+
+

कलाकारको कुकुरप्रेम, अनमोल भन्छन्- कुकरले गर्ने स्वागतले सबै टेन्सन हट्छ

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ कात्तिक १७ गते १३:२५

नेपाली चलचित्रमा कुकुरको अभिनय नौलो होइन । उसो त एक दशक अगाडिका चलचित्रमा जसरी जनावरलाई पनि अभिनय गराइन्थ्यो, त्यो शैली अहिले खासै भेटिँदैन । तर, फाट्टफुट्ट केही चलचित्रमा भने अझै पनि जनावरको अभिनय हेर्न पाइन्छ ।

चलचित्रमा जनावरसँग अभिनय गर्न नपाएपनि कलाकारहरुले व्यक्तिगत जीवनमा भने जनावरसँगको सामिप्यतालाई मजबुत बनाएका छन् । नेपाली चलचित्रका धेरै कलाकार कुकुरप्रेमी छन् । घरमा कुकुर पाल्ने, कुकुरलाई प्रेम गर्ने कलाकारहरुको संख्या धेरै छ ।

बुधबार कुकुर तिहारको अवसरमा केही कुकुरप्रेमी कलाकारको बारेमा चर्चा गर्दैछौं ।

अनमोल केसी

नायक अनमोल केसी बच्चैदेखि कुकुरप्रेमी हुन् । नायक भुवन केसीले पनि कुकुर निक्कै मन पराउने भएकाले अनमोलले घरकै कुकुरसँग थुप्रै समय बिताए । उनको घरमा पालेका केही कुकुर मरे भने केही कुकर घर परिवर्तन गर्दा आफन्तलाई दिनुपर्‍यो । तर, अनमोलले कलाकार भइसकेपछि ‘कोको’ नामको कुकर पाल्न थालेका छन् । साढे दुई वर्षदेखि कोको अनमोलको साथी भएर बसेको छ । अनमोलले कोको जोडीको रुपमा अर्को एउटा कुकुर पनि पालेका थिए । तर, कोकोसँग जोडी नजमेपछि उनले फिर्ता गरिदिए ।

बुधबार कुकुर तिहारको दिनमा बिहानै पूजा गरेको अनमोलले बताए । उनले भने, ‘मैले बिहान उठ्ने बित्तिकै उसलाई सपिङ लिएर गएँ । उसको मन पर्ने खाना किनेर ल्याएपछि नुहाइदिएँ । यसपछि, माला लगाउने, टीका लगाउने गरें । उसलाई मनपर्ने खाना खुवाएँ ।’

अनमोलको कुकुरप्रतिको प्रेम यति धेरै किन होला ? उनी भन्छन्, ‘कुकुरहरुले आफ्नो मास्टर्सलाई विना स्वार्थ माया गर्छन् । विश्वमा कुनै प्राणीले निस्वार्थ भावमा मानिसलाई माया गर्छ भने त्यो कुकुर नै हो । उसो त, मानिसहरु बाघ, सिंहजस्ता जनावर पनि पाल्छन् । तर, त्यो दुर्लभ कुरा भयो । कुकुरले मानिसको मुड फ्रेस नै गराइदिन्छ । एकदमै थकित भएर घर फर्किंदा पनि कुकरले गर्ने स्वागतले सबै टेन्सन हट्छ ।’

अनमोलले कोकोलाई लिएर हवाइजहाजको यात्रा समेत गरेका छन् । पोखरामा कुकरसँग विमानमा गएका अनमोलले ‘बाघी ३’ नामक बलिउड चलचित्र पनि हलमा कुकरसँगै हेरेका थिए ।

आफ्नै घरमा पालेको कुकुर मर्दा निक्कै दुःख लाग्ने अनमोल बताउँछन् । उनले भने, ‘मैले त आफ्नै हातले कुकुर गाडेको पनि छु । कुकुर त आफ्नै परिवारजस्तो हुन्छ । उनीहरुको आयु भनेको नै १० देखि १५ वर्ष त हो ।’

कुकुर बोल्न नसक्ने र झगडा नगर्ने खालको हुने भएकाले पनि उनीहरु निस्वार्थ हुने अनमोलको अनुभव छ । आफूले पालेको कुकुरलाई मासिक १० देखि १५ हजार रुपैयाँसम्म खर्च गर्ने गरेको अनमोलले बताए । ‘हुन त घरकै खाना खुवाएर पनि कुकुरलाई हुर्काउन सकिन्छ । तर, कुकुरकै खाना खुवाउँदा, लुगा किनिदिँदा खर्च हुन्छ,’ उनले भने ।

अनमोल कोकोलाई आफ्नो नजिकको साथी मान्छन् । कोकोले चलचित्र ‘ए मेरो हजुर ४’ र एनसेलको विज्ञापनमा अभिनय गरेको छ । कुकुरलाई अभिनय गराउँदाको क्षण सम्झदै अनमोल भन्छन्, ‘मैले आफैंले उसलाई तालिम दिएको हो । मैले भनेको बाहेक अरुले भनेको उसले मान्दैन । यसैले म उसको व्यक्तिगत टेक केयर जस्तो भएर चलचित्रमा काम गरें । जे होस्, उसले राम्रो काम गरेको छ ।’

पूजा शर्मा

नायिका पूजा शर्मा पनि कुकुरप्रेमी हुन् । उनले सानैदेखि कुकुर पाल्न थालेकी हुन् । अहिलेसम्म चारवटा कुकुर फेरेको पूजाले बताइन् ।  अहिले उनले पालेको ‘रोन’ नामको कुकुर साढे दुई वर्षअघि ल्याएकी हुन् । यो वर्ष पूजाको तिहारमा टीका नभएकाले पनि रोनको उनले कुकुर तिहारको दिन पूजा गरिनन् ।

पूजा भन्छिन्, ‘रोन हामीजस्तै छ । उसलाई भनेको चिज चाहिन्छ, मेरै खाटमा बस्नुपर्ने, अरुले भनेको नटेर्ने, म भनेपछि भुतुक्कै हुने, अरुलाई खासै नगन्ने खालको छ । मैले बच्चैमा ४५ हजारमा रोनलाई किनेको हुँ ।’

रोनले पूजासँग चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा अभिनय गरेको छ । चितवनसम्म कारमा यात्रा पनि गरेको छ । पूजा आफू टाढा हुँदा रोनलाई निक्कै ‘मिस’ गर्ने बताउँछिन् । भन्छिन्, ‘म रोन बिरामी हुँदा निक्कै  चिन्तित हुन्छु । जतिबेला म ऊसँग टाढा हुन्छु, ऊ बिरामी हुन्छ । टाढा भएको समयमा उसलाई भिडियो कलमा हेर्छु । निक्कै याद आउँछ ।’

घरमा पूजा र उनकी आमा मात्र बस्छन् । यसैले पनि पूजाका लागि रोन एक्लोपनको साथी भएको छ । उनले भनिन्, ‘बाहिरबाट काम गरेर फर्किएपछिको थकान रोनले बिर्साइदिन्छ । राति पनि मसँगै सुत्छ । म रोनसँग कुरा गर्छु । उसले मेरो कुरा सुन्छ । मेरो मनका खुशी र व्यथाहरु सुनाउँदा उसले सबै बुझ्छ जस्तो लाग्छ ।’

पूजा मान्छेलाई विश्वास गर्न नसकिने, तर कुकुर बफादार हुने बताउँछिन् । कुकुरले उसको मालिकका लागि मरिमेट्ने पूजाको बुझाइ छ । पूजाका लागि रोन ‘भाइ, छोरो’ सबैथोक हो । उनी कैयौंपटक रोन बिरामी हुँदा ऊसँगै रोएकी छन् ।

नम्रता सापकोटा

नायिका नम्रता सापकोटाको कुकुर प्रेम पनि गज्जबको छ । उनीसँग ‘सेतु र मिल्का’ नाम गरेका दुईवटा कुकुर छन् । कुकुर तिहारको अवसरमा उनी मंगलबार बेलुकी सपिङ गर्न पुगिन् । उनीहरुका लागि लुगा, खानेकुरा, बोल्ट किनेको नम्रताले बताइन् । आज बिहान कुकुरहरुलाई नुहाइदिएर, पूजा गरेर उनले उनीहरुको मनपर्ने परिकार खान दिइन् । आजको दिनमा बाहिरका कुकुर पनि उनको घरमा आउने गर्छन् । नम्रताले सबैलाई आजको दिन जे खान मन लाग्छ त्यही दिने गरेको बताइन् ।

नम्रतासँग ‘मिल्का’ सात वर्षदेखि सँगै छ । ‘मिल्का’भन्दा अगाडि उनीसँगै रहेको कुकुर मर्‍यो । यसपछि उनले ‘मिल्का’लाई घर ल्याएकी हुन् । ‘सेतु’ भने उनको पछि लगेर घरसम्म आएको हो । नम्रता सम्झिन्छिन्, ‘पहिलो लकडाउनको समयमा सेतु बाटोमा एक्लै थियो । मलाई देखेपछि ऊ मेरो घरसम्म पछि लागेर आयो । मलाई नै रोजेर ऊ आएकाले मैले उसलाई घरमै राखें ।’

नम्रता कुकुर कहिलेकाहीं बिरामी हुँदा निक्कै गाह्रो हुने सुनाउँछिन् । सात वर्ष अगाडि आफूले पालेको कुकुर बिरामी भएर मर्दा सहन नै गाह्रो भएको उनले बताइन् ।

उनले कुकुरका लागि मासिक रुपमा हुने खर्चको हिसाब नगरेको बताइन् । ‘उनीहरु मेरो घरको सदस्य हुन् । उनीहरुले खाएको हिसाबकिताब किन राख्नु ?’ उनले भनिन् ।

नम्रताले कुकुरलाई मामाघर बुटवलसम्म पनि लिएर गएकी छन् । मिल्का त केही चलचित्र र भिडियोको छायांकनसम्म पनि पुगेको छ । नम्रताको परिवार नै कुकुरप्रेमी हुन् । उनी भन्छिन, ‘कुकुरमा कुनै पनि स्वार्थ हुँदैन । उनीहरु मालिकप्रति बफादार हुन्छन् । घरमा बच्चाजस्तो, भाइबहिनीजस्तो व्यवहार उनीहरु देखाउँछन् । म कुकुरलाई खोरमा पनि राख्दिनँ । उनीहरु घरमा कतिबेला कहाँ पुग्छन् थाहा नै हुँदैन ।’

नम्रता बिरामी भएको, उनी थकित भएको मिल्का र सेतुले सहजै थाहा पाउँछन् । ‘मलाई गाह्रो भएको छ भने उनीहरुले महसुस गरिसक्छन् । म कतैबाट आउँदैछु भने उनीहरुले माहोल नै फरक पारिदिन्छन्,’ नम्रताले सुनाइन् ।

वर्षा सिवाकोटी

नायिका वर्षा सिवाकोटीले ‘डुकु’लाई पाल्न थालेको दुई वर्ष भयो । तर, उनको कुकुरसँगको अनुभव भने केही खल्लो छ । संयुक्त परिवारमा बस्दा वर्षाका हजुरबुबा र हजुरआमा कुकुरलाई खासै मन पराउँदैनथे । यसैले उनलाई घरमा कुकुर टिकाउन नै गाह्रो भयो । उनी, उनकी आमा र दाइ भने कुकुरप्रेमी थिए । तर, कुकुरकै कारणले उनीहरुको घरमा विभाजन समेत आयो । कुकुरको विषयमा शुरु भएको झगडाले पछि ठूलो रुप लियो र उनीहरु अलग भए । उक्त कुकुरलाई माथिल्लो तलाबाट फ्याँकिदिने, पानी छ्यापिदिने गर्दा रिसाहा बन्न पुग्यो । यसपछि उनले आफन्तहरुलाई त्यो कुकुर दिइन् ।

अलग घरमा बस्न थालेपछि वर्षाले १७ हजारमा नयाँ कुकुर ल्याइन् । सानैमा किनेका कारण पनि डुकुको वर्षाले बच्चालाई जस्तै स्याहार गरेकी छन् । उनले भनिन्, ‘कुकुरले कुनै पनि कुरा भन्न सक्दैन । सबै हामीले नै बुझ्नुपर्छ । उसलाई भोक लागेको, खाने बेला भएको, पेट दुखेको कुरा बुझ्नपर्छ ।’

डुकु घरमा कोही मानिस आउँदा निक्कै खुशी हुन्छ । अझ छोरा मान्छे आउँदा बढी खुशी हुने वर्षाको भनाइ ५ । वर्षाले पनि डुकुका लागि छुट्टै खानेकुरा खुवाउने गरेकी छन् । ६/६ महिनामा खोप पनि लगाइदिन्छिन् ।

कुकुर भएपछि घरमा आउन मन लाग्ने, कुकुरसँग नै खेल्न मन लाग्ने हुने वर्षाको अनुभव छ । वर्षाले कुकुरको भाषा समेत बुझ्छिन् । डुकुले नयाँ मानिस घरमा आउँदा हेरेर नै व्यवहार देखाउने गर्छ । कुकुरले परिवारलाई जोडेर राख्ने वर्षाको बुझाइ छ । हिजोआज उनलाई कसैले कुकुरभन्दा पनि रिस उठ्न थालेको छ ।

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?