+
+

निर्माण सकिनुपर्ने बेला द्रुतमार्गमा १६ प्रतिशत मात्रै काम

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक ३० गते १८:४२

३० कात्तिक, काठमाडौं । शुरुको लक्ष्यअनुसार काम भएको भए काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को गत भदौ मसान्तमा उद्घाटन हुन्थ्यो । तर, निर्माण सकिएर सञ्चालन भइसक्नुपर्ने द्रुतमार्गमा करिब १६.१८ प्रतिशत मात्रै काम सकिएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार गत असोज मसान्तसम्म द्रुतमार्गमा १६.१० प्रतिशत काम सकिएको थियो । अब आर्थिक वर्ष २०८१/८२ को अन्त्य (२०८२ को असार)सम्ममा काम सक्ने नयाँ लक्ष्य लिइएको सहायक रथी पौडेलले बताए ।

सेनाले शुरुबाटै लक्ष्यअनुसार काम गर्न सकेन । शुरुमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभएका कारण अल्झिएको आयोजना पछि सुरुङमार्ग निर्माणबारे गर्नुपर्ने बोलपत्र लगायत प्रक्रियामा अलमलियो । अन्य खण्डमा पनि बेलैमा ठेक्का लगाउनेतर्फ सेनाले ध्यान नदिँदा आयोजना सुस्त गतिमा अघि बढेको छ ।

४ वर्षमा निर्माण सक्ने लक्ष्यका साथ ०७४ जेठमा शिलान्यास भएपनि समयमै अध्ययन र ठेक्का दिन नसक्दा द्रुतमार्ग पनि अन्य आयोजनाहरु जस्तै ढिलाइको दलदलमा फस्न पुगेको छ ।

डीपीआर बिनै निर्माण थालिएको भन्दै विज्ञहरुबाट आलोचना हुँदा सेनाले एसियाली विकास बैंक (एडीबी)ले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनका आधारमा काम गर्दा फरक नपर्ने तर्क गरेको थियो । निर्माणमा ढिलाइ भएपछि भने डीपीआर बनाउन समय लाग्दा समस्या भएको बताएको छ ।

७ प्याकेजमा ठेक्का लगाउनै बाँकी

सेनाले ११ वटा प्याकेज बनाएर द्रुतमार्ग बनाइरहेको छ । प्रवक्ता पौडेलका अनुसार अझै पनि ७ वटा प्याकेजमा ठेक्का आह्वान गर्नै बाँकी छ ।

सेनाले ती प्याकेजमा रुख र माटो कटान तथा पुर्ने काम सकेपनि निर्माण ठेक्का लगाउने कागजपत्र तयार गरिसकेको छैन । प्रस्तावित प्रस्थान बिन्दु खोकनामा मुआब्जा विवाद सुल्झिसकेको छैन ।

सेनाले जग्गा अधिग्रहणदेखि सर्भे तथा डिजाइन, सडक निर्माण, सुरुङमार्ग निर्माण, पुल निर्माण र एक्सप्रेस–वे निर्माण लगायतका कुनै पनि काममा शतप्रतिशत प्रगति हासिल गरेको छैन ।

आयोजनाले अध्ययनसहित रुख काट्ने, ढुंगा–माटोको कटिङ, फिलिङ, मेसिनरी स्ट्रक्चर, रिटेनिङ वाल र बक्स कल्भर्ट बनाउने, ग्याबिन भर्ने लगायत काममै चार वर्ष बिताएको छ ।

प्रवक्ता पौडेल भने सबै प्याकेजको ठेक्का लगाएर २०८२ असारसम्म काम सक्ने आधार तयार भइसकेको दाबी गर्छन् । ‘ठेक्का आह्वान हुन बाँकी प्याकेजका लागि अन्तर्राष्ट्रिय परामर्शदातामार्फत बिड डकुमेन्ट तयार गरिरहेका छौं,’ उनी भन्छन्, ‘यो काम सकिएलगत्तै बाँकी प्याकेजको पनि ठेक्का प्रक्रियामा अघि बढ्छ ।’

सुरुङसहित अरु तीन प्याकेजमा ठेक्का

सेनाले सुरुङमार्ग बनाउने प्याकेजलाई दुई भाग लगाएर अध्ययनको काम गरिरहेको छ । दुई चिनियाँ कम्पनीले मंसिर मसान्तसम्म सुरुङमार्गको डिजाइन तयार गरेर दिने सेनाको दावी छ ।

सुरुङको अध्ययनसहित निर्माणका लागि चीनको पोली च्याङ्दा इञ्जिनियरिङ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले २०७८ जेठबाट काम गरिरहेका छन् । प्रवक्ता पौडेल ती कम्पनीले जिओफिजिकल र जिओटेक्निकल अध्ययन गरिरहेको बताउँछन् ।

सुरुङमार्गबारे अन्तिम प्रतिवेदन आएपछि स्वीकृति गरेर निर्माण थाल्ने उनले बताए ।

सेनाले द्रुतमार्गको निजगढदेखि राजदमारसम्मको प्याकेज ३, ४ र ५ को ठेक्का आह्वान गरेको छ । यी ३ प्याकेजमा २२.५ किलोमिटरको फास्ट ट्रयाक खण्ड समावेश छ । यसमध्ये प्याकेज ३ र ५ को ठेक्का मूल्यांकन भइरहेको प्रवक्ता पौडेलले बताए । प्याकेज ४ को भने मंसिर ९ गते बोलपत्र खोलेर मूल्यांकन प्रक्रिया शुरु हुनेछ ।

‘यी प्याकेजमा आवश्यक डिजाइन गर्नेदेखि निर्माण सक्नेसम्मका काम ठेकेदार कम्पनीले नै गर्नेछन्,’ प्रवक्ता पौडेलेले भने, ‘मंसिर मसान्तसम्म ठेक्का सम्झौता गरिसक्ने हाम्रो लक्ष्य छ ।’

पुल, एक्सप्रेस–वे र पहिरो झर्न रोक्ने संरचना निर्माणको काम एकैपटक गर्ने गरी ठेक्का लगाइने लागिएको उनले बताए ।

७२.५ किलोमिटरको द्रुतमार्गले यो वर्ष १० अर्ब बजेट पाएको छ । तर, सेनाले हरेक वर्ष पाएको बजेट खर्च गर्न सकेको छैन । यो कारणले निर्माण अवधि लम्बिने र लागत थपिने क्रम जारी छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?