
१७ कात्तिक, गुल्मी । जिल्लाको मदाने गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव गरिएको छ ।
मदाने युवा क्लवको १२ औं बार्षिकोत्सवको अवसरमा गाउँपालिकाको सहयोगमा प्याराग्लाइडिङ महोत्सव गरिएको हो । गाउँपालिकामा प्याराग्लाइडिङको प्रचार–प्रसार र प्रवद्र्धनका लागि १ हप्ते प्याराग्लाइडिङ महोत्सव गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।
गाउँपालिकाको वडानम्बर–२ बाँझकटेरीको थामकोटबाट प्याराग्लाइडिङको उडान गरिएको थियो । उक्त ठाउँबाट २ बर्षअघि परीक्षण उडान गरिएको थियो । १२ गतेबाट सुरु भएको महोत्सव १७ गतेसम्म सञ्चालन भएको छ ।
मदानेका साथ साथै छिमेकी जिल्ला पाल्पा, प्युठान, अर्घाखाँचीका पर्यटकसमेत प्याराग्लाइडिङ चढ्न आएका थिए । प्याराग्लाइडिङ उडानको लागि पोखराबाट पाँच जना पाइलट मदानेमा आएका थिए ।
हाल पोखरामा एकपटक प्याराग्लाइडिङमा उडेको ६ हजार ५ शुल्क लाग्नेमा गुल्मीमा २ हजार ५ सयमा प्याराग्लाइडिङ चढ्न पाउनु स्थानीयको लागि अवसर भएको पाइलट भुवन गाहाले बताए ।
यहाँ बाँझकटेरीको थामकोट बाट उडान गरेको प्याराग्लाइडिङ म्यालपोखरीको सेरमा ल्यान्डिङ गरिएको छ ।
मदाने गाउँपालिका–२ का वडाध्यक्ष माधव भुसालले पालिकाको २ लाख ५० हजार र संघीय सरकारको ७ लाख सहयोगमा प्याराग्लाइडिङ सञ्चालन गरेको बताए ।
प्रतिक्रिया 4