+
+

सुडानी सेनाले प्रदर्शनकारीमाथि गोली चलायो, ७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते ११:५६

९ कात्तिक, काठमाडौं । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ ।

सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिमा सात प्रदर्शनकारीको ज्यान गएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् ।

सैनिक ‘कु’को विरोध गर्दै राजधानी खार्तुमसहित अन्य शहरका सडकमा हजारौं मानिसले जुलुस निकालेका थिए । सोमबार सेनाले अन्तरिम प्रधानमन्त्री अब्दल्लाह हामदोक र अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरेपछि मानिसहरुले विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

सत्तापलटको नेतृत्व गरेका जनरल अब्देल फताह अल बुर्हानले लामो समय सत्तामा रहेका ओमर अल बसिर सत्ताच्युत भएपछि गठन भएको सैन्य-नागरिक परिषद विघटन गरेका छन् । उनले देशभर संकटकाल घोषणा समेत गरेका छन् ।

सुरक्षा बलले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने भन्दै बुर्हानले संकटकाल घोषणा गरेको समाचारमा उल्लेख छ । उनले २०२३ जुलाईमा निर्वाचन गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बाचा पनि गरेका छन् ।

मुलुकको पछिल्लो अवस्थाबाट जोखिम र खतरा सिर्जना भएको बुर्हानको भनाइ थियो । ‘हाल मुलुकमा जारी अवस्थाबाट युवाहरुको सपना र राष्ट्रको आकांक्षामाथि जोखिम एवं खतरा उत्पन्न भएको छ’, उनले भने ।

यसैबीच, अमेरिका, बेलायत र नर्वेले सोमबार राति एक विज्ञप्ति निकाल्दै ‘कु’ को निन्दा गरेका छन् । विज्ञप्तिमार्फत् ती मुलुकले पक्राउ परेका सबैलाई रिहा गर्न भनेका छन् ।

-अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?