+
+

कपिलवस्तुमा मंसिर ५ गतेदेखि हैजाविरुद्धको खोप दिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १७:०९

२ मंसिर, बुटवल । कपिलवस्तुमा मंसिर ५ गतेदेखि साढे २ लाख जनसंख्यालाई हैजाविरुद्धको खोप ‘स्यानकोल’ खुवाइँदै छ ।

गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि लुम्बिनी प्रदेश सरकारले अमेरिकाबाट आएको खोप निःशुल्क खुवाउने तयारी गरेको हो । हैजाको संक्रमणबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट प्राप्त खोप मंसिर ५ गते यशोधरा गाउँपालिकाबाट खुवाउन शुरू गर्ने तयारी भएको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेले बताए ।

पाण्डेका अनुसार कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा दुई चरणमा खोप खुवाइने छ ।

एक वर्षदेखि माथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने पाण्डेले बताए । बाँकी चार पालिकामा ७ मंसिरदेखि खोप अभियान सन्चालन हुनेछ ।

कसले खानु हुँदैन यो खोप ?

यो खोप एक वर्षमुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएको अवस्थामा खान नमिल्ने तर बिमारी निको भएपछि ती व्यक्तिले खान मिल्ने मन्त्रालयका अधिकृत पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए । यस्तै पहिलो चरणमा खोप खाँदा कुनै हाइपरसेन्सिटिभिटी (प्रतिक्रिया) देखिएमा दोस्रो मात्रा खुवाउन नहुने पाण्डेले बताए ।

दुवै मात्रा खोप खाएको ७ दिनपछि यसले कम्तीमा ५ वर्षसम्म सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले पहिलो डोजको लागि २ लाख ५२ हजार तीन सय ६३ भाइल खोप उपलब्ध गराएको हो ।

जिल्ला खोप समन्वय समितिको बैठक बसेर प्रभावित पालिकामा दिने कोटा समेत निर्धारण भइसकेको छ । जसअनुसार यशोधरा गाउँपालिकामा ३७ हजार सात सय ८३, महाराजगन्ज नगरपालिकामा ५३ हजार एक सय ५६, कृष्णनगर नगरपालिकामा ६० हजार सात सय ४३, शिवराज नगरपालिकामा ६४ हजार सात सय ७८ र विजयनगर गाउँपालिकामा ३५ हजार नौ सय तीन डोज खोप वितरण हुने छ ।

शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी ६ दिनसम्म लगातार खोप अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म शिवराज अस्पताल बहादुरगन्जमा एक हजार तीन सय ७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । २८ कात्तिकदेखि उपचारका लागि आउने बिरामी शून्य रहेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले बताए ।

हैजाबाट कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ प्रभावित भएको छ । उनीहरूमा अहिले पनि झाडापखाला र बान्ताको समस्या देखिएको छ । हैजाविरुद्धको खोप दिन स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । दुषित पानीका कारण जिल्लामा हैजा फैलिएको अध्ययनबाट पुष्टी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?