+
+

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठको प्रस्ताव : राजदूतका लागि साझा सूची बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १३:००

२१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतका लागि साझा सूची बनाउने प्रस्ताव अघि सारेका छन् ।

सरकारले नयाँ राजदूत नियुक्त गर्ने तयारी गरिरहेका बेला पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले कम्तीमा केही राजदूत पार्टीको भागवण्डा भन्दा छुट्टै साझा सूचीबाट बनाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्रीले तीन जना राजदूत नियुक्त गरिसकेको भन्दै उनले भनेका छन्, ‘अब बाँकी राजदूतहरु नियुक्तिको सम्बन्धमा मेरो अनुरोध छ, कम्तीमा पनि केही संख्या पार्टीहरुको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान ब्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ ।’

उनले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भनेका छन् । यसबारे आफूले सत्तारुढ दलहरुको बैठकमै असहमति राखेको उल्लेख गर्दै श्रेष्ठले भनेका छन्, संविधान, कानून र लोकतान्त्रिक मुल्यमान्यता विपरीत नियुक्ति गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनुपर्छ, सबैलाई एकमुष्ट रुपमा होइन ।’

अन्यथा हरेक सरकारले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ता बोलाउने परम्परा बस्ने उनको तर्क छ । पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन ।’

शीर्ष नेताहरुले यो मत ठीक भएको, तर निर्णय भइकेकाले अब छलफल नगरौं भनेको श्रेष्ठले उल्लेख गरेका छन् । देउवा सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ता बोलाएका थिए । त्यसमध्ये अमेरिका, भारत र बेलायतका लागि नयाँ राजदूत सिफारिस भएको छ भने अरु पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?