निर्माता तथा कलाकार दीपकराज गिरीले बलिउड चलचित्र ‘सूर्यवंशी’ हेरेपछि अरुलाई पनि यो चलचित्र हेर्न आग्रह गरे । उनले विदेशी चलचित्र भएपनि यस्तो बेलामा दर्शकलाई हलसम्म ल्याउन सहयोग गरेको भन्दै सबैले हेरेर साथ दिन आग्रह गरे ।
दीपकले सामाजिक सञ्जालमा यो स्टाटस र तस्वीर पोष्ट गरेपछि धेरैले उनको आलोचना गरे । नेपाली चलचित्र ‘मेकर’ भएर विदेशी चलचित्रको समर्थन गर्ने भन्दै उनको आलोचना भयो ।
तर, दीपकले भने आफूले विदेशी चलचित्रको प्रमोसन नगरेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘यो सबै फुर्सदिला मानिसहरुको काम हो । हिजो मैले नेपाली चलचित्रले ठाउँ पाएन, हलबाट विदेशीको जस्तो माया पाएन भनेर एक्लै घाँटी सुक्ने गरी कराउँदा कसैले धन्यवाद पनि दिएन । आज एउटा विदेशी चलचित्रले हलमा भीडभाड बढाएको समयमा फोटो राख्दा कसैले आलोचना गर्छ भने त्यसबाट पनि उनीहरुको सोच थाहा हुन्छ ।’
दीपकले आफूलाई आलोचना गर्ने केही मानिसहरुले हिन्दी चलचित्रको कथा कपी गरेर चलचित्र बनाउने गरेको समेत दाबी गरे । कसैको पनि नाम उल्लेख नगरी उनले भने, ‘केही मानिसहरु उतैबाट चलचित्रको नाम र कथा कपी गरेर चलचित्र बनाउँछन् । अनि त्यही मान्छेहरु आज मलाई हिन्दी चलचित्रको समर्थन गर्यो भनेर गाली गर्छन् । जसको चलचित्रको नाम नै हिन्दीको छ, अन्तर्वार्तामा पनि गर्वका साथ हिन्दीबाटै कपी गरेको हुँ भन्छन् । उनीहरुले कुन आधारमा मलाई गाली गर्छन् खै ?’
दीपकले एउटा सामान्य दर्शक भएर चलचित्र हेरेर अब नेपाली चलचित्र पनि रिलिज हुनुपर्छ भन्दा विदेशी चलचित्रको प्रमोसन गर्यो भनेर कसैले भन्छ भने त्यसले आफूलाई कुनै फरक नपर्ने बताए । ‘म आलोचना गर्नेहरुको कुरा सुनेर आनन्द लिइरहेको छु । कोही भुक्दैमा आफ्नो कर्म छाड्नु हुँदैन,’ उनले भने ।
दीपकले आफूलाई कसैले पनि नेपाली चलचित्रको श्रीवृद्धिका लागि काम गर भनेर भनिराख्न आवश्यक नभएको पनि बताए । उनले अगाडि भने, ‘यस्ता मान्छेहरुको पछि लाग्यो भने आफ्नै उर्जा कम हुन्छ । आफूले ध्यान दिएर काम गर्नुपर्छ ।’
उनले सुतेको मानिसलाई उठाउन सजिलो भएपनि सुतेको नाटक गर्नेलाई उठाउन गाह्रो हुने भन्दै केही चलचित्रकर्मीले अहिले यस्तै नाटक गरिरहेको आरोप लगाए ।
‘मैले हिन्दी चलचित्र हेर्न नै हुँदैन भनेर कहिले भनेको छु र ? मौलिक चलचित्र बनाउने, राम्रो चलचित्र बनाउने निर्मातालाई यस्ता कुरामा वास्ता हुँदैन । मैले नेपाली चलचित्रलाई कसरी समर्थन गरेको छु भन्ने जान्न मेरा स्टाटस, मैले बनाएका चलचित्र हेर्दा भइहाल्यो नि ?’
आफूले नेपाली चलचित्रको विषयमा बोल्दा चलचित्र भवनहरुले आफ्नो चलचित्रलाई चपेटामा पारेको भन्दै दीपकले त्यसबेला आफूलाई साथ दिने कोही नभएको गुनासो समेत गरे ।
‘सूर्यवंशी’ हेर्न दर्शक आएका छन् भनेर भन्दा त्यसले नेपाली चलचित्रलाई नै फाइदा पुग्ने दीपकको बुझाइ छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4