+
+
सन्दर्भ : डा. प्रल्हाद योन्जन स्मृति दिवस :

जटिल समस्याको एउटा सरल समाधान- साइकल लेन

भूषण तुलाधर भूषण तुलाधर
२०७८ कात्तिक १४ गते १३:१३
फाइल तस्वीर

आज अक्टोबर ३१ तारिख । १० वर्षअघि अक्टोबर ३१ तारिखकै दिन नेपालका प्रख्यात संरक्षणविद् डा. प्रल्हाद योन्जन बित्नुभएको थियो । प्रल्हाद योन्जन एक प्रतिभाशाली अनुसन्धानकर्ता र धेरै युवाको प्रेरणाका स्रोत समेत थिए । तर त्योभन्दा पनि महत्वपूर्ण कुरा उनी आफूले जे भन्थे त्यो गर्थे । उनले वातावरण संरक्षणको अध्ययन अनुसन्धान मात्र गरेनन् आफ्नो जीवनशैली नै वातावरणमैत्री बनाए । सीतापाइलास्थित आफ्नो घरबाट सानेपास्थित आफ्नो अफिससम्म आउन–जान उनी सधैं साइकल नै प्रयोग गर्थे । १० वर्षअघि अक्टोबर ३१ को दिन पनि उनी अफिसबाट घरतिर जाँदैथिए । तर उनी घर कहिल्यै पुगेनन् । बल्खुनिर रिंगरोडमा ट्रकले ठक्कर दिएर उनको ज्यान गयो ।

रिंगरोडमा साइकल चलाउन सुरक्षित छैन र यहाँ साइकल लेन चाहिन्छ भनेर धेरै अभियन्ताहरूले वर्षौंदेखि अवाज उठाइरहेका छन् । कतिले त यसको नामकरण पनि गरेका छन् – प्रल्हाद योन्जन साइकल लेन । यससम्बन्धी धेरै अन्तरक्रिया कार्यक्रमहरू भइसके । केही अध्ययनहरू पनि भए । युवा साइकल अभियानकर्ताहरूले डा. प्रल्हाद योन्जन बित्नुभएको ठाउँमा रहेको पर्खालमा उहाँको म्युरलहरू बनाए । करीब १०० मिटर जति लामो एउटा मोडेल साइकल लेन समेत बनाए । तर रिंगरोडमा साइकल लेन अहिलेसम्म पनि बनेको छैन ।

कति सरकारी कर्मचारीहरूले रिंगरोडमा साइकल लेन बनाउनुपर्छ भन्छन् । तर बनाउन कोही अगाडि बढ्दैनन् । कोही बढिहाले पनि काम गर्न दिंदैनन् । अहिले ललितपुरका मेयरले आफ्नो शहरभित्र पर्ने रिंगरोडमा मात्रै भए पनि साइकल लेन बनाउँछु भनेर कम्मर कसेर लागेका छन्, महानगरपालिकाको वार्षिक कार्यक्रममा समेत राखेका छन् । तर सडक विभागले बनाउन दिएको छैन ।

उनले वातावरण संरक्षणको अध्ययन अनुसन्धान मात्र गरेनन् आफ्नो जीवनशैली नै वातावरणमैत्री बनाए । १० वर्षअघि अक्टोबर ३१ को दिन पनि उनी सधैं झैं अफिसबाट घरतिर जाँदैथिए । तर उनी घर पुग्न पाएनन् । बल्खुनिर रिंगरोडमा ट्रकले ठक्कर दिएर उनको ज्यान गयो ।

त्यसो त सडक विभागकै तत्कालीन महानिर्देशकले सही गरेको नेपाल सरकार र रिंगरोड विस्तार गर्ने चिनियाँ कम्पनी शांघाई कन्स्ट्रक्सन ग्रुपबीच १८ जनवरी २०१२ मा भएको सम्झौतामा रिंगरोडको दुवैतिर साइकल लेन बनाउने भनेको छ । तर सम्झौतामा उल्लेख गरिए अनुसारको साइकल लेन कहिल्यै बनेन । कोटेश्वर कलंकीबीचको दुई लेनको रिंगरोडलाई ८ लेनमा विस्तार गर्दा सबै ८ लेन गाडीलाई नै सुम्पियो । फुटपाथलाई समेत पुग्दो ठाउँ छैन । कति ठाउँमा त फुटपाथ नै छैन । साइकल लेन त झन् कतै छैन । फलस्वरूप अहिले रिंगरोड काठमाडौंकै सबैभन्दा डरलाग्दो सडक बनेको छ ।

म रिंगरोड पारि कीर्तिपुर ट्यांगलाफाँटमा बस्ने गर्छु । केही वर्ष अघिसम्म पनि म घरबाट ललितपुरस्थित मेरो अफिस जान र अफिसबाट घर फर्कन साइकल नै प्रयोग गर्थें । तर नयाँ ८ लेनको रिंगरोड बनेपछि साइकल चढ्न निकै कम भएको छ । असुरक्षित महसूस गर्छु । डर लाग्छ । झन् छोराछोरीहरूलाई रिंगरोडमा साइकल चढ्न दिने कुरै भएन ।

अहिले फेरि कलंकीदेखि महाराजगंज खण्डको रिंगरोड विस्तार गर्ने कुरा उठिरहेको छ । पत्रपत्रिकामा खबर आए अनुसार सरकारले चिनियाँ पक्षलाई डिजाइन पठाउन र काम शुरु गर्न अनुरोध गरेको छ । भन्नुको अर्थ सरकारलाई समेत थाहा छैन आफ्नो चक्रपथ अथवा हाम्रो चक्रपथ कस्तो बन्दैछ ।

हो, डिजाइन प्राविधिकहरूले बनाउँछन् । तर सडक विभाग पनि त प्राविधिकहरूले भरिएको निकाय हो । उसले भन्न सक्थ्यो र भन्नुपर्थ्यो- हामीलाई सुरक्षित र वातावरणमैत्री चक्रपथ चाहिन्छ भनेर । मलाई लाग्दैन चीनले पनि चाहन्छ कि आफूले बनाएको सडकमा धेरै जना मानिसहरूको ज्यान जाओस् भनेर । चक्रपथको पहिलो खण्डमा भएको भूल सुधार्न उसलाई पनि इच्छा होला । चीनका सडकहरूमा पनि साइकल लेन बनेका छन् ।

सरकारले चाह्यो र आँट गर्‍यो भने, चीन सरकारसँग वार्ता र समन्वय गरेर अहिले विस्तार गरिने चक्रपथमा साइकल लेन राख्न सक्छ । चौडा फुटपाथ राख्न सक्छ । विद्युतीय बसको लागि छुट्टै लेन राख्न सक्छ । सरकारकै लगानी बोर्डले अहिल्यै पनि चक्रपथमा विद्युतीय बससहितको द्रुत मार्ग अथवा इलेक्ट्रिक बस र्‍यापिड ट्रान्सिट (ई–बीआरटी) बनाउन अध्ययन गर्दैछ । तर अहिले चक्रपथ डिजाइन गर्ने क्रममै यसलाई पनि समावेश नगरे पछि गाह्रो हुन सक्छ । चक्रपथमा चौडा फुटपाथ, साइकल लेन र (ई–बीआरटी) राख्न सके यसलाई एउटा सुन्दर, सुरक्षित र वातावरणमैत्री सडकको रूपमा विकास गर्न सक्छ सरकारले चाह्यो भने ।

अक्टोबर ३१ तारिखकै दिन संयुक्त अधिराज्यको ग्लास्गो शहरमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रहरूको २६औं सम्मेलन (कोप–२६) को बैठक पनि शुरु हुँदैछ । यो बैठकमा भाग लिन नेपालबाट प्रधानमन्त्रीकै नेतृत्वमा ठूलै टोली जाँदैछ । प्रधानमन्त्रीले त्यहाँ आफ्नो भाषण दिनुहुन्छ । शायद नेपालको तर्फबाट अन्य राष्ट्रहरूलाई आ-आफ्नो उत्सर्जन घटाउन अपील गर्नु हुन्छ । जलवायु परिवर्तनको परिणामसँग जुध्न सहयोग माग्नुहुन्छ र जलवायु संकटले पुर्‍याएको हाम्रो जस्तो देशमा पुर्‍याएको हानिनोक्सानीको मुद्दा उठाउनुहुन्छ ।

यो सबै ठीकै छ । तर एउटा औंला अरुतर्फ तेर्स्याउँदा तीनवटा औंला त आफैंतर्फ फर्किरहेका हुन्छन् । जलवायु परिवर्तन सम्बन्धी हामी आफैंले के गरिरहेका छौं त भनी प्रश्न गरिरहेका हुन्छन् ।

हो, जलवायु परिवर्तन विषय निकै पेचिलो र जलवायु संकट निकै चुनौतीपूर्ण छ । तर यो समस्या जति कठिन छ यसका समाधान पनि त्यति नै कठिन हुनुपर्छ भन्ने केही छैन । हाम्रो कतिपय समस्याहरूको समाधान हाम्रै सामु छ र यसमा काम गर्ने नै हो भने त्यति कठिन पनि छैन । त्यस्तै एउटा समाधानको सरल उपाय हो– साइकल ।

अहिले संयुक्त अधिराज्यमा कोप–२६ हुन लाग्दा त्यहाँका साइकल अभियन्ताहरूले पनि यो मुद्दा उठाइरहेका छन् । उनीहरू भनिरहेका छन् – यदि अहिले गाडी चढ्ने युरोपेलीहरूले गाडीको साटो दिनको ५ किलोमिटर मात्रै साइकल चढे भने युरोपले आफूले घटाउने भनेको उत्सर्जनको लक्ष्यको ५० प्रतिशत हासिल गर्न सक्छ । किनभने गाडी चलाउनुको साटो करीब ४ किलोमिटर अथवा करीब २० मिनेट साइकल यात्रा गर्दा १.१ केजी कार्बनडाइअक्साइड घटाउन सक्छ । यसको तुलनामा एक व्यक्तिले नवीकरणीय ऊर्जा प्रयोग गरे अथवा आफ्नो घरमा इन्सुलेसन थपे यसको करीब आधा मात्र उत्सर्जन घटाउने हो ।

युरोपेलीहरूको लागि साइकल एउटा जलवायु परिवर्तनको समस्याको समाधान होला । तर हाम्रो लागि कार्बन उत्सर्जन घटाउन मात्र होइन हाम्रो आफ्नै जनताको स्वास्थ्य र हाम्रो अर्थतन्त्रको स्वास्थ्यको लागि यो आवश्यक छ । अहिले काठमाडौंको औसत वायु प्रदूषणको स्तर हेर्ने हो भने विश्व स्वास्थ्य संघले तोकेको मापदण्ड भन्दा करीब १० गुणा बढी छ । र, विभिन्न अध्ययनहरूले देखाएको छ वायु प्रदूषणको कारण नेपालमा वर्षेनि करीब ४२ हजारको ज्यान जाने गर्छ ।

विश्व स्वास्थ्य संघले आफ्नो नयाँ प्रतिवेदन ‘द हेल्थ आर्गुमेन्ट फर क्लाइमेट चेन्ज’ मा भनेको छ- ‘स्वस्थ खाना, स्वच्छ हावा र साइकलले रोग र जलवायु परिवर्तन दुवै कम गर्न सहयोग गर्छ ।’

 

यसैगरी हाम्रो व्यापार घाटाको प्रमुख कारण पनि तीव्र गतिमा बढ्दै गैरहेको तेलको आयात हो । हाम्रो सम्पूर्ण निर्यातबाट प्राप्त हुने रकम भन्दा दुई गुणा बढी पैसा हामी पेट्रोलियम आयातमा खर्च गर्दैछौं । त्यसैले वायु प्रदूषण र व्यापार घाटा दुवै घटाउन पनि प्रदूषणरहित यातायातको आवश्यक छ । साइकल एउटा जटिल समस्याको एक सरल समाधान हुन सक्छ ।

यति मात्र होइन साइकल त एक सामाजिक न्यायको एउटा सूचक पनि हो । बोगोटा शहरका पूर्व मेयर एन्रिके पेनालोसाले भनेका थिए- ‘शहरमा साइकल लेन हुनु भनेको ३० डलरको साइकल चढ्ने र ३० हजार डलरको गाडी चढ्ने नागरिक समान हुन् भनेर देखाउने एउटा सशक्त सूचक हो ।’

प्रधानमन्त्रीज्यू र उहाँको भ्रमण टोलीका सम्पूर्ण सदस्यज्यूहरूलाई मेरो विनम्र अनुरोध छ– ग्लास्गोमा नेपालको तर्फबाट जलवायु संकटका मुद्दा उठाउनुस्, छलफल गर्नुस् । तर यसको साथै ग्लास्गो शहरमा भएका ३०० किलोमिटर भन्दा लामो साइकल लेन नेटवर्क पनि अनुभव गर्नुस् र नेपाल फर्केपछि चीन सरकारसँग वार्ता गरेर रिंगरोडलाई सुरक्षित र वातावरणमैत्री बनाउनुस् ।

जलवायु संकट सम्बन्धी अरु धेरै काम गर्न सकिन्छ र गर्नुपर्छ । तर कम्तीमा तुरुन्त गर्न सकिने, सरकारको एक पैसा पनि खर्च नहुने, धेरैलाई फाइदा हुनसक्ने र अर्कोपल्ट विदेश जाँदा वा विदेशबाट कोही पाहुना नेपाल आउँदा फूर्ति साथ देखाउन सक्ने यो एउटा काम गरिदिनुहोला । बिन्ती छ- रिंगरोडलाई विद्युतीय द्रुत बस प्रणाली, चौडा फुटपाथ र प्रल्हाद योन्जन साइकल लेन सहितको एउटा सुन्दर, सुरक्षित र वातावरणमैत्री सडक बनाउन चिनियाँ पक्षलाई अनुरोध गर्नुहोला । यति गर्न सके शायद स्वर्गीय प्रल्हाद योन्जनको आत्माले पनि केही शान्ति पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?