+
+

एमाले महाधिवेशन : ‘फ्रन्ट फेस’को खोजी

सइन्द्र राई सइन्द्र राई
२०७८ मंसिर १ गते २१:२१

१ मंसिर, काठमाडौं ।  टुटफुटबाट गुज्रिएको नेकपा एमालेको १०औं महाधिवेशन अब धेरै दिन बाँकी छैन । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनबाट अध्यक्षमा फेरि पनि केपी शर्मा ओली दोहोरिने तयारीमा छन् । तर त्यस बाहेकका पदमा नेताहरूको दावी सार्वजनिक हुन सकेको छैन । यसको प्रमुख कारण भने एमालेले भोगिरहेको संक्रमण हो ।

एमालेमा अहिले ओली शक्तिशाली छन् भने पार्टी संरचना तीन मोर्चा (ओलीलाई निरन्तर साथ दिने, माओवादी छोडेर आएका र १० बुँदे पक्षधर) को संयोजन बन्न पुगेको छ । ओलीलाई साथ दिँदै आएकाहरू ओलीको संकेत नपाइ कुनै पदको दावी गर्ने पक्षमा छैनन्  । माओवादी केन्द्र छोडेका र १० बुँदे पक्षधर नेताहरूको दावी अहिलेको एमाले संरचनामा कमजोर छ । यद्यपि १० बुँदे सहमति गरी एमालेमै बसेका उपाध्यक्ष भीम रावल वा उपमहासचिव घनश्याम भूसालले ओलीलाई अध्यक्षमा नै चुनौती दिनसक्ने सम्भावना नकार्न सकिन्न ।

तर कतिपय नेताहरुले भने अध्यक्ष सहित कम्तिमा पदाधिकारी निर्विरोध चयन हुनुपर्ने बताउँदै आएका छन् । ‘महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया भर्खरै सकिँदैछ । अरू कुरा शुरु नै भएको छैन’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, ‘अब पदाधिकारीबारे छलफल शुरू होला ।’

केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्- १०औं महाधिवेशनबाट पनि केही नयाँ अनुहार स्थापित होलान् । तर कुन विधिबाट नेतृत्व चयन हुन्छ, उदाउने नेता त्यसैबाट तय हुन्छ

नेताहरूले दावी गरेजस्तै निर्विरोध हुन सके एमालेको पदाधिकारीमा पुरानै अनुहार दोहोरिने पक्का छ । तर तीन मोर्चाका नेताहरूलाई सम्मानजनक हैसियत (पद) दिंदै १५ सदस्यीय पदाधिकारीमा समेट्न सजिलो छैन ।

असोज १५–१७ मा भएको पहिलो विधान महाधिवेशनबाट संशोधित विधानअनुसार एमालेमा एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव पद रहने छ । तर पदाधिकारीमा एउटै पदको चाहना राख्ने नेताको संख्या धेरै छ । जस्तो– अध्यक्षको दावी छोडेका महासचिव ईश्वर पोखरेल, माओवादी छोडेका रामबहादुर थापा बादल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल बरिष्ठ उपाध्यक्ष पदका स्वाभाविक दाबेदार हुन् । संसदीय दलका उपनेता नेम्वाङ पनि त्यही पदमा जान चाहन्छन् ।

यसबाहेक उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भूसाल, सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य र योगेश भट्टराई पनि कम्तिमा अहिलेको पद भन्दा तल झर्न तयार छैनन् । स्थायी कमिटीका नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ लगायतको व्यवस्थापन सजिलो हुने छैन ।

निर्विरोध नभए निर्वाचनको विकल्प खुल्नेछ । यस्तोमा भने अहिले सिनियर भनिएकाहरूलाई नयाँ अनुहारले चुनौती दिन सम्भावना रहन्छ । ‘महाधिवेशनबाट प्रमुख नेतृत्व चयन हुने मात्रै होइन, भावी नेतृत्वको समेत संकेत गर्र्छ’, केन्द्रीय सदस्य ठाकुर गैरे भन्छन् । निर्वाचन भएमा तेस्रो पुस्ताका नेताहरू पदाधिकारीमा पुग्न सक्ने उनी बताउँछन् । एमालेको विगत पनि हरेक महाधिवेशनबाट पार्टीमा प्रभाव जमाउने केही नेताहरूको उदय भएको देखिन्छ ।

‘फ्रन्टफेस’को निर्माण

एमाले नेतृत्व निर्माण २०३२ को कोडिअर्डिनेसन केन्द्र (कोके) स्थापनाबाटै शुरु हुन्छ । त्यसपछि एकता अभियानबाट नेताहरू उदाए । मदन भण्डारी, वामदेव गौतम, मोदनाथ प्रश्रितहरू कोकेसँग पार्टी एकता गरी नेता बने । त्यसबाहेक एमाले नेतृत्व निर्माण महाधिवेशन प्रक्रियाबाट भयो ।

२०४६ सालमा भूमिगत रुपमा भएको चौथो महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन भयो । सीपी मैनाली र झलनाथ खनालले नेतृत्व गरेपछि तत्कालीन मालेको नेतृत्वमा मदन भण्डारी पुगे । यो महाधिवेशनले मदनलाई महासचिव बनाएपछि मार्क्सवादीसँग एकता भयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको बिरासत बोकेका सहाना प्रधान, मनमोहन अधिकारी, सिद्धिलाल सिंहहरू सहितको एमाले बन्यो ।

चौथो र पाँचौं महाधिवेशनको बीचमा एमालेको वैचारिक र संगठनात्मक जग बस्यो । पहिलो पटक खुला रुपमा भएको पाँचौं महाधिवेशनले मदनलाई नेतृत्वमा दोहोर्‍यायो । माधव नेपाल, झलनाथ खनाल, केपी ओली लगायत नेताहरू सिनियर भए पनि प्रदीप नेपाल, ईश्वर पोखरेल, केशवलाल श्रेष्ठको भूमिका सशक्त बन्यो । नेपाल, पोखरेल र श्रेष्ठको भूमिका सशक्त बनाउने काम महाधिवेशनबाटै भयो । दासढुंगा दुर्घटनामा मदन र जीवराज आश्रितको निधन भएपछि पार्टी नेतृत्वमा पुगेका माधव नेपालसँग पनि यिनै तीन नेता हाबी भए ।

छैटौं महाधिवेशनबाट माधव नेपाल निर्विकल्प महासचिव चुनिए । तर यो महाधिवेशनले केही नेताहरूलाई शक्तिशाली बनायो । कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, किरण गुरुङ लगायतको भूमिका पार्टीमा शक्तिशाली बन्यो । सुरेन्द्र पाण्डे र विष्णुप्रसाद पौडेल स्थायी कमिटी सदस्य बने । त्यसबेला पदाधिकारीको व्यवस्था एमालेमा नभएकाले पाण्डे र पौडेल स्थायी कमिटी सदस्य हुनुको अर्थ प्रभावशाली नेता बनेको सन्देश थियो ।

सातौं महाधिवेशनले माधव नेपाललाई नै महासचिव चयन गर्‍यो । तर यो महाधिवेशनले गोकर्ण विष्ट, शंकर पोखरेल, विद्यादेवी भण्डारी लगायतलाई नेताका रुपमा पहिचान दियो ।

आठौं महाधिवेशनपछि भने एमाले बहुपदीय संरचनामा गयो । अध्यक्षमा झलनाथ खनालसँग पराजित भए पनि केपी ओली पार्टीभित्र एउटा कित्ताको नेता बने । युवराज ज्ञवाली, विद्यादेवी भण्डारी, अशोक राई, युवराज ज्ञवाली, विष्णु पौडेल र शंकर पोखरेल पदाधिकारीमा आए । खनाल अध्यक्ष र ईश्वर पोखरेल महासचिव बने । यही महाधिवेशनबाटै घनश्याम भूसाल, योगेश भट्टराई, भानुभक्त ढकाल, ठाकुर गैरे लगायत केन्द्रीय कमिटीमा निर्वाचित हुँदै राष्ट्रिय राजनीतिको ध्यान तान्न सफल भए ।

नवौं महाधिवेशनले ओलीलाई पार्टी अध्यक्ष र राष्ट्रिय राजनीतिको प्रमुख नेताका रूपमा स्थापित गर्‍यो । भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भूसाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई पहिलोपटक पार्टी पदाधिकारी बने । रामकुमारी झाँक्री, माधव ढुंगेल, रचना खड्का जस्ता युवा नेता पनि केन्द्रीय कमिटीमा पुगे ।

‘यो महाधिवेशनले पनि केही नयाँ अनुहारलाई स्थापित गराउला । तर कुन विधिबाट नेतृत्व चयन हुन्छ, उदाउने नेता त्यसैबाट तय हुन्छ’, केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन् । निर्वाचन प्रणालीबाट नेतृत्व चयन भए पदाधिकारीमा नयाँ अनुहार आउनेमा भट्टराई  सहमत छन् । सात सचिवको व्यवस्था भएकाले सम्भवतः यसपटक त्यही पदमा नयाँ नेता आउन सक्छन् ।

सचिवका दावेदार नेताहरूको सूची पनि लामै छ । मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, विशाल भट्टराई, लालबाबु पण्डित, रघुवीर महासेठ, बिन्दा पाण्डे, थममाया थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, शेरबहादुर तामाङ, खिमलाल भट्टराई, यमलाल कँडेल, कर्ण थापा, ठाकुर गैरे, महेश बस्नेत, वैजनाथ चौधरी लगायतबाटै यो पटक एमाले पदाधिकारीमा पुग्नसक्ने सम्भावना छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?