+
+

जनगणना गर्दा तपाईंलाई के–के सोधिन्छ ?

अच्युत पुरी अच्युत पुरी
२०७८ कात्तिक २५ गते १९:१५
Photo Credit : RSS
राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्यांक सङ्कलन गरेर राष्ट्रिय जनगणना-२०७८ को शुभारम्भ गर्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ ।

२५ कात्तिक, काठमाडौं । बिहीबार देशभर राष्ट्रिय जनगणनाको मूल काम शुरु भएको छ र ४० हजार गणक प्रश्नहरुको सूची बोकेर घरघरमा पुग्न थालेका छन् ।

जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाइसराइको दर लगायतका तथ्यांक संकलन गरिन्छ ।

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म यही प्रश्नावली लिएर गणकहरु तपाईंको घरमा आउनेछन् । जनगणनाका लागि सोधिएको प्रश्नावली भर्न गणकलाई औसत २० मिनेट लाग्ने केन्द्रीय तथ्यांक विभागको भनाइ छ । कुनै परिवारमा १० मिनेटमै सकिने र कुनै परिवारमा ३० मिनेटसम्म लाग्ने अनुमान गरेर औसतमा २० मिनेट समय लाग्ने भनिएको छ ।

जनगणनाका लागि ८७ वटा जिल्ला जनगणना कार्यालय र ३४९ वटा जनगणना कार्यालय स्थापना गरिएको छ । धेरै जनसंख्या भएका जिल्लामा एक भन्दा बढी कार्यालय राखिएका छन् ।

काठमाडौंमा ५, झापा, मोरङ, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीमा २/२ वटा कार्यालय स्थापना गरिएका छन् ।

एक जना गणकले दैनिक १२ वटा घरमा जनगणना सक्ने अनुमान गरिएको छ । १५ दिनको अवधिमा एक जना गणकले औसतः १७५ परिवारको गणना गर्नेछन् ।

प्रश्नावलीमा के-के छन् ?

पारिवारिक खण्ड

गणकले परिवारको मुलीको नाम, गाउँ/टोल र सम्पर्क नम्बर माग्ने छन् । घरको स्वामित्व, जग र घर निर्माणको सामग्री, छाना र भुइँमा ओच्छ्याइएको सामग्रीको विवरण पनि संकलन गर्नेछन् । घरमा भएका विद्युतीय उपकरण, सवारी साधन तथा महिलाका नाममा घर–जग्गा भए–नभएको बारेमा पनि गणकहरुले सोध्नेछन् ।

त्यस्तै पछिल्लो एक वर्षमा मृत्यु भएका परिवारको सदस्यको विवरण, मृत्युको कारणसम्बन्धी प्रश्न पनि प्रश्नावलीमा राखिएको छ । दुर्घटना, सरुवा रोग, नसर्ने रोग, प्रजनन तथा प्रसूति समस्या, आत्महत्या, प्राकृतिक प्रकोप वा अन्य के कारणले मृत्यु भएको हो भन्ने विवरण जनगणनाका क्रममा संकलन गरिनेछ ।

घरमा खानेपानीको सुविधा, खाना पकाउन प्रयोग गरिने इन्धन, शौचालयको किसिमबारे पनि गणकहरुले जानकारी माग गर्नेछन् । परिवारको पेशा, कृषि वा उद्योग व्यापार के छ भन्ने विवरण पनि जनगणनाका क्रममा संकलन गरिन्छ । उद्योग वा व्यवसाय महिला वा पुरुष कसको स्वामित्वमा छ भन्ने विवरण पनि खोजिन्छ ।

व्यक्तिगत खण्ड

यस खण्डमा गणकले परिवारका सबै सदस्यको विवरण टिप्नेछन् । परिवारमा अक्सर बसोबास गर्ने व्यक्तिको नाम र थर, घरमुलीसँग उनीहरुको सम्बन्ध, जन्ममिति र उमेर, ५ वर्ष भन्दा कम उमेरका बालबालिकाको जन्म दर्ता भए–नभएको पनि टिपोट हुनेछ । जात–जाति र पूर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्म, नागरिकता कुन मुलुकको छ र विवाहित वा अविवाहित के हो भन्ने बारेको विवरण समेत यो खण्डमा संकलन गरिन्छ ।

विवाह गरेकाहरुलाई कति वर्षमा विवाह गरेको, विवाहपछि विधुर/विधवा भएको वा पारपाचुके भएको अवस्थाबारेको प्रश्नसमेत प्रश्नावलीमा समेटिएको छ ।

परिवारका सदस्यमध्ये घरमा नबस्ने (स्वदेश र विदेश) व्यक्ति, उनीहरु बसोबास गर्ने ठाउँको विवरण पनि जनगणनाका क्रममा संकलन गरिन्छ । विदेश गएका महिला वा पुरुष, विदेश जाँदाको उमेर, शैक्षिक योग्यता, गन्तव्य देश, विदेश गएको समय र जानुको कारण पनि गणकहरुले सोधीखोजी गर्नेछन् ।

जनगणनाका क्रममा पढ्न, लेख्न जानेको वा नजानेको, विद्यालय गएको वा नगएको, पढेको भए कुन स्तरसम्म पढेको र अध्ययनको विषय पनि संकलन गरिन्छ ।

प्रजनन् सम्बन्धी विवरण

प्रजनन् सम्बन्धी विवरण संकलन गर्दा परिवार भित्रका १५ देखि ४९ वर्षभित्रका महिलाहरुको विवरण संकलन गर्नेछ । उनीहरुले हालसम्म जन्माएका जीवित बच्चा, छोरा वा छोरी, जन्माएका बच्चामध्ये कति जनाको मृत्यु भयो र पछिल्लो एक वर्षमा जन्मिएका बच्चाको विवरण पनि गणकहरुले माग्नेछन् ।

यो खण्डमा १८ वर्ष भन्दा मुनिका बालबालिका बाब, आमा, वा नातेदार कोसँग बसेका छन् भन्ने विवरणको साथमा अपांगतासम्बन्धी विवरण पनि संकलन गरिन्छ ।

आर्थिक क्रियाकलापसम्बन्धी विवरण

जनगणनाको प्रश्नावलीमा रहेको आर्थिक विवरणसम्बन्धी खण्डबाट व्यक्तिको मुख्य काम के हो भन्ने विवरण संकलन गरिन्छ । काम गर्ने ठाउँ वा संस्थाको नाम र त्यसले गर्ने वस्तु तथा सेवाको उत्पादनको विवरण पनि गणकहरुले खोज्नेछन् । अरुको काम गर्ने हो वा रोजगारदाता, आफ्नै काम गर्ने वा परिवारलाई सघाउने मात्र हो भन्नेबारे विवरण टिपोट गरिन्छ ।सरकारी, वित्तीय संस्था, गैरवित्तीय, नाफा नकमाउने संस्था र घरायसी कस्तो संस्थामा काम गर्ने भन्नेबारे पनि खुलाउनुपर्छ । बेरोजगार र काम खोज्दा पनि नपाएको अवस्था भए त्यसबारेमा पनि उल्लेख गर्नुपर्छ ।

किन महत्वपूर्ण छ जनगणना ?

नेपालजस्तो देशमा जनगणना यस्तो अभियान हो, जसबाट समग्र तथ्यांक संकलन गरिन्छ । त्यो पनि हरेक घर र परिवारमै पुगेर । राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल भन्छन्, ‘भोलि टोल, वडा, गाउँको विकास गर्न कति बजेट चाहिन्छ भन्ने तथ्यांक यसै जनगणनामा आधारित भएर तयार हुन्छ ।’ यस्तो तथ्यांक आगामी १० वर्षसम्म निरन्तर प्रयोग गरिनेछ ।
संघ, प्रदेश र स्थानीय तहमा स्रोतको बाँडफाँट गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय हस्तान्तरणको सूत्र बनाउँदा २०६८ सालको जनसंख्यालाई आधार मान्ने गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा समानुपातिक रुपमा स्रोतको वितरण गर्नुपर्ने माग उठिरहेका बेला सबैभन्दा तल्लो तहबाट आउने यकिन तथ्यांकले जनसंख्याका आधारमा समानुपातिक ढंगले स्रोत बाँडफाँट गर्न सहज बनाउँछ ।

गोपनीयता हुन्छ कि हुन्न ?

जनगणनाका क्रममा गणकहरुलाई सहयोग गर्न सरकारले आग्रह गरेको छ । गणकले सोधेका प्रश्नको उत्तर गोप्य रहने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ बताउँछन् ।
जनगणनाका क्रममा घरमुली र गणकबीचको कुराकानी तेस्रो व्यक्तिले सुन्न पाउने छैन । यसरी संकलन भएको सबै तथ्यांक व्यक्तिगत प्रयोजन, सम्पत्तिको स्रोतको सोधीखोजी वा अन्य मुद्दा–मामिलाको प्रयोजनमा तथ्यांक विभागले कसैलाई पनि दिन पाउँदैन ।

अर्थात् व्यक्तिगत विवरण र जानकारीको तथ्यांकको दुरुपयोग भएमा विभागमाथि कानुनी कारबाही अघि बढाउन मिल्छ । महानिर्देशक श्रेष्ठ भन्छन्, ‘जनगणनामा भाग दिनु हरेक नागरिकको कर्तव्य हो, आज यथार्थ बतायो भने भविष्यमा राज्यसँग सुविधा र सहुलियत माग गर्न पनि सहज हुन्छ ।’

यथार्थ तथ्यांक आउला ?

जनगणनाका क्रममा घरमुलीले यथार्थ विवरण नदिने हो कि भन्ने डर तथ्यांक विभागलाई छ । परिवारबारे यथार्थ बताउन इन्कार गर्ने, घरमुलीलाई सबै विवरण थाहा नहुने समस्या देखिन सक्ने विभागको अनुमान छ ।

त्यसैले सञ्चार माध्यममार्फत जनचेतना जगाउने विभागले बताएको छ । यस वर्ष गणकको रुपमा कक्षा १२ पास गरेका स्थानीय युवालाई नै खटाइएको छ । त्यसैले गणकसँग घरमुलीले कुराकानी गर्ने र यथार्थ विवरण दिने विभागका अधिकारीहरु दावी गर्छन् ।

काठमाडौंमा ट्याबबाट तथ्यांक संकलन

जनगणनाका क्रममा यस वर्ष काठमाडौंमा विद्युतीय उपकरणको प्रयोग गरी तथ्यांक संलकन गरिने भएको छ । जसका लागि २२५० वटा ट्याबलेट प्रयोग गरिँदैछ । अन्य जिल्लामा भने गणकले हातले नै कागजमा तथ्यांक टिपोट गर्ने भएका छन् ।

ट्यावलेट प्रयोग गरिएको जिल्लाको तथ्यांक सिधै विद्युतीय प्रणालीमा संकलन हुनेछ । हातले टिपोट गरेको तथ्यांकलाई भने पुनः कम्प्युटर प्रणालीमा उतार्नुपर्छ । विदेशस्थित नेपाली कुटनीतिक नियोग (राजदूतावास, महावाणिज्य दूतावास र स्थानीय नियोग)मा विद्युतीय जनगणनाको विधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी र आश्रित व्यक्तिको विवरण संकलन हुने भएको छ ।

विदेशमा रहेका नेपालीबारेको विवरण भने नेपालमा रहेका परिवारका सदस्यले नै टिपाउनुपर्ने छ । नेपालमा परिवारको एक जना पनि सदस्य नरही सबै विदेशमा रहेका परिवार भने नेपालमा छुट्नेछन् ।

‘उहाँहरुको गणना सोही मुलुकले गर्छ,’ महानिर्देशक श्रेष्ठ भन्छन्, ‘नेपालको जनगणना, विश्व जनगणना कै एक अंश हो ।’ अर्थातः नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकको गणनासमेत यस दौरान हुनेछ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?