+
+

मूख्य सिजनमै घट्यो रेमिट्यान्स, चालु खाता १०६ अर्बले घाटामा

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक ८ गते १९:३१

८ असोज, काठमाडौं । विदेशबाट भित्रने रेमिट्यान्स यस वर्ष मूख्य सिजनमा नै घटेको छ । दशैं अघि विदेशबाट हरेक वर्ष ठूलो मात्रामा रेमिट्यान्स भित्रने गरेको थियो । हरेक वर्ष दशैंको बेला वृद्धि हुने रेमिट्यान्स यस वर्ष भने घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार दशैं अघिको महिना अर्थात भदौसम्म विदेशबाट १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँमात्रै रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा ६.३ प्रतिशतले कमी हो । यस अघि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि रेमिट्यान्स १८ प्रतिशतले घटेको थियो ।

अघिल्लो वर्षको भदौै महिनामा विश्वभर कोरोनाको त्रास थियो । नेपालमा पनि लकडाउन नै थियो । त्यस्तो अवस्थामा पनि रेमिट्यान्स ८.१ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार भदौ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स घटेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८ हजार ४९२ पुगेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

विदेशी मुद्राको अभाव

रेमिट्यान्स कम भित्रने र आयात बढिरहने क्रमले गर्दा विदेशी मुद्रा सञ्चितिमा समेत चाप देखिएको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले घटेर भदौ मसान्तमा १३ खर्ब ०६ अर्ब ९५ करोड कायम भएको राष्ट्र बैंकले बताएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तमा ७.७ प्रतिशतले कमी आई ११ खर्ब ४८ अर्ब ६९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने २.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब २७ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्ष १४ महिनाको वस्तु तथा सेवा आयातलाई धान्ने विदेशी मुद्रा नेपालमा थियो ।

शोधानान्तर र चालु खाता दुबै घाटामा

यस अवधिमा चालु खाता र शोधानान्तर स्थिति दुबै घाटामा देखिएका छन् । राष्ट्र बैंकका अनुसार चालु खाता १ खर्ब ६ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो । उता शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो ।

एक मुलुकले अर्को मुलुकसँग मौद्रिक कारोबार गर्न सरकारसँग चालु, पुँजीगत र वित्तीय खाता रहेका हुन्छन् । मुलुकको चालु आय र व्ययको विवरण देखाउने खाता नै चालु खाता हो । यो खातामा वस्तु आयात/निर्यात, सेवा आयात/निर्यात, रेमिट्यान्ससहितका रकम ट्रान्सफर भएको रकमसहित मुलुकलाई प्राप्त आय र व्यय दुबैको हिसाव राखिन्छ ।

शोधनान्तर अवस्था चालु खाताभित्रकै एक पक्ष हो । चालु खाता घाटामा रहनु र शोधनान्तर स्थिति नकारात्मक रहनुबीच सम्बन्ध रहेको हुन्छ । आय बढ्दा चालु खाता नाफामा देखिन्छ । व्यव बढ्दा घाटामा देखिन्छ ।

चालु खाताबाहेक पुँजीगत खातामा अन्य मुलुकसँग सम्पत्ति खरीद-बिक्रि, ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसहितका हिसावको कारोबार हुन्छ । वित्तीय खातामा समेत ठूला परियोजनामा विदेशबाट भएको लगानीका तथ्यांकहरु राख्ने गरिन्छ ।

नेपाल भित्रने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानुको मतलव नेपालबाट बढी रकम विदेसिएको छ । त्यसको तुलनामा कम रकम नेपाल आइरहेको छ । बढ्दो आयात र कम निर्यातका कारण यस्तो अवस्था आउने गर्छ ।

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?