+
+
समाचार अप्रेशन :

समाचार ! समाचार !! समाचार !!!

हिमाल कोइराला हिमाल कोइराला
२०७८ कात्तिक ९ गते ११:०२

हिजो हो कि अस्ति टि्वटरको टाइमलाइनमा टहल्दै थिएँ, एकजना प्रतिष्ठित अर्थशास्त्री नूरिअल रौबिनीले ‘वालस्ट्रिट जर्नल इकोनोमिक्स’ को एउटा आर्टिकल रि-टि्वट गरेका रहेछन् । आर्टिकलको हेडलाइनमा अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले अर्थतन्त्रको पूर्ति पक्षका बाधाहरूले मुद्रास्फीतिको जोखिमलाई अझै बढाइरहेको उल्लेख छ ।

आर्टिकल भित्र गएर हेर्दा शुरुमै सब्स्क्राइब गर् भन्छ । ‘स्पेशल अफर एक डलरमा दुई महीना’ । अब, पैसा तिरेर सूचना लिने बानी नभएकाले सब्स्क्राइब गर्ने कुरा भएन ।

‘जेरोम पावेल इन्फ्लेशन’ लेखेर गुगलमा सर्च गर्दा टप न्यूजमा ‘वालस्ट्रिट जर्नल’, ‘न्यूयोर्क टाइम्स’, ‘मार्केटवाच’ र ‘रोयटर्स’ का आर्टिकलहरू थिए । सबै सब्स्िक्रप्सनवाला । अब त सूचना लिन पनि पैसा तिर्नुपर्ने !

जेरोम पावेलले के भने र त्यसले अमेरिकी अर्थतन्त्रमा कस्तो असर पर्ला त्यो आफ्नो ठाउँमा छ, मलाई एक्कासी घचघच्यायो, आखिर रोयटर्स, न्यूयोर्क टाइम्स र वालस्ट्रिट जर्नल जस्ता ‘लिगेसी सञ्चारगृह’ ले सूचना र समाचारका लागि किन पैसा लिन पर्‍यो ?

अनि फेरि सोचें, उनीहरूले पनि त पत्रकारलाई पाल्नुपर्दो हो, कार्यालयको भाडा तिर्नुपर्दो हो । सञ्चारजगतमा नयाँ-नयाँ प्रविधि आइरहेका छन्, ती प्रविधि भित्र्याउन पनि त पैसा लाग्छ । उनीहरूलाई पनि पाठकसँग पैसा लिनुपर्ने बाध्यता होला ।

अनि युट्युबमा कुनै कट्टर अमेरिकी शैलीको अराजक-पूँजीवादी (एनार्को-क्यापिटलिष्ट, एनक्याप) र उग्र दक्षिणपन्थी लिबरिटेरियन राजनीतिक दर्शन राख्ने एकजना ‘अर्थशास्त्री’ को भिडियो हेर्न थालें । भिडियो निःशुल्क थियो । दश-पन्ध्र मिनेटको भिडियोको बीचमा एक मिनेट कुनै भीपीएन वा स्टि्रमिङ प्लाटफोर्मको विज्ञापन थियो होला । स्किप गर्न मिल्ने ।

भिडियोको शुरुआतमा ती ‘अर्थशास्त्री’ जेरोम पावेलको भनाइ समेटिएको समाचारको हेडलाइन पढ्छन् । अनि उनको कमेन्ट्री शुरु हुन्छ ।

कमेन्ट्रीमा ती ‘अर्थशास्त्री’ अमेरिकी राष्ट्रपति जो बाइडेनका कारणले अमेरिकामा मुद्रास्फीतिको अवस्था आएको र जेरोम पावेल पनि यसका लागि जिम्मेवार रहेको बताउँछन् । उनको समाधान सहज छ- केन्द्रीय बैंकको विघटन, करको दर घटाउनुपर्ने र सामाजिक सुरक्षा पनि कटौती गर्नुपर्ने ।

उनका अरू भिडियोहरूमा पनि फेडेरल रिजर्भको बेस्सरी उछित्तो काडिएको छ । के कारणले लिबरिटेरियनहरू फेडेरल रिजर्भलाई देख्न सक्दैनन्, किन करको दर र सामाजिक सुरक्षा कटौती गर्नुपर्ने विचार राख्छन् र रिपब्लिकन पार्टीले किन उदारवादी विचारधारालाई प्रोत्साहन गर्छ र ती ‘अर्थशास्त्री’ ले देखाएका समाधान के-कति प्रभावकारी छन्, त्यो एक ठाउँमा छ ।

तर, मैले भर्खर उल्लेख गरेको कुराले प्रायः गरी विश्वमा र खासगरी अमेरिकामा एक किसिमको मिस-इन्फर्मेसन वा दुष्प्रचारलाई बढावा दिइरहेको छ ।

मैले यहाँ आफू दुष्प्रचारबाट पीडित भएको रोइलो गरिरहेको छैन । त्यस्तै, मैले सबै युट्युबेहरू दुष्प्रचारक हुन् भन्दिनँ । युट्युबमा त्यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले उत्कृष्ट कन्टेन्ट अपलोड गर्छन् ।

तर, आजकल सत्य सूचना प्राप्त गर्न अत्यन्त कठिन छ । पहिले मानिसहरू टेलिभिजन हेरेर, अखबार पढेर समाचार प्राप्त गर्थे । अहिलेको पुस्ता समाचारका लागि टेलिभिजन अगाडि बस्दैन । साँच्चै भन्दा अहिलेको पुस्ताको आँखा टेलिभिजनको पर्दामा त्यसबेला मात्रै जान्छ, जतिबेला गेम अफ थ्रोन्स वा यस्तै केही मनोरञ्जनात्मक कार्यक्रम आइरहेका हुन्छन् ।

अझ, अखबार त युवापुस्ताले सित्तैंमा दिए पनि पढ्दैन । समाचार लिन अखबार नै किन्ने युवा लाखौंमा कोही एक होला । समाचारका लागि फेसबुक, युट्युब, टि्वटर छँदैछन् नि !

अन एअर न्युजले दर्शक तान्न छाडेको कारण हुनसक्छ, मूलधारका अमेरिकी टेलिभिजनहरू सीएनएन, एनबीसी, एबीसी, फक्स न्युज, ब्लूम्बर्ग फाइनान्स जस्ता लिगेसी मिडिया हाउसहरूले पनि युट्युबसँग सहकार्य गर्न थालेका छन् । अनि युट्युबले पनि ‘लिगेसी मिडिया’ लाई समाचारको ‘अथोरोटेटिभ सोर्स’ मान्दै प्रोत्साहन गर्दै आइरहेको छ ।

मानिसहरू यतिसम्म रेडिकल भइरहेका छन् कि एफबीआई र सीआईए जस्ता खुफिया एजेन्सीले यस्तो रेडिकलिज्मलाई ‘डमेस्टिक टेरोरिज्म’ अर्थात् घरेलु आतंकवादको रूपमा समेत हेर्नु परिरहेको छ । दोस्रो गृहयुद्धको गाइँगुइँ पनि सुन्न थालिएको छ

खैर, सब्स्क्राइबवाला समाचारलाई म खानेपानीसँग तुलना गर्न मन पराउँछु । खानेपानी हरेक मान्छेको अधिकार हो । तर, यही खानेपानी बजारमा बोतलमा बेच्न राखिरहेको हुन्छ ।

विकसित देशमा सरकारले पानी पिउन निःशुल्क धारा पनि जडान गरिदिएको हुँदो हो । तिर्खाएको छ भने पैसा तिरेरै भए पनि मान्छेले पानी पिउँछ । किन्ने पैसा छैन भने मान्छे सरकारी धाराको पानी पिउँछ ।

तिर्खाको हद नाघेको छ, बोतलको पानी छेउमै बेच्न राखेको छ तर, पैसा सुक्को छैन अनि निकम्मा सरकारले धारा पनि जडान गरिदिएको छैन भने मान्छे कहिलेकाहीं नालाको फोहोर पानी पिउन पनि बाध्य हुन्छ ।

हामी कस्तो किसिमको स्रोतबाट समाचार प्राप्त गरिरहेका छौं, त्यसले त्यो समाचार वा समाचार प्रस्तुत गर्ने दृष्टिकोणमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

अमेरिकाका ‘लिगेसी मिडिया’ का आफ्नै ठूल्ठूला कमजोरी छन् । तर, मलाई कसैले वालस्ट्रिट जर्नल वा ‘युट्युबे अर्थशास्त्री’ मध्ये एउटा छान्न दियो भने म अवश्य पनि वालस्ट्रिट जर्नलको समाचारमा बढी विश्वास गर्छु ।

अब वालस्ट्रिट जर्नलले समाचारका लागि मसँग पैसा माग्छ त म त्यही समाचार लिनका लागि जानी-नजानी उग्र दक्षिणपन्थी राजनीतिक विचार राख्ने ‘युट्युबे अर्थशास्त्री’ को भिडियो हेर्न बाध्य हुन्छु ।

समाचार पढ्न तिर्नुपर्ने पैसा मसँग छैन त मेरो के गल्ती ! सञ्चारगृहलाई पनि निःशुल्क समाचार बाँडेर बाँच्नै नसक्ने अवस्था आएको छ, उनीहरूको पनि के गल्ती !

समाजशास्त्रीय वा मानवशास्त्रीय हिसाबमा समाचार आधुनिक मानव समाजको अभिन्न अङ्ग हो । अनिवार्य आवश्यकता । समाचारको प्रवाहमा गडबडी भयो भने मानव समाजको निर्विघ्न गतिमा बाधा उत्पन्न हुन्छ ।

तर, अर्थशास्त्रीय हिसाबमा समाचार विलासिताको साधन हो । आधारभूत आवश्यकता पूरा गरेपछि मात्रै मान्छेले समाचारमा पैसा खर्च गर्छ । छाकै काटेर कसैले पनि समाचार पढ्नकै लागि पैसा उडाउँदैन ।

जेरोम पावेलले भने जस्तै अहिले अमेरिकामा मुद्रास्फीति उच्च दरमा छ । २०२२ को मध्य वा अन्त्यसम्म मुद्रास्फीति उच्च नै रहने अपेक्षा छ । मुद्रास्फीति भनेको सामानको भाउ बढ्नु । तर, अर्कोतर्फ कामदारको संघीय ज्याला बढेको छैन । एक डेढ दशक कति भयो होला ७.२५ डलर प्रतिघण्टाबाट ज्याला नबढेको ।

अझ कोरोनाभाइरसको प्रकोपले लाखौं मानिसले जागिरबाट हात धुनु परिरहेको अवस्था छ । अत्यावश्यक सामानको भाउ बढेको, ज्याला नबढेको र बेरोजगारी पनि बढिरहेको अवस्थामा झन् झन् थोरै अमेरिकीले पैसा तिरेर समाचार पढ्ने छन् ।

त्यसैले समाचारका लागि मानिसहरू युट्युब र फेसबुकमा अझ धेरै निर्भर हुने निश्चित छ । यी ठूल्ठूला प्रविधि कम्पनीहरूले प्रयोगकर्ताको गोपनीयतामाथि बलात्कार नै गर्ने गरेको कसैबाट लुकेको छैन ।

आजकल युट्युब, फेसबुक, टि्वटर जस्ता सामाजिक सञ्जालमा ‘स्वतन्त्र समाचार’ का च्यानल र हेण्डलहरू च्याउसरी उम्रिएका छन् । यिनीहरूको अल्गोरिदम पनि उस्तै टाइपको छ ।

कति जनाले ख्याल गरेका छन्, युट्युबमा झुक्किएर कुनै फरक कन्टेन्ट भएको भिडियो हेरियो भने टाइमलाइनभरी नै त्यस्तै किसिमका भिडियोहरू देखा पर्छन् ।

एकै किसिमका धेरै मनोरञ्जनात्मक भिडियोहरू हेर्दा खासै धेरै फरक नपर्ला । तर, एकै किसिमको राजनीतिक, आर्थिक वा सामाजिक दृष्टिकोणलाई मात्रै बल पार्ने गरी टाइमलाइनमा भिडियोहरू आएको खण्डमा त्यसले मान्छेको सोच्ने शैलीमा नै प्रभाव पार्न सक्छ । आखिर मान्छेले उपभोग गर्ने सूचनाको किसिम र उसको राजनीतिक, आर्थिक वा सामाजिक दृष्टिकोणसँग प्रत्यक्ष सम्बन्ध हुन्छ नै ।

उदाहरणका लागि अहिले टेक्सस राज्यमा गर्भपतनको ऐनलाई लिएर खोइ के निहुँमा हो, विवाद छ । रिपब्लिकनहरू नयाँ कानूनको पक्षमा छन् भने डेमोक्र्याटहरू विपक्षमा छन् ।

अब मलाई युट्युबमा भिडियो हेरेर यसका विषयमा अझ बढी जानकारी लिनुपर्‍यो । म युट्युबमा ‘अबोर्सन टेक्सस’ लेखेर सर्च गर्छु, सर्च रिजल्टमा उदाहरणका लागि दक्षिणपन्थी राजनीतिक कमेन्टेटर बेन शपिरोको भिडियो आउँछ, म त्यो भिडियो हेर्नपुग्छु । शपिरोले कुनै (कु) तर्क दिएर नयाँ ऐनको समर्थन गर्छन् । यसबारे धेरै थाहा नभएको अनि स्वतन्त्र सोचाइ राख्ने मलाई हो जस्तो लाग्छ ।

त्यसपछि एकैछिनमा मेरो टाइमलाइनमा क्यानेडियन प्राध्यापक जोर्डन पिटर्सन वा अमेरिकी दक्षिणपन्थी प्रोपोगाण्डा प्रेगर यूको किन महिलाहरू वा कालो छाला भएका वा अंग्रेजी बाहेक अर्को भाषा बोल्ने मान्छेहरू समान अधिकारको लायक छैनन् भन्ने किसिमको भिडियो आउँछ ।

यदि म अझै यस्तै भिडियोमा झुण्डिरहें भने यही र्‍याबिटहोलबाट कुख्यात दक्षिणपन्थी कन्स्पिरेसी थ्यौरी क्युएनोनसम्म पुग्छु । केही क्युएनोन भिडियो हेरेपछि मलाई पनि अमेरिका शैतानको पूजा गर्ने बाल यौन दुराचारीको नियन्त्रणमा रहेको भान हुन्छ ।

मलाई पनि लाग्न थाल्छ, दुश्मनहरूबाट अमेरिकालाई मुक्त गर्ने पवित्र अभियानमा रहेका डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटहरूले झेली गरेर चुनावमा हराएका हुन् ।

विस्तारै मलाई अमेरिकी लोकतन्त्र र संस्थापनबाट विश्वास उठ्दै जान्छ । जो बाइडन जस्ता दक्षिणपन्थी डेमोक्र्याट पनि कम्युनिष्ट पार्टीका नेता जस्तो लाग्न थाल्छ भने सरकारले दिने कोरोनाभाइरसको खोपमा पनि षड्यन्त्रको गन्ध आउन थाल्छ ।

यो प्याटर्न चलिरहेको खण्डमा म अलेक्स जोन्सको समलिङ्गी भ्यागुताको कन्स्पिरेसी थ्यौरीमा समेत विश्वास गर्न पुग्छु ।

भर्खरै दिएको उदाहरण ठूलो अतिरञ्जना होइन । सुन्दा आश्चर्य लाग्न सक्छ तर अमेरिकी दक्षिणपन्थी राजनीतिको एउटा प्रभावशाली गुट अमेरिका अहिले शैतानको पूजा गर्ने बाल यौन दुराचारीहरूको नियन्त्रणमा रहेको र डोनाल्ड ट्रम्पलाई झेली गरेर हराइएको भन्नेमा पूर्णतः वा आंशिक विश्वास गर्छ । यही गुटले जनवरी ६ मा अमेरिकाको कंग्रेसमा आक्रमण गरेर काण्ड मच्चाएको हो ।

दुष्प्रचारबारे युट्युब र फेसबुक जस्ता ठूला कम्पनीहरू बेखबर छैनन् । उनीहरूलाई थाहा छ, कस्तो किसिमको भिडियोले गर्दा मानिसहरू रेडिकलाइज्ड भइरहेका छन् ।

अल्गोरिदमले एउटै किसिमको राजनीतिक विचारका कन्टेन्टहरू एकोहोरो प्रवाह गरिरहने र त्यस किसिमका उग्र विचारको खण्डन गर्ने वा चुनौती दिने किसिमका एउटा पनि कन्टेन्ट नदेखाउने कारणले गर्दा मानिसहरू कन्फर्मेसन बायसकै कारण पनि दक्षिणपन्थी र्‍याबिटहोलमा प्रवेश गरिरहेका छन् ।

यी कम्पनीहरूले दुष्प्रचार रोक्ने प्रयास पनि गरिरहेका छन् । फेसबुक, टि्वटर र युट्युब जस्ता प्रविधि कम्पनीहरूले धेरै हेण्डल, च्यानल र पेजहरूलाई हटाउँदै पनि आइरहेका छन् ।

उदाहरणका लागि लिबरलहरूको रोइलो पछि टि्वटरले पूर्व राष्ट्रपति ट्रम्प र अरू धेरै हेण्डलहरूलाई आफ्नो प्लाटर्फमबाट हटाइदिएको छ ।

त्यस्तै, युट्युबले पनि कन्स्पिरेसी थ्यौरिष्ट अलेक्स जोन्स र उनको च्यानल इन्फोवार अनि अरू धेरै च्यानलहरूलाई बन्द गरेको छ । युट्युबले त्यस किसिमका दुष्प्रचार गर्ने च्यानल र भिडियोहरूको रिच पनि घटाइदिएको छ ।

त्यस्तै, दुष्प्रचार बढिरहेपछि फेसबुकले पनि कोरोनाभाइरस बारेका पोष्ट मुनि एक प्रकारको सूचनाको लेखोट पनि राख्ने गरेको छ ।

तर, दुष्प्रचारको समस्या सम्बोधन गर्ने यी कम्पनीहरूको शैली अत्यन्त अप्रभावकारी र दिशाहीन छ । कस्तो किसिमको कन्टेन्टलाई दुष्प्रचार मान्ने ? कुन हदसम्मको दुष्प्रचार स्वीकार्य छ ? वा कुन कुन हदसम्म दुष्प्रचार गर्ने कन्टेन्ट क्रिएटरहरूलाई कुन कुन हदसम्म कारबाही गर्ने कतै पनि निर्धारण गरिएको छैन ।

अर्कोतर्फ वाक् र प्रेस स्वतन्त्रताको हिमायती मुलुक अमेरिकामा यी कम्पनीहरू आधारित रहेकाले ठाडै कसैलाई प्लेटर्फमबाट सजिलै हटाइहाल्न मिल्ने अवस्था पनि छैन । अनि जो कसैले पनि कन्टेन्ट क्रिएट गर्न सक्ने भएकाले सबै कन्टेन्ट क्रिएटरलाई समेट्न पनि यी कम्पनीहरूलाई हम्मे हम्मे परिरहेको अवस्था छ ।

प्रयोगकर्ताको गोप्य साइबर जानकारी नै अनधिकृत रूपमा बेचिदिने, प्रयोगकर्ताका गतिविधिमाथि निगरानी गर्ने र अल्गोरिदमलाई विज्ञापन बेच्ने प्रयोजनका लागि मात्रै प्रयोग गर्ने जस्ता गतिविधिले यी कम्पनीहरू अहिले नै बद्नाम छन् ।

त्यसैले पनि आम मानिसको वाक् स्वतन्त्रतामै असर पर्ने गरी यतिका धेरै अधिकार यी अनिर्वाचित नाफामूलक कम्पनीहरूलाई दिंदा त्यसले पार्ने प्रभावबारे पनि धेरै विवेचना भएको छैन ।

कन्टेन्ट क्रिएटर र युजरलाई प्लाटर्फमबाट नै हटाउने कदम पनि प्रतिउपयोगी हुन सक्छ । जस्तै, एक समय -शायद पछिल्लो चुनावको आसपास हुनुपर्छ) टि्वटरले दक्षिणपन्थी दुष्प्रचार गर्ने हेण्डलहरूलाई छानी छानी हटाइदिएको थियो । त्यसपछि दक्षिणपन्थी टि्वटर युजरहरू उग्र दक्षिणपन्थी पार्लर भन्ने एपमा ओइरिएका थिए ।

त्यस्तै, प्रयोगकर्तालाई जथाभावी रूपमा सामाजिक सञ्जालबाट हटाउँदा मूलधार बाहिरका फोरचान, एटचान र अरु डार्क वा सेमी डार्क साइटमा मानिसहरू तानिने र त्यहाँबाट -काल्पनिक दक्षिणपन्थी मुलुक) ‘केकिस्तान’, कोरोनाभाइरसको उपचारका रूपमा घोडाको औषधिको प्रयोग, लुगा धुने सरफ खाने ट्रेण्ड जस्ता अझ रेडिकल र ‘एजी’ कन्टेन्ट, शिटपोष्ट, मिम र साइबर ट्रेण्ड दोहोरिने जोखिम रहन्छ ।

सामाजिक सञ्जालमा दुष्प्रचार र डिप्लेटफर्मिङ अनि यसले समाज, राजनीति र मानव जीवनका अरू पक्षमा पार्ने प्रभावबारे अझ ठूलो अध्ययनको खाँचो छ ।

दुष्प्रचारलाई अमेरिकी राजनीतिले पनि मलजल गरिरहेको छ । दुईदलीय लोकतन्त्र रहेको अमेरिकामा डोनाल्ड ट्रम्पको उदयसँगै एकातिर रिपब्लिकनहरू तीव्र गतिमा उग्र दक्षिणपन्थी बाटोमा अघि बढिरहेका छन् ।

यसका लागि उनीहरू दुष्प्रचारलाई माध्यम बनाउँछन् । क्युएनोन जस्तो निकृष्ट कोटिको कन्स्पिरेसी थ्यौरी यही दुष्प्रचारको उपज हो । यही कारण रिपब्लिकन खेमामा डोनाल्ड ट्रम्प, माइक लिण्डेल, जर्ज केली, टकर कार्लसन, शन हृयानिटी जस्ता निर्लज्ज प्रोपोगाण्डिष्ट अत्यन्त चर्चित छन् ।

तल्लो अनुच्छेदमा भनिएको कुरा शतप्रतिशत रिपब्लिकन पार्टीमा पनि लागू हुन्छ ।

अर्कोतिर नवउदारवादी पूँजीवादमा चुर्लुम्मै डुबेको डेमोक्रेटिक पार्टीले दुष्प्रचार विरुद्ध ठोस कदम चाल्न सम्भव नै छैन । साँच्चै भन्नुपर्दा डेमोक्रेटिक पार्टी सेलिब्रेटीहरूको एउटा मण्डली हो । यो मण्डलीलाई फेसबुक, टि्वटर, गुगल, अमेजन, टेस्ला, रेथियोन जस्ता ठूला कम्पनीबाट धेरैजसो नियमित र थोरैजसो अनियमित चन्दा प्राप्त भइरहन्छ । यो मण्डलीका धेरै ठूला तहका सेलिब्रेटीहरू यस्ता कम्पनीका शेयरधनी छन् । अब माम खुवाउने हातलाई कसैले काट्छ ?

त्यसैले डेमोक्रेटिक नेताहरू प्रायः गरी सतहमा मात्रै दुष्प्रचार विरुद्ध कुरा गर्छन् । डेमोक्रेटिक पार्टीका नेताहरूलाई लाग्छ कि डोनाल्ड ट्रम्पलाई टि्वटरबाट हटाउँदैमा वा कालाजातिको सेलिब्रेटीलाई गुगल वा कुनै कम्पनीको ब्राण्ड एम्बेसडर बनाउँदैमा अथवा मार्क जुकरबर्गले कंग्रेसमा सार्वजनिक बयान दिंदैमा वा यस्ता प्रविधि कम्पनीले समलिङ्गी वा तेस्रोलिङ्गी इमोजी एड गर्दैमा सबै समस्याको समाधान भइहाल्छ ।

चुनावअघिको एउटा डेमोक्रेटिक बहसमा अहिलेकी उपराष्ट्रपति कमला हृयारिसले ट्रम्पलाई टि्वटरबाट हटाउनुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

पहिलो कुरा, ट्रम्पलाई टि्वटरबाट हटाउँदैमा ट्रम्पको आवाज बन्द त भएको छ, तर यसले ट्रम्पका समर्थकहरूलाई उग्र र कन्स्पिरेसिष्ट बनाउँदै लगेको छ ।

मानिसहरू यतिसम्म रेडिकल भइरहेका छन् कि एफबीआई र सीआईए जस्ता खुफिया एजेन्सीले यस्तो रेडिकलिज्मलाई ‘डमेस्टिक टेरोरिज्म’ अर्थात् घरेलु आतंकवादको रूपमा समेत हेर्नु परिरहेको छ । दोस्रो गृहयुद्धको गाइँगुइँ पनि सुन्न थालिएको छ ।

पर्यावरण बिगार्न ठूला तेल कम्पनी र प्राकृतिक तेल खपत गर्ने ठूला उद्योगहरूको जति हात छ, दुष्प्रचारका लागि ठूला मिडिया, प्रविधि कम्पनी र अमेरिकी संस्थापनको भूमिका पनि उत्तिकै ठूलो छ । यसको सम्बोधन नगरी दुष्प्रचार रोकिएला जस्तो लाग्दैन

गत वर्ष जर्ज फ्लोइड प्रदर्शन र जनवरी ६ मा कंग्रेसमा भएको आक्रमणले अमेरिकी राजनीतिको दुई खेमा अत्यन्त असहिष्णु बन्दै गएको देखाउँछ । यस्तो चरम पक्षपाती (हाइपरपार्टीजनशिप) ले गर्दा नचाहेरै पनि धेरै जनाले अमेरिका गृहयुद्धको सँघारमा रहेको निष्कर्ष निकालिरहेका छन् ।

दोस्रो कुरा, यो वाक् स्वतन्त्रताको सरासर उल्लङ्घन हो । यदि पुटिन वा अर्को कुनै भिलेनले यस्तो गरेको भए डिक्सनरी डेफिनेसन अधिनायकवाद हुनेथियो । अमेरिका जस्तो लोकतन्त्र, विधिको शासन, वाक् स्वतन्त्रता, मानवअधिकार र अरु के के राम्रा राम्रा राजनीतिक शब्दहरूको हिमायती देशमा कसैको – राष्ट्रपति वा सर्वसाधारण बोली बन्द गरेको शोभा पनि दिंदैन ।

शोभा त समाचारको तिर्खा मेटाउन आउने पाठकसँग सब्सक्रिप्सन भन्ने बोतलको पैसा लिंदा पनि हुँदैन । हुनसक्छ यी मिडिया हाउसले दिगोपनका लागि पैसा तिरेर पढ्ने पाठकको सानो वृत्तमा मात्र सीमित हुने योजना सोचेको होला । ‘लिगेसी मिडिया’ ले वर्तमानमा अपनाएको बिजनेस मोडल कतिको दिगो छ, त्यो भविष्यले देखाउला ।

दुष्प्रचार लिगेसी मिडियाको असफलता पनि हो । लौ न्यूयोर्क टाइम्स, वालस्ट्रिट जर्नल, रोयटर्सले पढेको पैसा लिन्छन् अरे, टेलिभिजनमा आउने सीएनएन, एबीसी, सीबीएस, फक्स न्युज, एमएसएनबीसी जस्ता मिडियाले त कम्तीमा सही सूचना दिन सक्नु पर्‍यो नि !

विडम्बना यिनीहरू आफ्नै किसिमको दुष्प्रचारमा व्यस्त छन् । यिनै मिडिया हुन् जसले अमेरिकी जनतालाई इराक युद्ध बेचे, अघिल्लो पल्टको चुनावताका डोनाल्ड ट्रम्प र उनको सेलिब्रेटी व्यक्तित्वलाई दुई अर्ब डलर बराबरको कभरेज सित्तैंमा दिए, २००८ को आर्थिक मन्दीका बेला ठूला बैंकको पक्षमा वकालत गरे इत्यादि ।

आश्चर्यलाग्दो तथ्य- अमेरिकामा प्रेस्क्रिप्सन औषधिको विज्ञापन समेत देख्न पाइन्छ । मानौं कुनै च्यानलमा तपाईंले फाइजर वा जोन्सन एण्ड जोन्सनको विज्ञापन हेर्नुभयो, अनि एकैछिनमा त्यही च्यानलको समाचारमा प्रस्तोता कोरोना विरुद्ध त्यही कम्पनीको खोपको गाथा गाउँछन् ।

बोधो बुद्धि भएकाले ‘फाइजरले यसलाई पैसा पेलेको छ, त्यसैले यसले मलाई खोप लगाउन अर्ति दिंदैछ’ भन्नु स्वाभाविक हो । यसले अरू केही नभए पनि समाचारको गरिमामा आँच ल्याउँछ । स्वास्थ्य अत्यन्त संवेदनशील विषय हो, त्यसैले मान्छेले पत्याइहाल्न गाह्रो मान्छन् ।

मिडियाले सद्दाम हुसैनको ‘महाविनाशक हतियार’ र इराक युद्ध बेचेको पनि आम सर्वसाधारणले भुलेका छैनन् । मिडियाकै कारणले गर्दा अमेरिकी जनताले ट्रम्पलाई रूसले जिताएको मिथ्या पनि पत्याउनु परिरहेको छ ।

लिगेसी मिडिया पानीमाथिका ओभानो छैनन् । भर्खरै गलोपले गरेको सर्वेक्षणमा मिडिया प्रति जनताको विश्वास जम्मा ३६ प्रतिशत रहेको देखिएको छ । रिपब्लिकनहरू माझ त यो संख्या केबल ११ प्रतिशत छ ।

मिडिया आलोचक म्याट टाइबी ‘हेट इंक’ भन्ने किताबमा त यिनै लिगेसी मिडियाका कारण अमेरिकी जनता दुई विपरीत ध्रुवमा बाँडिंदै गएको दाबी गर्छन् ।

उनका अनुसार मिडिया कम्पनीले बिजनेस मोडल अनुसार राजनीतिक विचारधाराको आधारमा आफ्नो लक्षित दर्शक छनोट गर्ने र लक्षित दर्शकलाई एकै किसिमको मात्रै राजनीतिक दृष्टिकोण युक्त समाचार एकतमासले प्रसारण गर्ने भएका कारण अमेरिकी जनता झन्-झन् दलीय हिसाबमा विभाजित र असहिष्णु बन्दै गएका छन् ।

अमेरिकाका न्युज मिडियामा न्युज कम र हाइपरपार्टीजन पोलिटिकल टकिङ पोइन्ट बढी सुन्न पाइन्छ । पाँच मिनेट टकर कार्लसन र पाँचै मिनेट रेचल म्याडोको कार्यक्रम हेरेर तुलना गरे मात्रै पनि टाइबीको भनाइ सत्य साबित हुन्छ ।

विश्वासको अभाव, हात हातमै स्मार्टफोनको उपलब्धता र सामाजिक सञ्जालमा ‘स्वतन्त्र समाचार’ प्रकाशित गर्ने च्यानलहरूको बाक्लो उपस्थितिका कारण अहिले टेलिभिजन हेर्ने दर्शकहरूको संख्या घट्दै गइरहेको छ । त्यसैले टेलिभिजन मिडियाले अहिले युट्युबमा आफ्नो उपस्थितिलाई बाक्लो पार्दै लगेका छन् । युट्युबले पनि दुष्प्रचार नियन्त्रण गर्न लिबरल लिगेसी मिडियालाई ‘अथोरोटेटिभ सोर्स’ मान्दै प्रोत्साहन पनि गर्दै आएको छ ।

तर, मानिसमा मिडियाप्रति विश्वास नै नरहेपछि कसको के लाग्छ ? यी मिडियाहरूले युट्युबमै पनि अरू धेरै स्वतन्त्र समाचार दिने च्यानलसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । अर्कोतर्फ जो रोगनको पड्काष्ट, क्रिस्टल बल र सागर एन्जेतीको ब्रेकिङ पोइन्ट, लिबरल डेमोक्र्याट धारको पड सेभ ‘अमेरिका’ जस्ता स्रोतहरू एकदमै चर्चित बनेर उदाइरहेका छन् ।

प्रतिस्पर्धामा अघि रहन यी लिगेसी मिडियाहरू स्वतन्त्र समाचारका स्रोतहरूमा अझ लगाम लगाउनुपर्ने अन्यथा यसले दुष्प्रचारलाई बढावा दिने तर्क गरिरहेका छन् ।

केही महीना अघि मात्रै युट्युबकी सीईओ सुजन वजिस्कीले युट्युबले लिगेसी मिडियालाई बढी प्राथमिकता दिने गरेको र स्वतन्त्र स्रोतहरूलाई सार्वजनिक रूपमै अभिव्यक्ति दिएकी थिइन् । ठूला प्रविधि कम्पनीहरू र ठूला मिडिया हाउसको यो सहकार्यले युट्युबमा उत्कृष्ट कन्टेन्ट बनाउने स्वतन्त्र स्रोतहरूमा नकारात्मक असर पर्दै गइरहेको छ । युट्युबले कन्टेन्ट क्रिएटरको मनिटाइजेशन (पैसा कमाउने भाँडो) को दायरा पनि घटाउँदै लगेको छ ।

आजकल ग्लेन ग्रिनवाल्ड, म्याट टाइबी, नाथन रोबिन्सन जस्ता नयाँ पुस्ताका मूलधार बाहिरका पत्रकारहरूले सब्स्ट्रयाक र पेटि्रयनबाट पैसा कमाउने बाटो निकालेका छन् । तैपनि यो बिजनेश मोडलको दिगोपनमा पनि आशंका गर्ने प्रशस्त ठाउँहरू छन् ।

यसरी हेर्दा लाग्छ कि दुष्प्रचारको कुनै एउटा मात्रै कारण छैन । अमेरिकी सञ्चारगृह, संस्थापित राजनीतिक घटकहरू, ठूला प्रविधि कम्पनीहरूको असफलताका कारण सामाजिक सञ्जालभरि दुष्प्रचारको बिगबिगी छ । सबैको चित्त बुझाएर दुष्प्रचार रोक्न सम्भव पनि छैन ।

दुष्प्रचारको दिगो समाधान के हो, मलाई थाहा छैन । समाजशास्त्री, समाचारशास्त्री, मानवशास्त्री र अरू विद्वान्हरूलाई यसबारे धेरै जानकारी होला ।

तर, तत्कालका लागि दुष्प्रचारको एकमात्रै समाधान प्रयोगकर्ता आफैं सजग हुनु हो । प्रयोगकर्ता आफैंले कस्तो कन्टेन्ट हेर्दैछु, यो कन्टेन्टले मेरो दिमागमा के भर्ने प्रयास गर्दैछ, कन्टेन्टमा भनिएका कुराहरू कतिको सत्य हुन् भन्ने विचार पुर्‍याउनुपर्छ ।

यो भनेको नवउदारवादको डिक्शनरी डेफिनेशन हो । फालिएको प्लाष्टिकका बोतल पुनः प्रयोग गर्ने रद्दीको टोकरीमा हालेर पर्यावरण जोगाउनु जस्तै । यो आइडियोलोजीले प्रयोगकर्ता वा सेवाग्राही चनाखो भएको खण्डमा सबै समस्याको समाधान हुने तर्क गर्छ । यसले ठूला कम्पनीहरूलाई उन्मुक्ति दिन्छ ।

पर्यावरण बिगार्न ठूला तेल कम्पनी र प्राकृतिक तेल खपत गर्ने ठूला उद्योगहरूको जति हात छ, दुष्प्रचारका लागि ठूला मिडियाहरू, प्रविधि कम्पनीहरू र अमेरिकी संस्थापनको भूमिका पनि उत्तिकै ठूलो छ । यसको सम्बोधन नगरी दुष्प्रचार रोकिएला जस्तो लाग्दैन ।

त्यसैले अब तपाईंले युट्युबमा कुनै समाचारमूलक कन्टेन्ट हेर्नुभयो भने सजग हुनुहोला । नवउदारवादमा स्वागत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment