+
+
Shares
एमाले महाधिवेशन :

हलभित्र ओली, हलबाहिर बिद्या

अध्यक्ष ओलीले बिद्या भण्डारीको सदस्यताबारे विधान महाधिवेशनमा छलफल गर्न बन्देज लगाए पनि महाविधेशन परिसरका सम्बाद बिद्यामय थिए । बिद्यालाई रोक्न चाहनेहरु पनि किन उनी आउनुहुँदैन भनेर बोलिरहेकै थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते २२:३५

२० भदौ, काठमाडौं । ललितपुरको गोदावरीस्थित सनसाइज कम्प्लेक्समा मार्क्स, लेनिन, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी मात्र होइन वर्तमान अध्यक्ष केपी शर्मा ओलीका पूर्ण कदका मस्कट राखिएका छन् ।

यी मस्कटमा अघिल्तिर उभिएर शुक्रबार प्रतिनिधि र पर्यवेक्षकहरू फोटो मात्र खिचिरहेका थिएनन् । त्यही वरिपरि बसेर महाधिवेशन प्रतिनिधिका लागि भन्दै विद्या भण्डारीले पठाएको पत्र पनि पढिरहेका थिए ।

महाधिवेशन स्थलका यी दृश्यमा देखिइरहेको थियो, विधान महाधिवेशन भएपनि त्यहाँ औपचारिक विधिको मात्र कुरा भइरहेको छैन । भित्र हलमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि शक्तिशाली भूमिकासहित नेतृत्वमा निरन्तरताका लागि बाटो खोल्ने विधि सहितका प्रतिवेदनहरू प्रस्तुत भइरहेका थिए ।

तर, बाहिर पार्टी सदस्यता समेत नपाएकी पूर्व उपाध्यक्ष विद्या भण्डारीको पत्र र सदस्यता नवीकरणका लागि प्रतिनिधिहरूसँग गरेको याचनाको चर्चा थियो ।

एमालेको निर्णय अनुसार भण्डारी पार्टीकी सदस्य होइनन् । तर, सदस्य नै नभएकी व्यक्तिको विषयको चासो महाधिवेशन प्रतिनिधिलाई नहुनु पर्ने हो । तर प्रतिनिधहरूमाझ उनको कुराकानी चाहिँ भइरहेको थियो ।

भण्डारीको पक्षमा उभिएका नेता कर्ण थापाले राखेको फरक मतलाई महिधवेशनमा वाचन गर्न दिने निर्णयले विद्याको मुद्दा औपचारिक रुपमै महाधिवेशनको एजेण्डा बनेको छ ।

अरु प्रतिवेदनसँगै थापाको फरक मत पनि प्रतिनिधिमाझ पुर्‍याउन अनुमति दिइएको छ । अर्थात् समूहगत छलफलमा थापाको प्रतिवेदनबारे प्रतिनिधिहरूले आफ्ना धारणा राख्न पाउनेछन् ।

तर यो महाधिवेशनको औपचारिक एजेण्डा भने त्यो होइन । जुन कुरा अध्यक्ष ओलीले उद्घाटनका क्रममा  पनि भने । महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्नछन् ।

महाधिवेशन प्रतिनिधहरूसमक्ष आफ्नो कुरा पुर्‍याउन भण्डारीले बिहीबार साँझ नै एउटा अपिल पत्र जारी गरेकी थिइन् । त्यहाँ उनले पार्टीले आफ्नो आस्था र विश्वासमाथि कुठाराघात गरेको बताएकी थिइन् । त्यस्तै, आफ्नो जस्तो नियति कुनै पनि नेता र कार्यकर्ताको नहोस् भनेर उनले सचेत पनि गराएकी थिइन् ।

यसैको निरन्तरता स्वरुपमा उनले शुक्रबार साँझ पनि मिडियाबाट आफ्नो धारणा बाहिर ल्याइन् । जहाँ उनले बिहीबार पठाएको पत्रको स्मरण गराउँदै त्यसबारे सल्लाह सुझाव मागेकी छन् ।

‘मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु । यहाँहरूले अध्ययन गर्नुभएकै होला । यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले भनेकी छिन्, ‘नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ । त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस् । म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु ।’

भण्डारीले सदस्यताको याचना गरिरहे पनि महाधिवेशनले उनको सदस्यताबारे निर्णय गर्ने छैन । बरू अध्यक्ष ओली लगायतका धेरै पुराना नेताहरूलाई एमालेको सक्रिय राजनीतिमा जोडिरहने राजमार्ग भने तयार गर्नेछ ।

औपचारिक रुपमै महाधिवेशनमा ७० वर्षको उमेर हद हटाउने र दुई कार्यकाल भन्दा पनि बढी नेतृत्वमा बस्ने पाइने गरी विधान संशोधनको प्रस्ताव पेश भएको छ ।

यसले अब अध्यक्ष ओलीलाई औपचारिक रुपमै तेस्रो कार्यकालको नेतृत्व गर्नका लागि वैधानिक प्रदान गर्नेछ । एमालेले नेतृत्व परिवर्तन र नयाँलाई नेतृत्वमा आउने  ढोका सहज बनाउनका लागि ७० वर्ष उमेर हद र दुई कार्यकालको प्रावधान यसअघि राखेको थियो । अब यो महाधिवेशनबाट त्यो प्रावधान औपचारिक रुपमै हटेर उमेर हद खुल्ला गर्ने छ । यसले अहिले पदाधिकारी तहमा रहेका वृद्ध नेताहरूलाई नेतृत्वदायी पदमै बस्नका लागि सहज बनाउने छ ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष ओली, महासचिव शंकर पोखरेलको  संगठनात्मक प्रस्ताव र उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पेश भए ।

ती मध्ये ओलीको राजनीतिक प्रस्तावमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिदेखि पार्टी जीवनको जनवाद र लोकतन्त्रको समेतका कुरा छन् ।

पछिल्लो समय एमालेले लोकतान्त्रिक अभ्यास गर्दा गर्दै पनि त्यसभित्र नेताहरूले नियन्त्रणमुखी ढंगले पार्टी सत्ता चलाइरहेको गुनासो व्यापक छ । त्यही गुनासो विद्या भण्डारी पक्षधर नेताहरूले पनि गर्दै आएका  छन् । तर पार्टीभित्रको लोकतन्त्र र आन्तरिक जनवादको विषयमा ओलीले महाधिवेशनमा आफ्नो धारणा ल्याएका छन् ।

उनले नेतृत्व उमेर भन्दा पनि परिस्थिति र आवश्यकताले निरन्तर वा परिवर्तन हुने आशय व्यक्त गरेका छन् । उनले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको र यसलाई विभाजनकारी रुपमा हेर्न नहुने धारणा राखेका छन् ।

उनकै नेतृत्वको निरन्तरताको बारेमा पार्टीको एउटा कोणबाट प्रश्न उठिरहेका बेला ओलीले यसबारे महाधिवेशनमा नै सांकेतिक रुपमा धारणा राखेका हुन् ।

‘जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतन्त्रीकरणका प्रश्नलाई खिसीटिउरी गर्ने र पायक पर्दा छनोटपूर्ण विषय उठाएर (सेलेक्टिभ ढङ्गले) बहस गर्नु उचित हुँदैन । कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन । तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्योल गरिनुपर्छ,’ ओलीले भनेका छन् । पार्टी जीवनको लोकतन्त्रीकरण भनेको पार्टीको लक्ष्यसँग अविभाज्य ढङ्गले जोडिएको विषय भएको उनले उल्लेख गरेका छन् ।

‘लक्ष्यबाट बहकिएको या त्यसलाई सघाउ नपुर्‍याउने खालको लोकतन्त्रीकरणको उपादेयता हुँदैन। लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित हुन्, निषेधकारी होइनन् । बहस र निर्णय कार्यान्वयन परिपूरक विषय हुन्, अन्तरविरोधी होइनन् । मूल नेतृत्व र पदाधिकारीहरू एउटा टिम हुन्, स्वयम्भू र स्वायत्त टापुहरू होइनन्’ ओलीले भनेका छन्, ‘युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय हुन्, विभाजनकारी होइनन् । त्यसैले यसलाई समष्टिमा हेर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?