+
+
परिकार :

वाह वाचिप्पा : कति स्वादिलो किराती सितन

नुनुता राई नुनुता राई
२०७८ कात्तिक १३ गते १९:०१

आधुनिक समयसँगै मौलिक खानाको लोकप्रियता पनि बढ्दो छ । बढ्दो लोकप्रियतासँगै स्थानीय मौलिक खानाको बजारीकरण पनि बढिरहेको छ । त्यहीमध्येको एक स्थानीय मौलिक किरात परिकार हो वाचिप्पा । किरात समुदायको भान्सामा पाक्ने परम्परागत परिकार वाचिप्पाको लोकप्रियता बढ्दै गइरहेको छ ।

वाचिप्पा भनेको वा र चिप्पा मिलेर बनेको शब्द हो । किरात बान्तावा राई भाषामा ‘वा’ भनेको कुखुरा र ‘चिप्पा’ भनेको कालो अर्थात् कुखुरा मारेर पोल्दा मसिनो भुत्लाबाट निस्कने कालो अंश भन्ने बुझिन्छ । चाडपर्वमा घरमा खान विशेषगरी पाहुनाको सत्कारको लागि पकाइने परिकार हो वाचिप्पा ।

हल्का तितो तर स्वादिलो हुने वाचिप्पा किरातीहरूको विशेष मौलिक खाना हो । वाचिप्पा कुखुराको मसिनो भुत्ला डढाएर निकालिने धूलोमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टा मिलाएर पकाइन्छ । त्यसमा चामल राखेर पकाउने अथवा पाकेको भात मिसाइन्छ । आवश्यकता अनुसार नून, खोर्सानी, तेल र मसला प्रयोग गर्न सकिन्छ । मसलामा अदुवा, लसुन, जिरा-मसला मात्रै प्रयोग गरिन्छ । वाचिप्पा बनाउनको लागि लोकल कुखुरा नै आवश्यक पर्छ ।

वाचिप्पाले शरीर दुखेको निको पार्ने, थकान मेट्ने, चिसो लाग्न नदिने, खाना पचाउने जस्ता औषधीय गुण हुने विश्वास किरात समुदायमा रहेको पाइन्छ

किरातहरूको माङ (पितृ पूजा) गर्दा, उधौली, उभौलीमा कुखुराको बलि चढाउने प्रचलन हुन्छ । त्यसैले माङ गर्दा, उधौली, उभौली जस्ता चाडपर्वको अवसरमा किरातीका घरमा अनिवार्य वाचिप्पा पाक्छ । किरातीको बाहुल्य रहेको पूर्वका भोजपुर, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ लगायत जिल्लामा वाचिप्पा पकाउने चलन छ ।

यसबारे किरात समुदायमा विभिन्न मान्यता रहिआएको पाइन्छ । वाचिप्पाले शरीर दुखेको निको पार्ने, थकान मेट्ने, चिसो लाग्न नदिने, खाना पचाउने जस्ता औषधीय गुण हुने विश्वास किरात समुदायमा रहेको पाइन्छ ।

किराती समुदायमा वाचिप्पाबारे परम्परागत मान्यता रहेको संस्कृतिविद् तीर्थराज मुकारुङ बताउँछन् । उनी भन्छन्, ‘वाचिप्पा खाँदा स्वादिलो बनाउने त छँदैछ यसले खाना पचाउँछ भन्ने मान्यता पनि छ । तर यसको वैज्ञानिक कारण कति सत्य छ भन्ने चाहिं अध्ययन नै गर्नुपर्ला ।’

वाचिप्पाको औषधीय गुण पनि छ भन्ने मान्यताले असार, साउनमा धेरै काम गरिने भएकोले शरीर दुखाइ कम गर्न, स्फुर्ति जागृत गराउन खाने प्रचलन किरात समुदायमा छ ।
कसरी किरात समुदायको मात्रै विशेष परिकार हुन गयो अथवा खान थालियो भन्ने इतिहास नभए पनि किरातीहरू कृषि युुगमा प्रवेश गरेपछि वाचिप्पा चलनमा आएको हुनसक्ने संस्कृतिविद्को अनुमान छ ।

खाना संस्कारको एउटा अंश भएकोले किरात समुदायमा सितनको रूपमा खाइने वाचिप्पा संस्कारसँग पनि जोडिएको हुनसक्ने संस्कृति अध्येता चन्ऽकुमार हतुवालीको भनाइ छ । उनी यो चलन कहिलेदेखि अथवा कसरी संस्कारसँग जोडियो भन्ने इतिहासबारे अनभिज्ञ रहे पनि संस्कारसँग जोडिएको हो भन्न सकिने बताउँछन् । उनी भन्छन्, ‘यसको विस्तृत इतिहासबारे अध्ययन गरेको छैन । तर कतिपय ठाउँमा माङ पुज्दा वाचिप्पा बनाएर चढाउने चलन छ । त्यसैले संस्कारसँग जोडिएको छ भन्न सकिन्छ ।’ खानपान संस्कारकै एउटा अंश भए पनि कसरी शुरुआत भयो र किन मिसाएर खान थालियो भन्ने कोणबाट अध्ययन गर्न बाँकी रहेकोले यसै भन्न नसकिने उनको भनाइ छ ।

किराती समुदायका कतिपयले माङ गर्दा वाचिप्पा पकाएर तीन चुलामा चढाउने परम्परा छ । त्यसैले वाचिप्पालाई पनि किरात संस्कारसँग जोडिएको मान्न सकिने उनको दाबी छ ।

वाचिप्पा संस्कारसँग जोडिएको कुरामा विश्वास गर्दैनन् लेखक राजन मुकारुङ । उनी भन्छन् ‘यो संस्कारसँग जोडिएको भन्दा पनि नितान्त खानेकुरा मात्रै हो । माङ -पितृ) लाई मुटु, कलेजो, खुट्टा, पखेटा, टाउको चढाउँछौं । त्यही क्रममा भुत्ला डढाएर निकालिएको कालो धूलो पनि मिसाएर चाख्दा स्वादिलो भएर शुरु भाको होला ।’

विशेष अवसरमा अथवा पाहुना सत्कारका लागि पकाइने आजभोलि व्यावसायिक स्वाद बन्दै गइरहेको वाचिप्पासँग किराती संस्कार नजोडिएको बताउँछन् संस्कृति अध्येता भोगीराज चाम्लिङ । उनी भन्छन्, ‘संस्कारमा वाचिप्पा जोडिंदैन । यो हाम्रो परम्परागत मौलिक परिकार मात्रै हो । संस्कार गर्दा आउने पाहुनाको लागि सम्मानजनक परिकार हो ।’

पूर्वी पहाडका किरातीहरूले खाने चलन भए पनि स्वाद थाहा पाएका गैरकिरातहरू पनि वाचिप्पाको स्वाद लिन आउने गरेको व्यवसायी मन्जु सोताङ बताउँछिन् ।

ललितपुरको तिखीदेवलमा द यलाखाम रेस्टुरेन्ट संचालक मन्जुका अनुसार फरक स्वादका पारखी गैरकिरातहरूमा वाचिप्पा रोजाइको परिकार बनेको छ । उनी भन्छिन्, ‘किरात समुदायको लागि त पहिलो रोजाइ हो वाचिप्पा तर गैर किरातहरूको लागि भने नयाँ स्वाद लिन चाहनेको लागि फरक स्वाद हो । कतिपयको लागि स्वादिष्ट परिकार हो ।’

कतै जाँदा स्थान विशेष मौलिक खाना खोजिए जस्तै किरात भाषी नाम जोडिएका रेस्टुरेन्टहरूमा वाचिप्पा खोजिने कारण भाषासँग जोडेर खोलिएका अधिकांश रेस्टुरेन्टमा वाचिप्पा परिकार अनिवार्य राखिने गरेको मन्जुको बुझाइ छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?