

१२ कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले किसानका नाममा हुने राजनीतिले कृषि क्षेत्रलाई बिगारेको बताएका छन् ।
४१ औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री यादवले राजनीतिक पार्टी पिच्छेका किसान संगठन खोलिनु कृषि हितका लागि नभएको धारणा राखे ।
‘राजनीतिक पार्टी पिच्छेका किसान संगठन खोलिनु हुन्न, किसानको एउटै महासंघको हुनुपर्छ, त्यसो भयो भने किसानको काम गर्न पनि सजिलो हुन्छ, किसानमुखी कार्यक्रम पनि प्रभावकारी हुन्छन्’ मन्त्री यादवले भने । मन्त्री यादवले किसानको समृद्धिविना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने धारणा राखे ।
सरकारले बेमौसीमा वर्षाका कारण प्रभावित किसानको लागि पाँच अर्ब रुपैयाँ बढीको राहत प्याकेज घोषणा गरेको भन्दै उनले भने, ‘मन्त्रालयको दायित्व भनेकै किसानलाई समृद्ध बनाउने हो, जसका लागि मन्त्रालय लागिरहेको छ ।’ यादवले किसानलाई सरकारले उपलव्ध गराउँदै आएको अनुदान तथा सहुलियतका कार्यक्रमबाट पहुँचवाला किसानमात्रै लाभान्वित भएको भन्दै अनुदान सहयोग सम्वन्धित किसानकै बैंक खातामा जम्मा हुनु व्यवस्था आफूले गर्ने बाचा पनि गरे । अहिले सरकार किसानका लागि घोषणा गरेको राहत प्याकेजलाई पारदर्शी रुपमा वितरण गर्ने गरी कार्यविधि निर्माणको काम भइरहेको जानकारी पनि उनले गराए ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्दै मन्त्रालयले ऐन बनाएरै अनुदान कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउन लागेको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले कृषि क्षेत्रको विकासका लागि कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गरिनुपर्ने बताए ।
यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले उत्पादन वृद्धिका साथै समानुपातिक वितरणमा पनि जोड दिए ।
एक खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले टालटुले नीतिले कृषि क्षेत्रले गति लिन नसक्ने भन्दै कृषिमा आमुल परिवर्तन आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित