२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको बन्दी प्रत्यक्षीकरण बाहेकका इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच फाटो आएको छ ।
पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ती न्यायाधीशले बताए ।
‘हामीले आज स्पष्ट रुपमा तपाईंहरुको छलफलमा भोलिदेखि आउन सक्दैनौं । लामो समयदेखिको यो निर्णयहीनता हाम्रा लागि स्वीकार्य भएन भनेर स्पष्ट रुपमा भनिदियौं’ सर्वोच्च अदालतका पाँच असन्तुष्टमध्ये एक न्यायाधीशले भने, ‘भोलि उहाँहरुसँगको छलफलमा जादैनौं । बन्दी प्रत्यक्षीकरणको निवेदन सुन्छौं ।’
असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुगेका न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ छन् ।
पाँचमध्येका अर्का न्यायाधीशका अनुसार, त्यो विषय अरु असन्तुष्ट न्यायाधीशहरुलाई जानकारी गराउने भनिएपनि न्यायाधीश सपना प्रधान मल्लको जन्मदिन परेकाले केक काट्ने कार्यक्रम भएकाले थप कुरा हुन पाएन । उनले भने, ‘अरु मुद्दाको सुनुवाइ के गर्ने भन्नेवारेमा हामी भोली विहान फेरि छलफल गछौं ।’
ती न्यायाधीशका अनुसार, बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न कुनै समस्या छैन । साथै दुवै पक्षका कानून व्यवसायीहरु सहभागी भएमा अरु मुद्दावारे विचार गर्न सकिने उनले बताए । तर कानून व्यवसायीहरुले आन्दोलन जारी राखे र बहस पैरवीमा आएनन् भने बन्दीप्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाइमा सामेल हुनेछन् । ती न्यायाधीशले भने, ‘अलमलमा लामो समय भयो, अब यसरी थप समय व्यतित गर्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’
सर्वोच्च अदालतको अर्को स्रोतले पाँच जना न्यायाधीश समूहगत छलफलबाट अलग भएको घोषणाप्रति आश्चर्य प्रकट गरेको छ । ‘उहाँहरु साँझ चार बजेसम्म हामीहरुसँग नै हुनुहुन्थ्यो । भोलि विहान फेरि सबैजना छलफलमा जुट्ने कुरा भएको हो’ स्रोतले भन्यो, ‘सर्वोच्चबाट हिँड्ने क्रममा बाटोमै मनस्थिति बदलिएको भए थाहा भएन । नत्र त भोलि फेरि एकसाथ छलफलमा जुट्ने सहमति भएको हो ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4