+
+

गफमै सीमित भयो जमिनमुनिको ग्यास निकाल्ने योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १७:३८
मंसिर १ गते कागेश्वरी मनहरा-९ मा बोरिङ खन्ने क्रममा निस्किएको ग्यास हेर्न भेला भएका सर्वसाधरणहरु ।

२ मंसिर, काठमाडौं । कागेश्वरी मनहरा–९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै जमिनमुनिबाट पानी तान्न बोरिङ खन्ने क्रममा बुधबार दिउँसो प्राकृतिक ग्यास निस्किँदा स्थानीय त्रसित बने ।

काठमाडौं उपत्यकाका विभिन्न भागमा गहिरा बोरिङ गाड्दा यसरी मिथेन ग्यास निस्कने गरेको छ । सरकारले भने यस्तो ग्यास उपयोग गर्नेतर्फ कुनै चासो दिएको छैन ।

खानी तथा भू-गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे योजनावद्ध ढंगले मिथेन ग्यास निकालेर प्रशोधन गरे राम्रो इन्धनको रुपमा उपयोग हुनसक्छ । त्यसमा काम गर्न भने नसकिएको उनको स्वीकारोक्ति छ ।

सरकारले यस्ता प्राकृतिक ग्यास रहेका स्थान पत्ता लगाएर उपयोग गर्ने योजना नै नबनाएको भने हैन । मिथेन ग्यास उत्खननको सम्भावनाबारे जापान सरकारको सहयोग नियोग जाइकाले २०४० सालतिरै सम्भाव्यता अध्ययन गरिदिएको थियो । त्यसपछिको समयमा प्रविधि, विशेषज्ञता र जनशक्ति अभावमा विस्तृत अध्ययन तथा उत्खनन नभएको महानिर्देशक घिमिरे बताउँछन् ।

जाइकाको अध्ययनले काठमाडौंको भूगर्भमा उपत्यकावासीलाई ४० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको देखाएको थियो । यसलाई उपयोग गर्नेतर्फ नेपाल सरकारले कहिल्यै गम्भीरता देखाएन । अझै पनि सरकारसँग यसबारे योजनाविहीन छ ।

सरकारको गफ मात्रै

२०७२ सालमा भारतले नाकाबन्दी गर्दा इन्धन नपाएर आक्रान्त बनेका उपत्यकावासीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जमिनभित्रको ग्यास निकालेर पाइपबाट घर–घरमा पुर्‍याइदिने’ बताएका थिए ।

प्रधानमन्त्रीले घर–घरमा ग्यास पुर्‍याउने बताएपछि बिना योजनाको ‘गफ’ भन्दै आलोचना भएपछि जाइकाले २०४५ सालमा अध्ययनका लागि टेकु र इमाडोलमा बनाएको स्टेसन (ग्यास कुवा)मा खानी तथा भू-गर्भ विभागले सामान्य परीक्षण गरेको थियो ।

‘तर, ग्यासको बहावभन्दा बढी पानी निस्किएपछि हाम्रो प्रविधि र विशेषज्ञताले साथ दिएन,’ विभागका महानिर्देशक घिमिरे भन्छन्, ‘हामीले गरेको अध्ययन पनि निष्कर्षविहीन भयो ।’

दुईतिहाई बहुमतसहित ३ वर्षभन्दा बढी शासनमा रहँदा ओलीले काठमाडौंको भूगर्भमा रहेको भनिएको ग्यासबारे विस्तृत अध्ययन गराउँन भने चासो देखाएनन् । विभागले करिब ४ वर्षअघि जाइकालाई यसबारे थप अध्ययन गर्न औपचारिक अनुरोध गरेकोमा अहिलेसम्म जवाफ दिएको छैन ।

उपत्यकामा प्राकृतिक ग्यास अध्ययन गर्न जाइकाले दोस्रो पटक २०४५ मा बनाएको १४ वटा स्टेसन अहिले अलपत्र अवस्थामा छन् । नेपाल सरकारले आफ्नै खर्चमा विदेशी विशेषज्ञ ल्याएर अध्ययन गराउन सक्थ्यो, तर जाइकाले गरिदिने आश गर्दागर्दै ३० वर्ष बितिसकेको छ ।

जाइकाले अध्ययनका क्रममा ड्रिल गरेको ठाउँहरुको रेखदेख र मर्मतसम्भार समेत भएको छैन । माटो र बालुवा भरिएका स्टेसनहरु झाडीले छोपिएका छन् । यस्ता अध्ययन, रेखदेख र उत्खखनका लागि सरकारले विभागलाई पर्याप्त बजेट पनि दिने गरेको छैन ।

पछिल्लो अवस्थाबारे छैन पत्तो

जाइकाले अध्ययन गरेको करिब ३८ वर्ष बितिसकेकाले अब काठमाडौंको भूगर्भमा बदलाव आएको हुनसक्ने विभागको अनुमान छ । काठमाडौंमा भएको अव्यवस्थित शहरीकरणले भूमिगत पानीको पुनर्भरणमा पारेको प्रभावले प्राकृतिक ग्यासको अवस्था पनि खल्बलिएको अनुमान छ ।

प्राकृतिक ग्यास पानीसँग घुलेर बस्छ । काठमाडौंमा भूमिगत पानीको सतह पहिलाकै अवस्थामा छैन । त्यसमाथि जथाभावी गरिने डिप बोरिङबाट पनि ग्यास बाहिरिएको हुन सक्ने विज्ञहरु बताउँछन् ।

खानी तथा भूगर्भ विभागका अनुसार २०४१ देखि ०५३ सालसम्म टेकु स्टेसनबाट निकालिएको ग्यास पाइपलाइनबाट शुक्रराज ट्रपिकल अस्पताल, भेटेरेनरी अस्पताल, सेनाको मेस, सुन्धाराको टेलिग्राफ भवन र कारागारमा वितरण हुन्थ्यो । त्रिपुरेश्वरका दुईवटा स्टेसनबाट पनि ग्यास निकालेर टेकुको प्रणालीमा जोडिएको थियो ।

तरल नभई हावाकै रुपमा हुने प्राकृतिक ग्यास सिलिन्डरमा भर्न नसकिने भएकाले पाइपमार्फत आपूर्ति गर्न सकिने महानिर्देशक घिमिरे बताउँछन् । उनका अनुसार, ग्यास निकाल्ने हो भने अहिले पनि पाइपलाइनबाट वरपर वितरण सकिन्छ । ‘काठमाडौं कंक्रिटको जंगल बनिसकेकाले अब यसको अध्ययन र उत्खनन् विगतमा जस्तो सहज भने छैन’, उनले भने ।

अध्ययनमा जाइकालाई कुरिरहेको विभागले पहिला उसैले बनाइदिएका स्टेसनहरुको संरक्षण भने गरेको छैन । २०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि जाइकाको सहयोगमा ह्युमत टोल, भृकुटीमण्डप, शंखमुल, कोटेश्वर, जडिबुटी, तीनकुने, टीकाथली लगायतका ठाउँमा पनि ग्यासको कुवा खनिएको थियो । ति सबै कुवा बेहाल अवस्थामा छन् ।

३–३ वर्षमा सफा गर्नुपर्ने ग्यासका कुवा वर्षौंदेखि बेवास्तामा छन् । २०७२ असोजमा भारतले नाकाबन्द गरेपछि काठमाडौंमा ग्यासको हाहाकार भएपछि सरकारका आँखा पुन ती कुवामा परेको थियो । अब फेरि अर्को नाकाबन्दी भएपछि मात्र सरकारले ती कुवा सम्झने भूगर्भ विभागकै अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?