
२ असार, काठमाडाैं । सुर्खेतका भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण हुन् ।
लेकवेशी र भेरीगंगा नगरपालिकाका दुई सय ४७ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो । पूर्जा वितरण कार्यक्रममा उपसभापति खड्काले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भूमि सम्बन्धी सबै समस्याको समाधानका लागि छिटै भूमि विधेयक पारित गर्ने गरी छलफल चलिरहेको बताए ।
उनले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिए ।
उपसभापति खड्काले जनतामा निराशा भन्दा पनि जिम्मेवारीमा रहेकाहरूसँग असन्तुष्टि रहेको बताए । उनले मत माग्दा भ्रमित हुने गरेर घोषणापत्र बनाउने र पछि सो अनुसार काम नगर्ने चलनका कारण मतदाता रिसाउने गरेको बताए ।
उनले राजनीतिक प्रतिष्पर्धाका नाममा एकले अर्कालाई हिलो छ्याप्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताए ।
‘जिम्मेवारीमा रहेका केन्द्रदेखि टोलसम्मका हामीहरूले मतदाता किन असन्तुष्ट छन् भन्ने कुराको ख्याल गर्न जरुरी छ,’ उनले भने, ‘कतै हाम्रो बोली व्यवहारका कारणले मतदातामा असन्तुष्टि बढेको हो कि भन्ने पनि ख्याल गरौँ ।’
उपसभापति खड्काले अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे ।
प्रतिक्रिया 4