+
+

‘आलोचनात्मक चेतसहितको शिक्षा नेपाल विश्वविद्यालयको उद्देश्य’

डा. दोभान राई डा. दोभान राई
२०७८ कात्तिक २२ गते ११:३८

लिवरल आर्टस् भन्ने बित्तिकै धेरै मानिस मानविकी र समाज विज्ञान मात्रै बुझ्छन् तर यो खासमा शिक्षाको अवधारणा हो । जहाँ मानविकी र समाज विज्ञानसँगै प्राकृतिक विज्ञान, गणित, प्रविधि, अर्थ, कृषि, विकास र वातावरण लगायत अन्य धेरै विषय समेटिएको हुन्छ । जसलाई शिक्षाको ‘इन्टरडिसिप्लिनरी एप्रोज’ भनिन्छ ।

औद्योगिकीकरण पश्चातको विश्वमा औपचारिक शिक्षा शुरू भएपछि विश्वविद्यालयहरूले समाजलाई चाहिने आर्थिक उत्पादनकर्ताको निम्ति जनशक्ति उत्पादन गर्नेतिर ध्यान दिए । एउटा समाजको लागि डाक्टर, इन्जिनियर, शिक्षक, वकिल, प्रशासक लगायत जनशक्ति चाहिन्छ । विश्वविद्यालयले पढाइलाई जनशक्तिको उत्पादन गर्ने माध्यमको रूपमा मात्र हेर्‍यो ।

दक्ष जनशक्ति र आर्थिक उत्पादकत्व समाजको आवश्यकता हो । तर हामीले यसरी मात्रै हेर्दा मानिसलाई साँघुरो तरिकाले मात्र हेर्‍यौं । मानिसले आफू र संसारलाई पनि साँघुरो तरिकाले मात्रै हेर्‍यो । मान्छेले शिक्षालाई जीवनयापनको माध्यम मात्र सोच्यो । जीवनयापन गर्नको लागि आर्थिक योगदान गर्ने बाहेक शिक्षाको अरूमा ध्यान गएन ।

बजारको आवश्यकतालाई मात्र नहेरेर जीवन र जगतलाई बृहत् रूपमा बुझाउने फराकिलो सोचको अवधारणा नै लिवरल आर्टस् हो । काम गर्नलाई चाहिने सीप मात्र नभएर समाजमा भएका विभिन्न विषयमा आलोचनात्मक चेत भएको शिक्षा दिनु लिवरल आर्टस्को उद्देश्य हो । मानिसले आफू, अरू र आफू बाँचेको संसारलाई बुझ्ने, समाज परिवर्तनमा मार्गदर्शन गर्ने जनशक्ति अहिले खाँचो छ ।

मानिसले पढेर आफूले बुझेर मात्र भएन, आफूले पढेको अरूलाई बुझाउन सक्ने र अरूले भनेको कुरा पनि बुझ्न सक्नुपर्छ । हामी बदलिंदो विश्वमा बसिरहेका छौं, जलवायु परिवर्तनदेखि लिएर कोभिड-१९ को महामारीले संसारलाई नै सास्ती दिएको छ । विश्वभरिका विभिन्न मानव समुदायहरू जोडिंदै गर्दा समाजमा विभिन्न किसिमका द्वन्द्व पनि बढ्दै गएका छन् । मानिस कसरी सहिष्णु र बदलिंदो विश्वसँग कसरी ‘एडप्ट’ हुने भन्ने कुरा पनि चुनौतीपूर्ण छ ।

समाजमा बसेपछि जागरुक नागरिक हुनुपर्छ । रचनात्मक परिवर्तन ल्याउनको लागि शिक्षाको महत्व धेरै छ । त्यसको परिपूर्ति लिवरल आर्टस्ले गर्छ । जलवायु परिवर्तन र बढ्दो असमानताले अस्तित्व संकट सामना गरिरहेको आजको विश्वमा उत्पादनमुखी समाजबाट सेवामुखी समाजमा रूपान्तरण हुने दृष्टिकोण निर्माण हुनु अहिलेको समयको माग हो । त्यस्ता जनशक्ति उत्पादन शिक्षाले नै गर्छ ।

नेपाल विश्वविद्यालय अभियानमा होमिएका प्राज्ञहरू लिवरल आर्टस्लाई फोकस गरेर पाठ्यक्रम निर्माण गर्न लागिरहेका छौं । किनकि एउटा समुन्नत र स्वस्थ समाजमा असल नागरिक, असल व्यवसायी र असल नेतृत्व आवश्यक हुन्छ । पहिला पहिला एउटा डाक्टरले त्यससँग सम्बन्धित सीप जानेर मात्र हुन्थ्यो, इन्जिनियर तथा अन्य क्षेत्रमा पनि त्यही कुरा लागू भयो ।

अहिले त्यो अवस्था छैन । किनकि जलवायु परिवर्तनको कुरा एउटा व्यवसायीले पनि जान्नुपर्दछ भने किसानले पनि बुझ्नुपर्छ । अहिले कोभिडको कुरा गर्ने हो भने जीव विज्ञानको आधारभूत कुरा डाक्टरले मात्र बुझेर नहुने रहेछ । त्यसैगरी डाक्टरले उपचारको कुरा मात्र नभएर समाजको कुरा पनि बुझ्नुपर्ने रहेछ । एउटा कम्प्युटर साइन्सको विज्ञले कम्प्युटर साइन्स मात्र जानेर नहुने रहेछ । आर्टिफिसियल इन्टिलिजेन्स जस्ता प्रविधिले समाजको अर्थ-राजनीति र मानिसको मनोविज्ञानलाई कसरी परिवर्तन गरिरहेको छ त्यो पनि बुझ्न जरूरी छ ।

अन्य विश्वविद्यालयले गरेका उपलब्धिमूलक प्रयोगको साथसाथै बिराएको बाटो, नेपालमा शिक्षामा आएको समस्या र हामीलाई आउनसक्ने चुनौती जस्ता विषयमा मिहिन ढंगले गहिरो मन्थन गरेर हामीले गर्नुपर्ने कामहरूको पनि योजना बनाइरहेका छौं

एउटा दक्ष व्यवसायी हुनको साथसाथै एक जिम्मेवार नागरिक हुनलाई असल नेतृत्व दिनलाई पनि लिवरल आर्टस् पढ्न जरूरी छ । हामीले तिरेको कर कस्तो काममा खर्च भइरहेको छ ? हामीले हालेको भोट कस्ता मान्छेलाई गइरहेको छ ? हामीले तिरेको कर उपयोग गर्ने मानिसले समाजमा नराम्रो काम या अन्याय पो गरिरहेका छन् कि भनेर बुझ्ने र वस्तुनिष्ठ विश्लेषण गर्न सक्ने जनशक्ति अहिले आवश्यक छ ।

एउटा असल नेतृत्वले समाजमा भइरहेका गतिविधि र परिवर्तनलाई सूक्ष्म रूपले बुझ्न सक्ने र विश्लेषण गर्न सक्ने हुनुपर्छ । असल नेतृत्व भनेर नेतालाई मात्र बुझ्यो भने गलत हुन्छ । एउटा शिक्षकदेखि लिएर किसानसम्मले आ-आˆनो समुदायमा असल नेतृत्व प्रदान गरिरहेको हुन्छ । हरेक व्यक्ति, समाज बिगार्न र बनाउन उत्तिकै जिम्मेवार हुन्छ ।

मुख्यगरी नेपाल विश्वविद्यालयले हामी विश्व अर्थ-व्यवस्थाको निष्त्रिmय उपभोक्ता मात्र हुने हो कि बदलिंदो विश्वलाई नयाँ मार्गदर्शन गर्ने क्रियाशील रचनात्मक कर्ता पनि हुने हो भन्ने कुरालाई बुझाउन खोजेको छ । हामी कसरी नयाँ-नयाँ ज्ञान, प्रविधि, विचार निर्माण गर्न सक्छौं भन्ने कुरामा जोड गरिएको छ ।

नेपाल विश्वविद्यालयले जीवन, जगत बुझेका र समाज परिवर्तनको लागि रचनात्मक सहयोग गर्ने जनशक्ति निर्माण गर्ने परिकल्पना गरेपछि त्यसको आधार के के हुन् भनेर प्रश्नहरू आएका छन् । हाम्रो परिकल्पना आफैंमा आधार हो । किन भने हामीले नेपाललाई काम गर्ने जनशक्ति मात्रै चाहिन्छ भनेर लागेका छैनौं । हामीले नेपाल र विश्वलाई नै नयाँ मार्गदर्शन प्रदान गर्न सक्ने जनशक्ति उत्पादन गर्ने भनेका छौं । नियमित चलेको भन्दा फरक तथा एक कदम माथि उठेर सोच्ने जनशक्ति निर्माण गर्ने सपना नै त्यसको आधार हो ।

त्यसैगरी नेपाल विश्वविद्यालय अभियानमा जोडिएको टिम पनि त्यसको आधार हो । हाम्रो टिम आशा गर्न लायकको छ । प्राध्यापक केदारभक्त माथेमादेखि देवेन्ऽराज पाण्डे, चैतन्य मिश्रदेखि, डा. अर्जुन कार्की, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सहितका नयाँ-नयाँ युवाहरू पनि जोडिनुभएको छ । उहाँहरूले समाजमा पहिलेदेखि नै निष्ठापूर्वक काम गर्दै आउनुभएको छ ।
पुरानो निष्ठावान पुस्ता र ऊर्जावान अनि नेपालमा केही गरौं भन्ने जोश बोकेको युवा पुस्ता छ । अनुभवले खारिएको पुरानो पुस्ता र नयाँ सोचका ऊर्जावान युवाको टीम भएकाले यो टीमले धेरै राम्रो काम गर्न सक्ने आम विश्वास छ ।

त्यसैगरी नेपाल विश्वविद्यालय अभियानमा गैंडाकोटको स्थानीयको अत्यन्तै राम्रो सहयोग र सहकार्य छ । हामीले पनि शुरुआतदेखि नै स्थानीयहरूको भावना बुझेर उहाँहरूसँग संवाद गर्दै काम अघि बढाइरहेका छौं । नेपाल विश्वविद्यालयको काम यहाँसम्म आइपुग्दा उहाँहरू निरन्तर हामीसँग सम्पर्क र सहयोगमा हुनुहुन्छ ।

नेपाल विश्वविद्यालय अरूभन्दा फरक हुन्छ भन्नुको आधार स्वायत्त हुनु पनि हो । राजनीतिक हस्तक्षेप नहुने भन्ने परिकल्पना गरिएकाले स्वतन्त्र मानिसहरूले काम गर्ने हुँदा धेरै आशा गर्न सकिन्छ ।

त्यसैगरी हामीले विश्वविद्यालय निर्माण गर्न अपनाइएको प्रक्रिया पनि विश्वास गर्ने आधार हो । हामीले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राध्यापकहरूसँग छलफल गरिरहेका छौं । विश्वविद्यालयको अवधारणा निर्माण गर्दा कुनै विदेशी विश्वविद्यालयको हुबहु नक्कल गर्ने अथवा मौलिक हुने नाममा कसैको कुरा नै नसुन्ने भनेका पनि छैनौं ।

विषयवस्तु छनोट गर्ने, पाठ्यक्रम निर्माण गर्नुका साथै समावेशी संस्कृति निर्माण गर्ने जस्ता विविध कुरासम्म हामी बृहत् छलफल गरिरहेका छौं। अन्य विश्वविद्यालयले गरेका उपलब्धिमूलक प्रयोगको साथसाथै बिराएको बाटो, नेपालमा शिक्षामा आएको समस्या र हामीलाई आउनसक्ने चुनौती जस्ता विषयमा मिहिन ढंगले गहिरो मन्थन गरेर हामीले गर्नुपर्ने कामहरूको पनि योजना बनाइरहेका छौं । विश्वविद्यालय निर्माणमा यो प्रक्रिया अपनाइएकाले पनि भविष्यमा आउनसक्ने अप्ठ्यारा र गर्नुपर्ने कामको विषयमा सचेत छौं ।

लिवरल आर्टस् कलेजहरूको इतिहास हेर्ने हो भने धेरै सन्दर्भमा सामाजिक अभियन्ताहरूले शुरू गरेको देखिन्छ । आर्थिक असमानता, जातिवाद, लिंगभेद जस्ता विविध सामाजिक समस्याबाट गुज्रेको अमेरिकामा समाजको सोच र कार्यविधि परिवर्तन गर्नको निम्ति यस्ता विश्वविद्यालयहरू खोलिएका थिए ।

त्यहाँ कामको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कलेजहरू धेरै थिए तर समाजमा दक्ष जनशक्ति मात्र भएर नहुने रहेछ । समाजमा समृद्धि भयो तर त्यहाँ शान्ति, न्याय र सहिष्णुता भएन भने समुन्नतिले मात्र केही हुन्न । यो कुरा बुझेर अमेरिकामा लिवरल आर्टस् कलेजहरू खोलिएका थिए ।

लिवरल आर्टस् पढेका मानिसले के-कस्ता क्षेत्रमा रोजगार पाउँछन् भन्ने विषयमा पनि धेरै मानिसलाई अन्योल छ । एउटा ठूलो मानिसको समूहमा यो विषयलाई लिएर सबै विषयको कुरा जान्दछ तर काम केही जान्दैन भन्ने गलत धारणा रहेछ ।

लिवरल आर्टस् अन्तर्गत ‘इन्टरडिसिप्लिनरी’ विधामा विद्यार्थीले विविध विषय पढ्छन् तर उसले कुनै एक वा दुई विधालाई विशेष प्राथमिकताका साथ पढ्दछ । राजनीतिशास्त्रलाई प्राथमिकता बनाएको विद्यार्थीले राजनीतिशास्त्र अन्तर्गत धेरै विषय पढ्दछ भने कम्प्युटर विज्ञानलाई प्राथमिकता बनाएको विद्यार्थीले यही विधाका विषय पढ्दछ ।

तर लिवरल आर्टस् अन्तर्गत अध्ययन गर्ने सबैले विभिन्न विधाका आधारभूत विषयहरू पढ्दछन् । राजनीतिशास्त्र विधाको विद्यार्थीले कम्प्युटर विज्ञानको आधारभूत ज्ञान राख्दछ र कम्प्युटर विज्ञान विधाको विद्यार्थीले राजनीतिशास्त्रको आधारभूत ज्ञान राख्दछ । यसले उनीहरूमा विधागत र विषयगत कुशलता र दक्षताको साथै फराकिलो बुझाइ तथा रचनात्मक र समाधानमूलक सोचको विकास हुन्छ ।

लिवरल आर्टस् पढ्ने मानिसमा विविध विषयमा क्रिटिकल्ली हेरेर विश्लेषण गर्ने क्षमता भएकाले हरेक क्षेत्रमा यस्ता जनशक्तिको माग हुन्छ । जुनसुकै क्षेत्रमा काम गर्ने मानिस भएतापनि उसले समाज र त्यसका समस्या बुझ्न र विश्लेषण गर्न सक्नुपर्छ । झन्झन् जटिल हुँदै गइरहेको हाम्रा समस्याको दिगो समाधानको निम्ति हामीलाई बृहत् बुझाइसँगको समग्र चेतना, रचनात्मक सोचाइ र सामाजिक प्रतिबद्धता सहितको नयाँ पुस्ता चाहिन्छ । लिवरल आर्टस् त्यो पुस्ता निर्माणको निर्णायक माध्यम हुन सक्दछ ।

(अमेरिकाको वुस्टर पोलिटेक्निक इन्ष्टिच्युटबाट कम्प्युटर साइन्समा विद्यावारिधि डा.दोभान राईसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित । नेपाल विश्वविद्यालय निर्माण अभियानमा होमिएकी डा. राई हाल ग्लोबल इन्ष्टिटच्युट अफ इन्टरडिसिप्लिनरी स्टडिजमा अनुसन्धानको काम गर्छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?