+
+

फाइजरको कोभिड चक्की ९५ मुलुकमा उत्पादन गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते ११:२८

१ मंसिर, काठमाडौं । औषधि निर्माता कम्पनी फाइजरले न्यून तथा मध्य आय भएका मुलुकमा आफ्नो कोभिड चक्की उत्पादन र आपूर्ति गर्ने गरी एउटा सहमतिमा हस्ताक्षर गरेको छ ।

अमेरिकी कम्पनी फाइजर र राष्ट्रसंघ समर्थित मेडिकल प्याटेन्ट पुल (एमपीपी) बीच भएको सहमतिपछि ९५ मुलुकका औषधि निर्माता कम्पनीले जेनेरिक भर्सनको कोभिड चक्की सहजै उत्पादन र आपूर्ति गर्न सक्नेछन्।

पछिल्लो सहमतिपछि अन्य मुलुकका औषधि निर्माता कम्पनीले निर्धक्क कोभिड पिल उत्पादन र आपूर्ति गर्न सक्ने अलजजिराले जनाएको छ । विश्वको झण्डै ५३ प्रतिशत जनसंख्या ओगट्ने अफ्रिका र एसियाका ९५ मुलुकलाई सहमतिमा समावेश गरिएको छ ।

‘सबै मानिसलाई महामारीबाट मुक्त गर्न सघाउने गरी वैज्ञानिक उपलब्धि विस्तार गर्ने काममा फाइजर प्रतिबद्ध छ’, मंगलबार फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले भने ।

मुखमार्फत् हुने एन्टिभाइरल उपचारबाट कोभिड-१९ संक्रमणको जोखिम कम हुने, स्वास्थ्य प्रणालीमाथिको भार घट्ने र मानिसको जीवन जोगिने समेत बोउर्लाको भनाइ छ।

मंगलबार नै फाइजरले अमेरिकाका नियामक निकायलाई आफूले उत्पादन गरेको कोभिड चक्कीको आपतकालीन प्रयोगका लागि अनुमति दिन अनुरोध गरेको छ ।

पछिल्लो चरणको परीक्षणबाट कोभिड चक्की सेवन गरेपछि वयस्कल अस्पताल भर्ना हुनुपर्ने वा गम्भीर रोगबाट उनीहरूको मृत्यु हुने जोखिम ८९ प्रतिशतले घट्ने देखिएको फाइजरले बताएको छ ।

संक्रमणको सुरुमा नै फाइजरको कोभिड चक्की सेवन गरेमा र यसअघिको एन्टिभाइरल औषधि राइटोनाभिरसँग मिसाएर प्रयोग गरेमा सबैभन्दा प्रभावकारी हुने समाचारमा उल्लेख छ । अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?