+
+
टिप्पणी :

बोझ नबनून् हाम्रा चाडपर्व

ऋषिराम ढकाल ऋषिराम ढकाल
२०७८ कात्तिक ११ गते ९:२१

हिन्दुहरूको महान् चाड विजयादशमीलाई बिदा गरेर अर्को ठूलो चाड तिहारको प्रतीक्षामा रहेका छौं । दशैंको तुलनामा चहलपहल (शहरबजारमा किनमेल गर्नेको भीड र शहरबाट गाउँ फर्कने लहर) केही कम हुने देखिए तापनि तिहारमा पनि आर्थिक कारोबारमा भने खासै कमी हुँदैन । अधिकांशले तिहारका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडाको जोहो दशैंमा नै गर्ने भएका कारण पनि तिहारमा कम आर्थिक चलखेल हुने सहजै अनुमान गर्न सकिन्छ ।

दशैं-तिहार जस्ता चाडपर्व हाम्रा अमूल्य गहना हुन् । ती गहनालाई उपयुक्त ढंगले धारण गर्न सकेमा मात्र ती चाडपर्वको महत्व र आकर्षण चिरपर्यन्त कायम रहन्छ । अन्यथा ‘भाङ्ग्राको टोपीलाई चमेलीको फूल’ भने जस्तै नसुहाउँदो हुन्छ र त्यसको महत्व तथा आकर्षण हराउँदै जान्छ । अनि कालान्तरमा ती चाडपर्व मासिंदै जान्छन् । अतः हाम्रा चाडपर्वको महत्व र आकर्षणलाई संरक्षण गर्ने दायित्व हाम्रै काँधमा रहेको छ ।

‘हुनेलाई दशैं नहुनेलाई दशा !’ यो कहावत धेरै पहिलेदेखिको हो । अहिलेको सन्दर्भमा नहुनेको दर्जा कसैलाई दिइयो भने हेपेको, हेला गरेको हुन्छ र मानहानिकै मुद्दा पनि लाग्न सक्छ । तर, यथार्थ त्यस्तो छैन । आफूसँग आर्थिक क्षमता नभएका कारण ऋण काढेरै भए पनि दशैं मानेको र दशा भित्र्याइएको दृष्टान्त हेर्न धेरै मिहिनेत गर्नुपर्दैन ।

विश्वव्यापी कोरोना कहरका कारण आर्थिक गतिविधिमा ह्रास आएको छँदैछ । जता गहिरो उतै पानी भने जस्तो हुनेखानेलाई कुनै रोगव्याधिले असर गर्दैन र चाडपर्वका नाममा फाइदै होला, तर हुँदा खानेलाई भने पक्कै पनि यस्ता चाडपर्व बोझ बन्दै गएका छन् । आर्थिक क्षमता नभए पनि देखासिकीका लागि राम्रो लगाउनै पर्ने, मीठो मसिनो खानै पर्ने, आएका पाहुनालाई चित्तबुझ्दो खानपान गराउनुपर्ने र दक्षिणा दिनैपर्ने बाध्यताका कारण निम्न वर्गका नेपालीलाई चाडपर्व बोझ बन्दै गएको छ र यस्ता चाडपर्व नआए पनि हुन्थ्यो भन्ने लाग्न थालिसकेको छ ।

यहाँ सन्दर्भ जोड्न खोजिएको भर्खरै बिदा भएको दशैंमा भए-गरेका आर्थिक गतिविधिको हो । विशेषगरी विजयादशमीदेखि कोजाग्रत पूणिर्मासम्म आफन्त तथा इष्टमित्रकहाँ गई टीका-जमरासँगै आशीर्वाद थाप्ने परम्परा आर्थिक पाटोसँग जोडिन पुगेको सन्दर्भले मनमा कता-कता बिझेको अनुभव भएको छ । त्यही बिझाइ यस लेखको केन्द्रविन्दु हुन पुगेको छ ।

परिवारका ज्येष्ठ सदस्यका हातबाट टीका र जमरासँगै आशीर्वाद थाप्न पाउनु अहोभाग्य मान्नुपर्छ । तर, ती ज्येष्ठ सदस्य जसको कुनै कमाइ छैन, अरूको सहारामा बाँच्नुपरेको छ, अरूको खटनमा खानुपरेको छ, त्यस्ता व्यक्तिले पनि आफूकहाँ आशीर्वाद थाप्न आएका छोरीचेलीलाई खुशी पार्नकै लागि दक्षिणा बढाएर दिनुपर्ने बाध्यता कतिसम्म उचित छ त ? दक्षिणा दिने र लिने दुवैले सोच्नुपर्ने भएको छ ।

आफूभन्दा ठूलाबडाको आशीर्वाद थाप्न पाउनु लाखौं रुपैयाँ पाउनुभन्दा पनि ठूलो कमाइ हो । तर, त्यो संस्कार हामीले भावी पुस्तालाई दिनसकेका छौं त ? टीका लगाइसकेपछि दक्षिणा कति पायौ ? यो प्रश्न अधिकांश अभिभावकको हुन्छ आफ्ना साना छोराछोरीसँग । त्यो हाम्रो ठूलो भूल हो । आशीर्वादलाई पैसामा हेर्दै जाने हो भने हाम्रा चाडपर्वको आकर्षण बढ्दैन, घट्दै जान्छ र जानु पनि पर्छ ।

किनभने जब चाडपर्व पैसासँग जोडिन जान्छ भने त्यसलाई व्यवसायीकरण भएको मान्नुपर्छ । व्यवसायको नियम नै हो उसको गति सधैं एकनाश रहँदैन, कहिले उकालो लाग्छ, कहिले ओरालो । अहिलेको समयमा उकालो लागेको होला, त्यसले फाइदै गर्ला । तर त्यसको गति ओरालो पनि लाग्न सक्छ है भनेर बेलैमा सचेत नहुने हो भने हाम्रा चाडपर्वको महत्वलाई बचाउन कठिन हुन्छ ।

बाहिरी रूप जस्तो सुकै होस्, राम्रो वा नराम्रो भए पनि भित्री स्वभावले मानवी र दानवी प्रवृत्तिलाई बोध गराउने सत्यलाई हामीले बुझेर पनि बुझपचाइरहेका छौं । हामी आफैं पनि बाहिर सुन्दर भएर हिंडेका छौं, तर भित्री रूप दानवी हुन सक्छ

अहिलेको सन्दर्भमा मीठो मसिनो खान र राम्रो लगाउन चाडपर्व नै कुर्नुपर्छ भन्ने छैन । जहिले इच्छा लाग्छ, तहिले पाइन्छ । तर, अरूलाई देखाउनकै लागि चाडपर्वकै समयमा गरगहना, लुगाफाटो जोड्ने गर्दा हुनेको फुर्ति बढ्ला तर नहुनेलाई बाध्यता पर्छ र ऋण गरेरै भए पनि चाडपर्व मनाउनुपर्छ । अतः हुनेले संयमता अपनाएर चाडपर्व मनाउँदा नहुनेलाई केही राहत मिल्छ ।

ऋण गरेरै भए पनि मनाउनै पर्ने चाडपर्व दशैं र तिहार मात्र होइनन्, अरू धेरै छन् । हिन्दूहरूको मात्र होइन, मुस्लिम, ईसाइहरूको चाड पनि छन् । तर, ती चाडमा परम्परादेखि चलिआएका संस्कार कायम छन् कि छैनन् ? त्यस विषयमा भने खासै चासो राखेको पाइँदैन ।

खाने र लगाउने अनि मोजमस्ती गर्ने पाटोलाई मात्र बढावा दिइएको पाइन्छ अहिलेका चाडवाडमा । तर चाडपर्वका खासखास संस्कारलाई भने त्यति वास्ता गरेको पाइँदैन । दशैं तिहार जस्ता चाडका जुन संस्कार हुन्, त्यसको पूर्णतः पालना भएको छ कि छैन त ? हामीले मनन गर्नुपर्ने बेला भइसकेको छ ।

असत्यमाथि सत्यको विजय भएको दिन भनेर दशैंको दशौं दिनलाई विजयादशमी भनिन्छ । हामीले असत्यलाई परास्त गर्न सक्यौं कि सकेनौं ? सत्य के हो अनि असत्य के हो भनेर आफ्ना सन्तानलाई बुझाउन सकेका छौं कि छैनौं त ?

सत्य भनेकी दुर्गा हुन्, जसले देवताहरूको रक्षार्थ राक्षसको नाश गरेकी थिइन् । अनावश्यक दुःख दिने, आफूखुशी गर्ने अर्थात् आफूलाई जे मन लाग्यो त्यही गर्ने र अरूको दुःख, समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति राक्षसी प्रवृत्ति हो । आफूलाई भए भयो, अरूको अवस्था जस्तोसुकै होस् भन्ने प्रवृत्ति नै राक्षसी प्रवृत्ति हो । तर हामीले पौराणिक कथामा वर्णन गरिएका लामा दाह्रा भएका, अजङ्गको शरीर भएका मायावी शक्ति भएका मानवी रूपलाई नै राक्षस भनेर बुझेका छौं र बुझाइरहेका छौं । तर, त्यसो होइन ।

बाहिरी रूप जस्तो सुकै होस्, राम्रो वा नराम्रो भए पनि भित्री स्वभावले मानवी र दानवी प्रवृत्तिलाई बोध गराउने सत्यलाई हामीले बुझेर पनि बुझपचाइरहेका छौं । हामी आफैं पनि बाहिर सुन्दर भएर हिंडेका छौं, तर भित्री रूप दानवी हुन सक्छ । त्यसलाई नियन्त्रण गर्न लागिपरेका छैनौं ।

अतः अहिलेको समाजमा त्यस्ता दैवी र दानवी प्रवृत्तिलाई बुझाएर सत्य र असत्यका बारेमा हामीले हाम्रा आफन्त, छोराछोरीलाई बुझाउनु चाडपर्व मनाउनुको मुख्य उद्देश्य मान्नुपर्छ । पौराणिक कथामा मात्र होइन, वर्तमान समयमा पनि सत्य र असत्यका पाटा छन् र हुन्छन् है भनेर बुझाउन सक्छौं । ती पाटालाई केलाएर अबोध बालबालिकाको मनमस्तिष्कमा सत्य भनेको धर्म र असत्य भनेको पाप हो भन्ने छाप छाड्न सफल हुनुपर्छ ।

अनि मात्र हामीले हाम्रो अभिभावकीय भूमिका निर्वाह गरेको मान्न सकिन्छ, चाडपर्वको महत्वलाई जीवित राखेको मान्न सकिन्छ ।

त्यस्तै धनधान्यकी देवी लक्ष्मीको पूजा गछौर्ं तिहारमा । ती देवीको पूजासँगै धन प्राप्तिको कामना गछौर्ं, तर के मानसिक शान्तिको कामना गछौर्ं त ? ‘धन विनाको मन ठूलो कि मन विनाको धन’का सर्जकले शायद धन र मनको अन्योन्याश्रति सम्बन्धलाई उजागर गर्न खोजेको हुनुपर्छ ।

हामी धन प्राप्तिको कामना गर्दै अनेक पूजासामग्री तयार पार्न उद्यत हुन्छौं, तर मनमा शान्तिको कामना गर्दै कुनै पूजा सामग्रीको जोहो गर्न लाग्दैनौं । यही नै अहिलेको समाजमा देखिएको ठूलो कमजोरी हो । ‘पत्रंपुष्पं फलं तोयं’ भगवानको ध्यान, पूजा गर्दा यी वस्तु भए पुग्छ । यी वस्तुलाई साधन बनाएर गरिने पूजाबाट मानसिक शान्ति प्राप्त हुन्छ ।

फलानाले यस्तो किन्यो रे म ऊभन्दा के कम भन्ने प्रवृत्तिले मानसिक शान्ति होइन, असन्तुष्टि बढ्दै जान्छ । आफूसँग जे छ, त्यसको उपयोग गर्न सक्नु नै चाडपर्व मनाउनुको उद्देश्य हुनुपर्छ । तर, देखासिकी गर्ने प्रवृत्ति अरूलाई मात्र होइन आफूलाई नै पनि घातक हुन सक्छ । यसतर्फ बेलैमा विचार पुर्‍याउनु उचित हुन्छ ।

हाम्रा चाडपर्वलाई आर्थिक दृष्टिकोणले बोझिलो बनाउने होइन, सरल बनाउनुपर्छ । घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई मनन गर्नुपर्छ । धनले होइन, मनले भावनात्मक सम्बन्ध मजबूत पार्नुपर्छ । आपसी भाइचाराको सम्बन्ध धनले होइन, मनले नै जोड्न सक्नुपर्छ । सानासाना बालबालिकालाई उचित संस्कार दिन सक्यौं भने मात्र हाम्रा चाडपर्व सहज ढंगले मनाउँदै जान सकिन्छ, अन्यथा व्यवसायीकरण हुँदै जाँदा चाडपर्व कुनै दुर्घटनामा पर्न सक्छन् र ती चाडपर्वको अस्तित्वमाथि प्रश्नचिहृन खडा हुन्छ । त्यसको दोष हाम्रो पुस्ताले स्वीकार गर्नुपर्छ ।

भर्खरै सकिएको दशैं जेजसरी सकिए पनि आउँदो तिहारलाई प्रतिस्पर्धामा तडकभडक बनाउनेभन्दा पनि खास महत्वलाई बुझेर मनाउन सफल बनौं, हाम्रा चाडपर्व हामी कसैलाई पनि बोझ नबनून्, सबैलाई शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?