
२२ भदौ, काठमाडौं। एमालेको दोस्रो विधान महाधिवेशनले बुहमतयुक्त बलियो सरकार निर्माणका लागि दुई वर्षपछि हुने आम चुनावका अहिलेदेखि नै एकताबद्ध भएर लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।
महाधिवेशनले २९ बुँदे समसामयिक प्रस्तावहरु पारित गर्दै बहुमतप्राप्त बलियो र स्थिर सरकार राष्ट्रिय माग भएकाले यो अभिभाराको सफल कार्यान्वयनका लागि २०८४ को निर्वाचनमा नेकपा (एमाले)को विजय अनिवार्य रहेको उल्लेख गरेको छ ।
‘विगतका कमजोरीलाई सच्याउँदै, बाह्य चुनौतीलाई परास्त गर्दै आन्तरिक एकतालाई मजबुद बनाउँदै ‘मिसन – ०८४’ मा सार्थक परिणाम निकाल्न यो महाधिवेशन संकल्प गर्दछ’ महाधिवेशनबाट पारित प्रस्तावमा छ ।
नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको मूल धार एमाले रहेकोले एकता र एकीकरणका लागि पनि अन्य वामपन्थी विचारधारा बोकेकाहरुलाई आह्वान गरेको छ । ‘जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा, सुदृढ संगठन र प्रभावशाली नेतृत्वको वरिपरि सिंगो वामपन्थी जनमत धु्रवीकृत हुनु आजको आवश्यकता हो ।
यही राष्ट्रिय कार्यभारलाई मनन गर्दै वामपन्थी विचारधारामा विश्वास गर्ने आम जनसमुदायलाई नेकपा (एमाले)मा गोलबन्द हुन यो विधान महाधिवेशन हार्दिक आह्वान गर्दछ’ प्रस्तावमा भनिएको छ ।
महाधिवेशनले वर्तमान सरकार गठनपूर्व एमाले र नेपाली कांग्रेसबीचमा हस्ताक्षर भएको ७ बुँदे सहमतिमा वर्तमान संविधानको सबल र दुर्बल पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुकूलका कानुन निर्माण गर्ने विषय उल्लेख गरिएकोले त्यो काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
‘संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय बहस चलिरहेको छ । तसर्थ हाम्रो पार्टी उपरोक्त प्रतिवबद्धताअनुरुप संविधानको समीक्षा र संशोधनका कामहरु तत्काल थालनी गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ’ महाधिवेशनबाट पारित प्रस्तावमा छ,’साथै, यस काममा सकारात्मक सहयोगका लागि सबै राजनीतिक दल तथा आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।’
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4