प्रतिशत थियो । जबकी जोनसन एण्ड जोनसन खोप लगाएका मानिसले अन्य कारण ज्यान गुमाउने संभावना खोप नलगाएका मानिसको तुलनामा ५४ प्रतिशत थियो ।

यसबाहेक, उपलब्ध कोभिड खोप लगाउन सुरक्षित र प्रभावकारी रहेको पनि अध्ययनबाट पुष्टि भएको छ । ‘अमेरिकामा मान्यता पाएका कोभिड-१९ का खोप बारम्बार सुरक्षित देखिएका छन्’, सुले सीएनएनसँग कुरा गर्दै भने, ‘यो अध्ययनले खोप सुरक्षित रहेको पुष्टि गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?