+
+

कोरोनापछि तंग्रिदैछ धुलिखेलको रिसोर्ट व्यवसाय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २० गते १३:५२

२१ कात्तिक, काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असरका कारण अर्थतन्त्र लगभग दुई वर्ष निकै समस्यामा पर्‍यो । कोरोना संक्रमण विस्तारै कम हुँदै गएपछि यसको बाछिटा अर्थतन्त्रमा अहिले पनि देख्न सकिन्छ । अहिले वित्तीय बजारमा देखिएको तरलता संकट पनि कोरोना असरकै बाछिटाको रुप हो ।

कोरोना महामारीपछि अर्थतन्त्र पुनरुत्थानले गति लिँदा अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै असर परेको पर्यटन क्षेत्र पनि विस्तारै तंग्रिदैछ । अहिले देशभरिका अधिकांश होटल व्यवसाय पनि पूर्ण क्षमतामा चल्न थालेका छन् । काठमाडौं नजिकैका नगरकोट, चन्द्रागिरी, धुलिखेल लगायतका पर्यटकीय क्षेत्रमा पनि आन्तरिक पर्यटकको संख्या वृद्धि भएको छ ।

कोरोनाका कारण लामो समय समस्यामा परेका होटल रिसोर्टहरु अहिले भने पाहुनाको स्वागतमा व्यस्त हुने गरेको धुलिखेलको मिराबल रिसोर्टका म्यानेजर दीपक थापा बताउँछन् ।

‘लामो समय हामी समस्यामा पर्‍यौं, अहिले भने त्यस्तो गाह्रो छैन पाहुनाहरु राम्रै आउन थाल्नु भएको छ,’ थापाले भने । लकडाउन खुला भएपछि तत्कालै व्यवसाय जम्न सकेको थिएन । तर कोरोना संक्रमणको दर घट्दै गएपछि भने धेरै पर्यटह आउने क्रम शुरु भएको उनले बताए ।

भदौ दोस्रो सातादेखि पाहुनाहरुको आवागमन दर निकै बढेको उनले सुनाए । यो दर दशैंपछि झनै बढेको उनको अनुभव छ । थापा अगाडि भन्छन्, ‘शुक्रबार र शनिबार त हाम्रो रिसोर्ट फूलअकुपेन्सीमै चल्यो, त्यो रुपमा म्यानेज गर्न पनि गाह्रो–गाह्रै अवस्था थियो ।’

धुलिखेल इको रिसोर्टका म्यानेजर सन्दीप लुइँटेल पनि कोरोनापछि अहिले भने व्यवसाय राम्रैगरी अगाडि बढिरहेको बताउँछन् । उनको अनुभवमा पनि शुक्रबार र शनिबार भने रिसोर्ट पूर्ण क्षमतामा चलिरहेको छ । धुलिखेल इको रिसोर्ट मनोरञ्जनका लागि पुग्ने आन्तरिक पर्यटक भरपुर मनोरञ्जन गरेर फर्कने गरेको उनले सुनाए ।

रिफ्रेसमेन्ट टूरका लागि मात्रै होइन बैठक, सेमिनार, तालिम गोष्ठी लगायतका लागि पनि धुलिखेल रोजाइको गन्तव्य बन्ने गरेको छ । कुनै कार्यालय, संघसंस्था तथा कोही समूह मिलेर समेत रिफ्रेसमेन्टका लागि धुलिखेल पुग्ने गरेका छन् । धुलिखेलमा बनेको जिपलाइनले पनि आन्तरिक पर्यटक तानेको छ ।

अहिले धुलिखेलका रिसोर्टहरुमा बास बस्न २ हजारदेखि १० हजार रुपैयाँ खर्चनुपर्छ  । ३ हजार रुपैयाँदेखि १५ हजारसम्मका ‘डिनर–बेड–ब्रेक फास्ट’ प्याकेजहरु रिसोर्टहरुले उपलध गराउने गरेका छन् । धुलिखेल इको रिसोर्टमा भने थोरै खर्चमा पुग्ने म्यानेजर लुइँटेल बताउँछन् ।

इकोमा ३ हजार २५० रुपैयाँ तिरे बेड एण्ड ब्रेकफाष्ट र ४ हजार हो भने बेड, ब्रेकफास्ट र डिनर पनि यसमै उपलब्ध हुनेछ । जोडीहरुका लागि आकर्षक प्याकेज उपलब्ध गराउने गरेको उनले बताए । इकोमा ३५ जान क्षमताको सेमिनार हल, ग्रुप रुम, इनडोर तथा आउटडोर गार्डेन, लाइभ बार्बिक्यूका साथै क्याम्पफायरको सेवा सुविधा समेत रहेको छ । खानामा थकाली खाना सेट, बँदेल, लोकल माछा, मटन कसौडी (लोकल खसी) लगायतका परिकारहरु उपलब्ध हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?