+
+

नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि ठेकदार कम्पनी छानिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १६:५१

१० कात्तिक, काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि ठेकदार कम्पनीको छनोट कात्तिक २५ गते हुने भएको छ । सडक विभागले प्रारम्भिक योग्यता पुगेको ठहर गरी छनोट गरेका कम्पनीको आर्थिक प्रस्ताव खोल्न लागेको हो ।

नागढुंगा–नौबीसे र नौबिसे–मलेखु गरी दुई खण्डमा काम गर्न योग्य ठहर भएका कम्पनीले आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्दैछन् । यी दुई प्याकेजमा ४२ कम्पनीले प्रारम्भिक योग्यताका लागि प्रतिस्पर्धा गरेकोमा योग्यता पूरा गरेका कम्पनीहरुको आर्थिक प्रस्ताव खोल्न लागिएको हो ।
दुबै प्याकेजमा सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी आर्थिक प्रस्तावमा पास हुनेछन् । मलेखु–मुग्लिन खण्डको ठेक्का भने मूल्यांकनको चरणमै छ ।

सडक विभागका उपमहानिर्देशक तथा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तार परियोजनाका प्रमुख रामहरी पोखरेलका अनुसार आर्थिक प्रस्तावमा सफल भएको कम्पनी छनोट गरेर विकास साझेदार ‘विश्व बैंक’मा स्वीकृतिका लागि पठाइने छ । नेपाली कम्पनीले सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने विदेशी कम्पनीको भन्दा ७ प्रतिशतसम्म बढी मूल्य प्रस्ताव गरेमा ठेक्का पाउनसक्ने व्यवस्था छ ।

यो सकडखण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ । यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ ।

बढी उकालो रहेको भागमा सवारी बिग्रँदा असर नपर्ने गरी तीन वटा लेन बनाउन लागिएको हो । आगामी दशैंसम्म ठेक्का सम्झौता गरेर सडक विस्तारको काम थाल्ने तयारी छ ।

यो सडकको पुरै खण्ड चार लेनमा विस्तार गर्न खोजिएको थियो । तर, मुआब्जा अत्याधिक तिर्नुपर्ने भएपछि मुग्लिन–नारायणगण्ढ सडकखण्डको जस्तै सडक बनाउने गरी विस्तारको काम हुन लागेको हो ।

९२ मिलोमिटर लामो यो सडकखण्डका बीच-बीचमा विभिन्न बजारहरु छन् । जुन बजारमा २५ मिटरभित्रै घरसहितका संरचनाहरु पर्छन् । यो खण्डमा चार वटा नयाँ पुल बनाउनुपर्ने छ । त्यसका लागि निजी जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था छ ।

मुग्लिन–नागढुंगा सडकमार्ग ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मुल मार्ग हो । यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षामा समयमा यो सडक अति जीर्ण बन्न पुग्छ ।
नौबिसेमाथि नागढुंगासम्मको सडक पानी पर्नासाथै यो सडकमा खाल्डाखुल्डीका कारण मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिग्रिएर रोकिनासाथै लामो लाइन लागिहाल्ने समस्या छ ।

उच्च रुपमा हुने सवारी आवागमनले सडक मर्मत गर्न नै कठिन हुने गरेको छ । यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ ।

झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ । सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सवारीलाई मुस्किल हुन्छ । दिनमा १८ देखि २० हजार सवारी आवात–जावत गर्ने सडकको अवस्था वर्षौंदेखि फेरिएको छैन ।

अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा आउने र जाने सवारीको चाप समेत हुने भएकाले यो सडकमा सवारीको चाप मुग्लिन–नारायणगढ खण्डको भन्दा बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?