
२० कात्तिक, म्याग्दी । बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो ।
३५ लाख रुपैयाँ चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । ‘संस्थाका पदाधिकारी र सदस्यबाट जुटाएको रकमले भवन ठड्याएका हौं,’ उनले भने, ‘हालसम्म सरकारी सहयोग मागेका छैनौं । व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ ।’
झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रंगरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताए ।
नेवार समुदायको अगुवाइमा उक्त सभाहल निर्माण गरिएको हो । सो सभाहल सबैले प्रयोग गर्न पाउने मंकाःखलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । बेनी बजारमा सभा समारोह, भोजभतेर आयोजना गर्दा सभाहलको अभाव भएकाले सामाजिक आवश्यकता महसुस गरी सभाहल बनाएको बेनी नगरपालिका–७ का वडाध्यक्ष समेत रहेका श्रेष्ठको भनाइ छ । बेनीका होटलमा पनि सभाहलको अभाव छ ।
सभाहल निर्माणका लागि स्वर्गीय चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्वर्गीय काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराएको थियो । यसमा थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया 4