+
+

शाहीन शाह अफ्रिदी बने पाकिस्तानका ‘शाहन्शाह’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १८:०२

८ कात्तिक, काठमाडौं । आइतबारको खेल अघिसम्म टी–२० विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको थिएन । विश्वकपमा भएको १२ वटै भेटमा विजयी भएको गर्विलो इतिहास भारतसामू थियो ।

तर आइतबार भारत हारेन मात्र, बिर्सन नसकिने गरी पराजित भएको छ । टी–२० अन्तर्राष्ट्रिय म्याचमा भारतले पाकिस्तानसामू १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । क्रिकेट जानकारहरुका अनुसार दुबईमा टस हार्नु नै भारतका लागि सुखद थिएन । तर पाकिस्तानले ब्याटिङमा मात्र होइन, बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।

टी–२० क्रिकेट इतिहासमा विश्वमै कहलिएको जोडी हो रोहित शर्मा र केएल राहुल । तर आइतबार दुवैले खराब प्रदर्शन गरे । दुवैको विकेट उनीहरुको खराब ब्याटिङभन्दा बढी शाहीन शाह अफ्रिदीको घातक बलिङका कारण गयो ।

पाकिस्तानको सबभन्दा बलियो पक्ष उत्कृष्ट बलिङ हो । आइतबार भारतविरुद्ध हात पारेको जितको आधार पनि अफ्रिदीको बलिङले बनेको थियो भन्दा अन्यथा हुन्न । अग्लो कदका उनको गति र घुमेको बल भारतका माथिल्लो क्रमका ब्याट्सम्यानमाथि भारी परेको थियो ।

तथ्यांक हेर्ने हो भने पनि उनले ६१ म्याचमा २० पटक पहिलो ओभरमै विकेट लिएका छन् । क्रिकेट प्रेमीहरुले शाहन्शाहको उपनाम दिने गरेका उनले आइतबार पनि टी–२० का भरपर्दा ब्याट्सम्यानको विकेट लिएपछि भारतीय बेञ्च दबावमा आयो । उनको उत्कृष्ट बलिङमा रोहित शर्माले केही गर्न सकेनन् र बल स्टम्पको सामुन्न उनको पछिल्लो गोडामा लाग्यो । रोहितसामू रिभ्यूको विकल्प थियो, तर उनले त्यो बाटो रोज्न पनि आवश्यक ठानेनन् ।

त्यसपछि आयो केएल राहुलको पालो । राहुलको विकेट शाहीनको उत्कृष्ट बलिङको यस्तो एउटा नमुना थियो, जो उदायमान तीव्र गतिका बलरले हेर्न आवश्यक छ । जुन तीव्र गतिका साथ बलले स्टम्प ढाल्यो, त्यो हेर्न पाउनु पाकिस्तानी क्रिकेट समर्थकका लागि निकै सुखद् थियो ।

तेस्रो ओभरमा २ विकेट गुमाएको भारतीय टिमले पुनरागमन गर्न सकेन र २० ओभरमा १५१ रन बनायो । यो आफैंमा खराब स्कोर होइन । तर पाकिस्तानी ब्याट्सम्यानले भारतीय बलरलाई विकेट लिने मौका नै दिएनन् र चिरप्रतिद्वन्द्वी देशमाथि १० विकेटको शानदार जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?