+
+
ब्लग :

अघिअघि समाज, पछिपछि नेतृत्व

केशव खतिवडा केशव खतिवडा
२०७८ कात्तिक १२ गते १४:१७

समग्रमा आजको युग चौथो औद्योगिक क्रान्तिको युग हो । विश्वव्यापी रूपमा भएको सूचना र प्रविधि, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्सको विकासले मानिसलाई प्रविधि र विश्वव्यापीकरणसँग मात्र सामाजिकीकरण गराएन, तीव्र गतिमा समाजको पुनर्गठन हुनुको साथै, आलोचनात्मक चेतनाको स्तरमा समेत वृद्धि गरायो ।

विश्वमा नयाँ नयाँ खोज र अनुसन्धान भइरहेका छन् । युगलाई नै मार्गदर्शन गर्ने दृष्टिकोण भएका नेताहरूले देशको नेतृत्व सम्हालेका छन् । मुलुकहरू भौतिक विकासको चरमचुलीतर्फ पदार्पण गरिरहेका छन् । मूल्यमा आधारित राजनीतिक संस्कृतिको विकास भएको छ । समता र सामाजिक न्यायमा आधारित विकास र समृद्धि मुलुकको साझा र मूल एजेण्डा बनेको छ ।

विश्वका अधिकांश मुलुकमा २१औं शताब्दीको चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने सक्षम नेतृत्वले मुलुक हाँकेको पाइन्छ । आवधिक योजना मार्फत मुलुकको गन्तव्य निर्धारण भएको हुन्छ । निश्चित अवधि भित्र शिक्षा, स्वास्थ्य, रोजगारी, ऊर्जा, औद्योगिक विकास, व्यापार, पूर्वाधार विकास इत्यादिको क्षेत्रमा मुलुकलाई कहाँ पुर्‍याउने हो, स्पष्ट खाका तयार गरी कार्यान्वयन गरिएको छ ।

२१औं शताब्दीमा भएको सूचना र प्रविधिको विकास र विश्वव्यापीकरणको कारणले विश्वका हरेक मुलुकमा तीव्र गतिमा सामाजिक पुनर्गठन भैरहेको छ । यसको प्रभाव अल्पविकसित मुलुकहरूमा पनि परेको छ । लामो समयदेखि अल्पविकसित मुलुकको स्तरबाट माथि उठ्न नसकेका अधिकांश मुलुकमा अर्धसामन्तवादी चिन्तनबाट प्रेरित पात्रहरूले मुलुकको नेतृत्व गरेका छन् । आलोचनात्मक चेतलाई बन्धक राखेर स्वार्थकेन्द्रित राजनीतिलाई प्रश्रय दिएका छन् ।

नेपालका अधिकांश राजनीतिक दलका शीर्षस्त नेताहरूले कुनै न कुनै रूपमा २०३६, २०४६ र २०६२/६३ मा भएका आन्दोलनहरूको नेतृत्व गरेका छन् । तर विडम्बना अहिलेको राजनीतिक परिदृश्यलाई मध्यनजर गरेर मूल्याङ्कन गर्ने हो भने उहाँहरू अधिकांशसँग आजको युगलाई नेतृत्व गर्ने दृष्टिकोणको अभाव देखिन्छ ।

टुट, फुट, गुटबन्दी, आरोप-प्रत्यारोप र उखान टुक्काले दुनियाँमा कुनै पनि देशको विकास भएको छैन । त्यसकारण नेपालको पनि हुँदैन । योग्य सक्षम, इमानदार, भविष्यद्रष्टा तथा ‍ओजस्वी नेतृत्वद्वारा मात्र देश विकास सम्भव छ ।

परम्परागत योजना, कमजोर अनुगमन प्रणाली, तीव्र गुटबन्दी, खुला भ्रष्टाचार, संविधान र कानूनको बारम्बार उल्लङ्घन, व्यक्तिवादी चिन्तन जस्ता घटनाहरूले सरकार, राजनीतिक दल र जनताबीचको दूरी निकै बढेको छ ।

मुलुकको सामाजिक परिवेश अनुसार नेतृत्वको निर्माण हुन्छ । अन्यथा जैविकरूपले त संसारका सबै मानिस एउटै हुन् । अराजक र व्यक्तिवादी चिन्तन सामन्तवादी चरित्र, प्रवृत्ति र संस्कृतिको एउटा प्रमुख द्योतक हो । मुलुकको विकास वा परिवर्तनलाई विश्वको सापेक्षतामा हेर्नुपर्दछ ।

नेपाल, चीन र भारत लगभग सँगसँगैजसो स्वतन्त्र भएका मुलुकहरू हुन् । तर अहिले चीन र भारत विश्वका शक्तिशाली बन्ने होडमा छन् भने नेपाल अल्पविकसित मुलुकको अवस्थाबाट गुज्रिरहेको छ ।

यसको कारण जनताले खोजी गर्ने कि नगर्ने ? संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तमा उल्लिखित लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको प्रतिवद्धताको कार्यान्वयन कहिले हुने ? समाजवादको ढाँचा कस्तो हुने ?

संसारमा समाजवादको आइकनको रूपमा स्वास्थ्य र शिक्षालाई लिइन्छ । नेपालमा स्वास्थ्य र शिक्षा किन सबभन्दा महङ्गो छ ? वित्तीय र प्रशासनिक संघीयताको पूर्ण कार्यान्वयन किन गरिंदैन ? स्वाभाविक रूपमा यी सवालहरू नेतृत्वको दृष्टिकोण र इच्छाशक्तिसँग जोडिन्छन् । लगातार सरकारको नेतृत्व गर्नेहरूले यसको जवाफ दिनुपर्छ कि पर्दैन ?

तर विडम्बना यी सवाल उठाउनुपर्ने जनता नै दल र गुटको अन्धभक्त भएका छन् । देश र जनताको भाग्य र भविष्य माथि खेलबाड गर्ने स्वार्थी र भ्रष्ट नेतृत्वलाई उल्टै देवत्वकरण गर्दछन् । तर कालान्तरमा इतिहासले सबैलाई आफ्नो कठघरामा उभ्याउँदछ ।

फरक यति हो हिटलर, चाउचेस्कु भएर उभिने हो कि महात्मा गान्धी, अब्राहम लिङ्कन, लि क्वान यु भएर उभिने हो । समयमै हेक्का राखौं । सत्ता र शक्ति सधैं अस्थायी हुन्छ ।

परिणामको साथसाथै कारणलाई पनि हेर्नुपर्दछ । किनकि कारणको फल परिणाम हो । विकास दान हैन, जनताको अधिकार र आवश्यकता हो । कुनै पनि सामाजिक संरचना स्थिर हुँदैन । परिवर्तनशील हुन्छ । तर स्पष्ट दृष्टिकोण सहितको परिवर्तनकारी विचारको आन्दोलनले मात्र राजनीतिलाई शुद्धीकरण गर्नुको साथै राजनीतिको मूलमुद्दाले समेट्न सक्छ ।

जनजीविका र सुशासनलाई समेट्छ । इतिहासको गति जति छिटो हुन्छ, त्यति छिटो परिवर्तन र विकास हुन्छ । टुट, फुट, गुटबन्दी, आरोप-प्रत्यारोप र उखान टुक्काले दुनियाँमा कुनै पनि देशको विकास भएको छैन । त्यसकारण नेपालको पनि हुँदैन ।

योग्य सक्षम, इमानदार, भविष्यद्रष्टा तथा ‍ओजस्वी नेतृत्वद्वारा मात्र देश विकास सम्भव छ । अन्यथा समाज अघि अघि नेतृत्व पछि पछि भन्ने भनाइ चरितार्थ हुन्छ र यथास्थितिलाई चिर्दै युग अनुकूलको नयाँ शक्तिको जन्म हुन्छ ।

लेखकको बारेमा
केशव खतिवडा

लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?