+
+

मलाई प्रायः नयाँ मेकरले नै फिल्म अफर गर्नुहुन्छ : वर्षा सिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १६:४१

३० कात्तिक, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी दुई वर्षपछि चलचित्र क्षेत्र फेरि चलायमान हुन थालेकोमा उत्साहित छिन् । कोरोना महामारीका कारण दुई वर्षसम्म चलचित्रमा काम गर्न नपाउँदा निराश रहेकी वर्षा अब भने चलचित्र बनाउने विषयमा उत्साह देख्दा खुशी लागेको बताउँछिन् ।

चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदै जाँदा वर्षालाई पनि चलचित्रको अफर आइरहेको छ । वर्षा भन्छिन्, ‘अहिले जता जाँदा पनि चलचित्र बनाउने विषयमा नै कुरा भएको पाउँदा खुशी लाग्छ । मलाई नयाँ मेकरहरुले नै बढी अफर गर्नुभएको छ । शायद, मेरो काम देखेर र विवादमा खासै नपरेका कारणले पनि हुनसक्छ ।’

नयाँ निर्माताहरुबाट चलचित्रको छायांकनको क्रममा गर्ने सम्मान पनि राम्रो हुने उनको अनुभव छ । ‘यसैले पनि म आफूलाई कथा मन परेको खण्डमा ब्यानर नहेरी काम गर्न राजी हुन्छु,’ उनी भन्छिन् ।

वर्षाले अभिनय गरेका चारवटा चलचित्र रिलिज हुने क्रममा छन् । ‘लक्का जवान, परदेशी २, मनसँग मन, ए साथी सुन’ चलचित्रको रिलिजको पर्खाइमा रहेकी वर्षा आफूलाई पहिलेदेखि नै व्यावसायिक चलचित्रमा खासै मन नगएको सुनाउँछिन् । ‘व्यावसायिक चलचित्रले फाइदा धेरै नगरेपनि घाटा पनि नहोला भन्ने सोचले मैले काम गरें । तर, मलाई आफ्नो अभिनय देखाउन पाइने चलचित्रमा नै बढी काम गर्न मन लाग्छ,’ उनी भन्छिन् ।

वर्षाले आफ्ना रिलिज हुन लागेका चार चलचित्रमध्ये ‘परदेशी २’बाट बढी आशा राखेको बताइन् । ‘यो चलचित्रमा मेरो लामो भूमिका छैन,’ वर्षा भन्छिन्, ‘तर, जति भूमिका छ त्यसलाई दर्शकले लामो समयसम्म सम्झनुहुन्छ । जसरी पशुपति प्रसादमा छोटो भूमिका गर्दा पनि दर्शकले सम्झिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?