+
+

लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष सुटुक्क रिहा

जिल्ला प्रहरी कार्यालय सिराहाका एक अधिकृतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नहुने होइन । तर वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १७:१८

१० कात्तिक, काठमाडौं । लागूऔषधसहित पक्राउ परेका वडाध्यक्षलाई प्रहरीले एकदिन नबित्दै सुटुक्क छाडेको छ । सिराहाको सीमा क्षेत्र माडरबाट पक्राउ परेका सिराहा नगरपालिका वडा नंं. १८ का वडाध्यक्ष राम सोगारथ यादवलाई प्रहरीले छाडेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख हिरालाल पाण्डेले उनलाई छाडिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘हिरासतमा राखेर वा नराखेर दुवै तरिकाले अनुसन्धान गर्न मिल्छ, (लागूऔषधको) धेरै परिमाण पनि होइन । त्यसैले छाडिएको हो ।’

पाण्डेका अनुसार लागूऔषध वडाध्यक्ष यादवको हो कि होइन भन्ने पनि पुष्टि भएको छैन । ‘साथबाट बरामद भएको होइन, पार्किङ गरेको मोटरसाइकलमा थियो’ उनले भने, ‘…अर्कोले दिएको भन्ने अवस्था देखियो ।’

जिल्ला प्रहरी कार्यालय सिराहाका एक अधिकृतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नहुने होइन । तर वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ ।

मंगलबार प्रहरी सञ्चारले जिल्ला र संघीय कार्यालयमा प्रेषित गरेको विवरणमा चाहिँ वडाध्यक्ष यादवको मोटरसाइकललाई माडरको सीमा क्षेत्रबाटै प्रहरीले पछ्याएको उल्लेख छ । बिओपी माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान देवेन्द्रकुमार यादवले फोन गरेर इलाका प्रहरी कार्यालय, माडरका प्रहरी जवान मनोजकुमार राउतलाई भारतबाट सरकारी नम्बर प्लेटको मोटरसाइकल लागूऔषध लिएर आएको र आफ्नो चेकपोइन्टबाट क्रस भएको सूचना दिएको सञ्चारको विवरणमा उल्लेख छ ।

‘माडर बजार काली चोकमा नियमित ड्यूटी रहने प्रहरीलाई उक्त मोटरसाइकल रोकेर चेकजाँच गर्नु भनेको हुँदा प्रहरी जवान राउतले तत्कालै सोही अनुसारको जानकारी गराएको हुँदा प्रहरीको टोलीले उक्त मोटरसाइकललाई खोजतलास गर्दा कालीचोकमा रहेको चेक प्वाइन्ट क्रस भइसकेको थियो’ विवरणमा भनिएको छ, ‘ड्यूटीमा रहेका प्रहरीले खोज्दा, बुझ्दा काली मन्दिरको उक्त पट्टी सिराहातर्फ आउने बाटोको पश्चिम भागमा स १ ब ९३८ नम्बरको सरकारी प्लेट भएको मोटरसाइकल रोकी राखेको अवस्थामा फेला परेको थियो ।’

मोटरसाइकल धनीबारे खोजविन गर्दा वडाध्यक्ष यादवले प्रयोग गर्ने गरेको भन्ने यकिन भएको भनिएको छ । केहीबेरमा उनी पनि आएको र खानतलासी लिँदा ‘अगाडिको भाइजरभित्र मिटर बक्समाथि मोटरसाइकल पुछ्ने कपडामुनि नाइट्रोभेट १० लेखिएको एक पातामा १५ ट्याब्लेट अवैध लागूऔषध फेला परेको’ उल्लेख छ । त्यसपछि थप अनुसन्धानका लागि मोटरसाइकल र लागूऔषध बरामद गरेर वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको भनिएको छ ।

अनुसन्धान नहुँदै छाडियो

जिल्ला प्रहरी कार्यालय सिराहाका एक अधिकृतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नहुने होइनन् । तर प्रहरीले त्यस्तो घटनामा अनुसन्धान गरेर परिपक्व भएपछि मात्र अभियुक्तलाई छाड्ने गरेको थियो । वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ ।

२०७८ भदौमा रौतहटमा पत्रकार मोजिबुल्लाहलाई लागूऔषध राखिदिएर फसाइएको प्रकरणमा प्रहरीकै संलग्नता देखिएको थियो । उनको मोटरसाइकलमा लागूऔषध राखिदिँदै गरेको सीसी टीभी फुटेज सार्वजनिक हुँदा पनि प्रहरीले थप अनुसन्धान गरेर फसाउनेलाई पक्राउ नगरेसम्म छाडेको थिएन ।

तर वडाध्यक्ष यादवको हकमा उनी निर्दोष हुनसक्ने आधार संकलन नगरी प्रहरीले छाडेको अधिकृतहरु नै दाबी गर्छन् । एसपी पाण्डेले भने वडाध्यक्षको मोटरसाइकलमा लागूऔषध ‘राखिदिएको हुनसक्ने विभिन्न कारण’ रहेको बताउँदै अनुसन्धान जारी रहेको सुनाए । उनले वडाध्यक्षको ‘विगत त्यस्तो नदेखिएको’ अनलाइनखबरसँग दाबी गरे ।

एसपी पाण्डे आफैंले हस्ताक्षर गरेर माथिल्लो निकायमा बुझाएको जाहेरीमा उनले ‘सूचना दिने’ व्यक्तिमाथि समेत प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘सशस्त्र प्रहरी जवान यादवलाई सूचना दिने व्यक्ति पंकजकुमार यादव भएको र निजको सीआरएस अभिलेख हेर्दा एकपटक डाँका र दुईपटक अभद्र व्यवहार कसूरमा पक्राउ भइ अभियोजन भएकाले निजको चालचलन सन्तोषजनक देखिएन ।’

सूचना दिने व्यक्ति हालसम्म कार्यालयको सम्पर्कमा पनि नआई फोन स्व्ीच अफ गरेर फरार भएको कारण देखाउँदै एसपी पाण्डेले ‘अन्य व्यक्तिबाट समेत उक्त कार्य भएको हुनसक्ने सम्भावना समेतमा अनुसन्धान गर्न’ खोजी भएको बखत उपस्थित हुने गरी छोरा शंकर यादवको जिम्मा लगाइएको भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?