+
+
Shares

एमाले विधान महाधिवेशनमा विद्याबारे देखिएका तीन प्रवृत्ति

फेरि पनि पार्टीका अध्यक्ष केपी ओलीको विकल्प नरहेको भन्नेहरू ढुक्कसँग बोलिरहेका थिए । यत्रा नेताका साथका मिडियासँग बोल्दा समेत ताली बजाउने कार्यकर्ता साथमा थिए ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ भदौ २० गते २२:०१

२० भदौ, काठमाडौं । गोदावरीमा आजबाट सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा विभिन्न सात वटा प्रतिवेदनमाथि छलफल अगाडि बढेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन मस्यौदा र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन आजै प्रस्तुत भएको छ । केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदन पनि महाधिवेशनमा हलमा प्रस्तुत भएको छ ।

अब बाँकी दुई आयोग र स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत महाधिवेशन हलमा प्रस्तुत हुनेछ । यिनै प्रतिवेदनहरुमा छलफल भएर विधान महाधिवेशन सकिदैछ ।

तर आम साधरण र एमाले वृत्तमा भने हलमा प्रस्तुत भएका प्रतिवेदनहरु भन्दा पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे गरिएको निर्णयमा चासो देखिन्छ । कतिपयले बोलेरै चासो प्रकट गरिरहेका छन् भने कतिपयको मौन जिज्ञासा लुक्दैन ।

भण्डारीका समर्थकहरुले प्रतिनिधिहरुलाई अपिल बाँड्नेदेखि पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय उल्ट्याउन लविङको आग्रह गरिरहेका छन् । धेरैजसो प्रतिनिधिहरु भने यो विषयमा खुल्नै नचाहेको भेटिए ।

त्यसमध्येका एक थिए, नवराज तिमिल्सिना । बागमती प्रदेशका प्रतिनिधि तिमिल्सिनाले पार्टी निर्णय मान्नुपर्ने छोटो जवाफ दिए । ‘विभिन्न चरणमा कुरा भएको छ । पार्टीले गरेको निर्णय उहाँले मान्नुपर्छ’, तिमिल्सिनाले भने ।

विधान महाधिवेशनस्थल गोदावरीमा १५ जना भन्दा बढी प्रतिनिधिहरूसँग भण्डारीका विषयमा कुरा गर्‍यौं । जवाफमा मूलत: तीन प्रवृति देखिए ।

पहिलो : पूर्वराष्ट्रपति विद्याको सदस्यता नविकरणबारे पार्टीले निर्णय गरिसकेको छ । थप बोलिरहन आवश्यक छैन ।

दोस्रो : पार्टीमा छलफल हुनु स्वभाविक हो, छलफल हुन्छ । तर अन्तिममा पार्टीको निणय लागू हुन्छ ।

तेस्रो : पार्टीमा लोकतन्त्र बचाउनुछ । तर मिडियासँग बोल्ने अवस्था छैन ।

विधान प्रतिनिधि पार्टीका कार्यकर्ताले कस्तो पार्टी बनाउने भनेर विधि तय गर्न पठाएका प्रतिनिधिहरू हुन् । उनीहरूलाई कार्यकर्ताले विवेक प्रयोग गरेर पार्टीको दीर्घकालीन हित हुने गरी नीति बनाउन पहल लिने दायित्व सुम्पिएका छन् ।

तर विधान महाधिवेशन स्थल परिसरमा पार्टीको आगामी नीति र थिति भन्दा ज्यादा पूर्वराष्ट्रपति भण्डारीका तर्फबाट बाँडिएको खाम र उनै भण्डारीको सदस्यता नविकरणको विषयमा ज्यादा चासो, चिन्ता र छलफल भइरहेको छ । तर मिडियासँग कुरा गर्नबाट अधिकांश पन्छिरहेका थिए ।

मधेश प्रदेशका एक जना प्रतिनिधिलाई सोध्यौं– पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन ?

उनले भने– यसबारे छलफल गर्ने थलो यहाँ होइन ।

कस्ता व्यक्तिले सदस्यता पाउने र नपाउने भन्ने विषयमा विधान महाधिवेशनमा छलफल हुँदैन ?

उनी तर्किएर भने, ‘म आफ्नो कुरा हलभित्र राख्छु ।’

हामीले फेरि सोध्यौं– तपाईंको आफ्नै विवेकले चाहिँ पूर्वराष्ट्रप्रमुख सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने लाग्छ । आफ्नो कुरा हलमै राख्ने गरी आउनु भएको हो । तर यो विषय यति गोप्य कुरा हो र जो हल बाहिर बोल्न मिल्दैन ?

उनले सम्झाउने प्रयास गरे– तपाईंहरूलाई थाहै छ । कतिपय विषय नबोलेरै अगाडि बढाउनुपर्ने हुन्छ । परिस्थिति बुझिदिनुस् । हामी आन्तरिक लोकतन्त्र जोगाउने कसरतमा छौं । थाहा छैन सफल हुन्छौं या हुँदैनौं ।

फेरि पनि पार्टीका अध्यक्ष केपी ओलीको विकल्प नरहेको भन्नेहरू ढुक्कसँग बोलिरहेका थिए । यत्रा नेताका साथका मिडियासँग बोल्दा समेत ताली बजाउने कार्यकर्ता साथमा थिए ।

एक थिए– लालबाबु पण्डित ।

पण्डितलाई पत्रकारहरूले सोधे– पूर्वराष्ट्रपतिको सदस्यता नविकरणबारे केही निर्णय हुन्छ ?

जवाफमा पण्डितले पूर्णराष्ट्रपतिलाई नै प्रश्न गरे, ‘राजीनामा दिएर गइसकेपछि सदस्यता पुन: प्राप्ति हुन्छ ? एमालेले दुई–दुई पटक राष्ट्रपति बनायो । यही हलबाट गणतन्त्रका संरक्षक भनेर सर्वोच्च सम्मान दिएको छ । सम्मान कायम राख्न तयार हुनुहुन्छ कि हुनुहुन्न ?’

पण्डितको जवाफपछि उनका पछाडि रहेका कार्यकर्ताहरूले समर्थनमा ताली बजाए । उत्साहित हुँदै पण्डितले थपे, ‘म सिधा भन्छु– आइजिपी भएको मान्छे इन्सपेक्टरमा भर्ना हुन आउँदैन, आउन खोज्छन् भने जनताले कसरी बुझ्दछन् त्यसरी नै नेकपा एमालेले जवाफ दिन्छ ।’

पत्रकारहरूले सोधे, ‘पूर्वराष्ट्रपतिले बाँड्नुभएको खाम पाउनुभयो ?

पण्डितले जवाफ दिए, ‘यदि नेपाली आकाशमा पत्र उडाउनुभएको छ भने कुनै दिन पाउँला ।’

एमाले सचिव पद्मा अर्याल भने पार्टीमा विभिन्न कोणबाट छलफल हुनु स्वभाविक रहेको बताउँछिन् ।

‘विद्या भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन नदिने गरी रोक्नै खोजेको हो? ’ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मैले यो विषयमा यहाँ भन्नुपर्ने केही कुरा छैन । विद्या भण्डारीले जुन खालको राजनीति गर्ने इच्छा प्रकट गर्नुभएको छ । पार्टीको केन्दीय कमिटिले एउटा फैसला गरेको छ ।’

‘पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णय नमान्ने संकेत प्रष्ट गरिसकेको सन्दर्भमा विधान अधिवेशनमा यसबारे बृहत छलफल होला कि नहोला ?’ थप जिज्ञासामा उनी थप्छिन्, ‘हाम्रो पार्टीको नेतृत्वको बीचमा छलफल चल्छ । उहाँ र नेतृत्व बसेर छलफल गरेर एउटा निष्कर्ष निकालिसकेपछि त्यो विषयमा फेरि पार्टीमा छलफल गर्नुपर्ने वा नपर्ने तय हुन्छ ।’

पूर्वराष्ट्रपतिको सदस्यताबारे नेतृत्वका बीचमा फेरि छलफल हुन्छ ?

अर्यालको प्रतिप्रश्न छ, ‘किन ? छलफल र संवाद गर्न नै बाँकी नै छ त । यस्ता समस्याहरू हामीले विगतमा पनि छलफल र संवादबाटै टुंग्याएका छौं । अब टुंग्याउने विधि पनि छलफल र संवादबाटै हो ।’

पूर्वराष्ट्रपति भण्डारी एमालेमा पुन: सक्रिय राजनीतिमा फर्किन खोज्दैछिन् । राष्ट्रपतिको कार्यकालपछि केही समय सार्वजनिक रूपमा कम देखिएकी भण्डारीले पछिल्लो समय पार्टी कार्यक्रमहरूमै उपस्थिति बढाउँदै लगेकी छन् । उनको सक्रियताले एमालेभित्रको राजनीतिमा नयाँ तरंग नै पैदा गरेको छ ।

तर उनको पक्ष र विपक्ष दुवैतर्फ मत रहेको छ । समर्थकहरू भण्डारीलाई अनुभवसिद्ध महिला नेतृको रूपमा लिन्छन् र भण्डारीमार्फत एमालेमा आन्तरिक लोकतन्त्र फर्काउन खोजेको तर्क गरिरहेका छन् ।

आलोचकहरू भने पूर्वराष्ट्रपतिका रूपमा मुलुककै अभिभावक भएको व्यक्तिले तटस्थता गुमाएको टिप्पणी गरिरहेका छन् । एमाले पार्टीभित्रको यो आम अवस्था विधान महाधिवेशनस्थलमा समेत देखा परेको हो ।  त्यसको प्रभाव कस्तो पर्छ भन्ने सन्द्यर्भमा नेता/कार्यकर्ताका आ–आफ्नै दाबी र आँकलन रहेका छन् ।

शुक्रबार सुरु दोस्रो विधान महाधिवेशन आइतबार सकिनेछ । विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २ हजार ३ सय ४१ जनाको सहभागी छन् ।

उनीहरूले निकाल्ने निष्कर्षले पूर्वराष्ट्रपति भण्डारीको आगामी कदमलाई निर्धारित गर्नेछ । तर भण्डारीको पक्ष र विपक्षमा मत विभाजित हुँदा पार्टी विधानका अन्य विषय भने ओझेलमा परेका छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?