+
+

विद्युत मिटरको क्षमता बढाउँदा कुनै शुल्क नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १९:०१

१७ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन (मिटर)को क्षमता बढाउँदा आगामी महिनादेखि शुल्क नलिने भएको छ । प्राधिकरणले अब सिंगल र थ्री–फेज मिटरको क्षमता बढाउँदा शुल्क नलिने भएको हो ।

विद्युत प्राधिकरणले शुल्क नलिने गरी गरेको प्रस्तावलाई विद्युत् नियमन आयोगले स्वीकृत गरिसेकको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार सिंगल फेज मिटरको क्षमता बढाउँदा २०० रुपैयाँ शुल्क लाग्थ्यो । अब भने त्यसलाई निःशुल्क गरिएको छ । त्यसैगरी थ्री फेज मिटरको क्षमता बढाउँदा यसअअघि ५०० रुपैयाँ लाग्थ्यो भने अब कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले मिटरको क्षमता घटाउँदा लाग्ने शुल्क भने बढाएको छ, यसअघि सिंगल फेज मिटरको क्षमता बढाउन सय रुपैयाँ लाग्ने गरेकोमा अब ३ सय रुपैयाँ पुर्‍याइएको छ । थ्री फेज मिटरको क्षमता घटाउँदा ३०० लाग्ने गरेकोमा अब ५०० रुपैयाँ लाग्ने भएको छ ।

‘हामीले ग्राहकले लाइनको क्षमता बढाएर बढी विद्युत उपयोग गर्न चाहेमा त्यसलाई प्रोत्साहित गर्न यस्तो व्यवस्था गरेका हौं,’ उपकार्यकारी निर्देशक सिलवालले भने, ‘एम्पियर अनुसारको मिटरको क्षमता बढाउन ग्राहकले अनुरोध गरेमा हामीले प्राविधिक पठाएर निःशुल्क मिटरको एमसीबी परिवर्तन गर्छौं ।’ स्मार्ट मिटरको हकमा भने प्राधिकरणले कन्ट्रोल रुमबाटै क्षमता बढाइदिनसक्छ ।

‘खपत बढाउनका लागि नै हामीले क्षमता बढाउँदा निःशुल्क सेवा दिने निर्णय गरेका हौं,’ सिलवालले भने, ‘यसले विद्युतीय उपकरणहरु प्रयोग बढेर खपत बढाउन सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’

पछिल्ला समयमा एसी, हिटर, इन्डक्सन, ओभन, फ्रिज जस्ता विद्युतीय उपकरणको प्रयोग बढेको छ । कम क्षमताका लाइनमा यस्ता उपकरणले लोड लिन नसक्ने भएपछि क्षमता बढाउने ग्राहक पनि बढेका छन् ।

‘ग्राहकले लाइनको क्षमता बढाउँदा त्यसलाई सहयोग गर्न पनि आवश्यक देखिएकाले शुल्क नलिने व्यवस्था गरेका हौं,’ सिलवाल भन्छन्, ‘यसले देशभित्र उत्पादित बिजुली देशभित्रै अधिकतम् खपत गराउने योजनामा पनि सहयोग पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment