+
+

बेमौसमी वर्षाले आएको बाढीपहिरोमा परी सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १९:४८

८ कात्तिक, डोटी । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशमा हालसम्म ३७ जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण डोटीमा सबैभन्दा बढी १६ जनाको मृत्यु भएको छ ।

डोटीको सायल गाउँपालिका–१ का बिरे रोकाया, वडा नम्बर ४ का जंगबहादुर बिष्ट, वडा नम्बर ५ का हिरुवा लुहार, देव डुम्रेल, लहरे लुहार, वडा नम्बर ६ का सागर कुन्जेडा र आशिष कुन्जेडा गरी सात जनाको मृत्यु भएको छ ।

यस्तै जोरायल गाउँपालिका–३ का जोगी सार्की, झुपरी सार्की, वडा नम्बर ४ का शेरबहादुर विक, मोहन विक, पवित्रा विक, रविन विक र पुष्कर विकको ज्यान गएको छ ।

बाढीपहिरोकै कारण शिखर नगरपालिका–११ की मन्धरा बलायर र बढीकेदार गाउँपालिका–५ कि चनरीदेवी नेपालीले पनि ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढीपहिरोका कारण बझाङ जिल्लामा १२ जनाको ज्यान गएको छ । खप्तडछान्ना गाउँपालिका–४ का धर्म रोकाया, वडा नम्बर ५ का धनराज जोशी, बिरु गिरी, चन्द्रादेवी गिरी, जैईसरादेवी रोकाया र वडा नम्बर ६ का रने आग्रीको ज्यान गएको छ । बाढी पहिरोकै कारण थलारा गाउँपालिका–४ का आयुष पार्की, विकास सार्की, सीता सार्की र सञ्जीव सार्कीले पनि ज्यान गुमाउनुपर्‍यो । बित्थडचिर गाउँपालिका–७ का धौले ढाँट र छबीसपाथिभरा गाउँपालिका–२ का कालु भनिने लक्ष्मण कडायतको पनि बेमौसमी वर्षाले ज्यान लिएको छ ।

बाढीपहिरोका कारण बैतडीमा चार जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ का भानु पार्की, पवित्रा पार्की, देवन पार्की र सुनार्या गाउँपालिका–५ का परुदेवी महराको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का विष्णु अवस्थी, वडा नम्बर ३ का नरपता शाही र आलिताल गाउँपालिका–८ का  पारवतीदेवी खड्काको बाढीपहिरोका कारण मृत्यु भएको छ ।

यस्तै कैलालीको टीकापुर नगरपालिका–८ का करविरे ढोली र अछाम ढकारी गाउँपालिका–३ का मैसरा थापाले बाढी पहिरोका कारण ज्यान गुमाएका छन् ।

बेमौसमी वर्षाले आएको बाढीपहिरोका कारण सुदूरपश्चिम प्रदेशमा १७ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै बाढीपहिरोमा परी २२ जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?