+
+

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने महेश आचार्यको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १८:२२

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । मंसिर २४–२६ सम्म हुने १४ औं महाधिवेशनमा आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उपसभापतिको नेतृत्वमा हुने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पार्टीमा वैचारिक बहस चलाउन आफूले उम्मेदवारी दिने तयारी गरेको नेता आचार्यले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘पार्टीको त्यो निकायलाई उपयोग गरेर पार्टीका सांगठानिक समस्याहरु, राष्ट्रिय समस्या र अन्तर्राष्ट्रिय सम्बन्धमा आउने तनावपूर्ण परिस्थितिबाट देशलाई जोगाउने कुरामा पार्टीको ध्यान जान जरुरी छ ।’

आचार्य कांग्रेसभित्र वैचारिक र निष्ठावान् नेताका रुपमा चिनिन्छन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकारमा अर्थराज्यमन्त्री बनेका आचार्य २०५६ सालमा कृष्णप्रसाद भट्टराईको सरकारमा अर्थमन्त्री थिए । सुशील कोइराला नेतृत्वको सरकारमा आचार्य वन मन्त्री बनेका थिए । मोरङबाट पटक पटक संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।

उनले पार्टीभित्रको गुटगत राजनीतिविरुद्ध पनि आफ्नो उम्मेदवारी भएको बताए । पदाधिकारीमा चुनाव जित्न पार्टीभित्रै अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको र त्यसले अन्ततः पार्टीलाई नै कमजोर बनाउने गरेको नेता आचार्यको भनाइ छ ।

‘पार्टी वैचारिक रुपले सक्रिय हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यति मात्र होइन, मुलुकका लोकतान्त्रिक संस्थाहरुलाई बलियो बनाउन पनि कांग्रेस वैचारिक रुपमा स्पष्ट हुनुपर्छ,’ आफ्नो उम्मेदवारीबारे नेता आचार्यले भने, ‘चुनावमा हार र जीतको विषय महत्वपूर्ण होइन । तर पार्टी, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा गम्भीर छलफल भएर नेतृत्वको ढोका खोल्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?