
उपमेयर कप महिला राष्ट्रिय लिग छनोट : कन्काई र रोङ क्वार्टरफाइनलमा


२२ कात्तिक, काठमाडौं । झापाको कन्काई नगरपालिका र इलामको रोङ गाउँपालिका उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबारदेखि सुरु भएको नकआउट चरण अन्तर्गत पहिलो खेलमा कन्काईले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउट ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सुटआउटबाट लिइएको थियो । कन्काईले अब क्वार्टरफाइनलमा कैलालीको गोदावरी नगरपालिकासंग खेल्नेछ ।
यस्तै सोमबारै भएको दोस्रो खेलमा रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ ले पराजित गर्दै क्वार्टरफाइनल स्थान बनाएको हो । रोङको जितमा मिडफिल्डर इन्दिरा राईले ह्याट्रिक गरिन् भने अनिता राईले एक गोल गरिन् । तुलसीपुरका लागि ममता पुन मगरले एक गोल फर्काइन् ।
रोङले अब कैलालीको गौरिगंगा नगरपालिकासंग खेल्नेछ । छनोट प्रतियोगितामा मंगलबारदेखि क्वार्टरफाइनल चरणको खेल सुरु हुनेछ ।
मंगलबार पहिलो क्वार्टरफाइनलमा झापाको शिवशताक्षी नगरपालिकाले ललितपुर महानगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल बर्दियाको बाँसगढी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकाबीच हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित