+
+

नेपालद्वारा टी-२० सिरिज क्लिन स्वीप

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते २०:२६

२ं मंसिर, काठमाडौं । पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले कतार विरुद्धको तीन खेलको सिरिज क्लिन स्वीप गरेको छ ।

बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा १०९ रनको फराकिलो जितसहित नेपालले कतार विरुद्धको सिरिज ३-० ले क्लिनस्वीप गरेको हो । युएईमा यही नोभेम्बर २२ देखि हुने महिला टी-२० विश्वकपको एसिया छनोट खेल्नुअघि नेपालले कतारसंग सिरिज खेलेको हो ।

दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल मैदानमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको कतारले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । यसअघि नेपालले पहिलो खेल ११९ रन र दोस्रो खेल ६१ रनले जितेको थियो ।

कतारका लागि एलिना खानले १९ र कप्तान आयसाले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सबनम राईले ३ ओभरमा २ मेडन राख्दै २ रन खर्चेर १ विकेट लिइन् । कप्तान रुबिनाले ४ ओभरमा ९ रन खर्चेर १ तथा करुणा भण्डारीले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिइन् ।

सीता राना मगरले कीर्तिमानी ब्याटिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेट गुमाएर १६४ रन बनाएको थियो । जुन महिला टिमले टी-२० मा बनाएको सर्वाधिक स्कोरसमेत हो । यसअघि कतार विरुद्धको पहिलो खेलमा नेपाल १४६ रन बनाएको थियो ।

नेपालको लागि ओपनर ब्याटर सीताले ७२ बल खेल्दै ७ चौका मद्दतमा अविजित ८२ रन बनाइन् । जुन नेपाली खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा बनाएको व्यक्तिगत उच्च स्कोर हो । साथै सीता अर्धशतक प्रहार गर्ने तेस्रो महिला खेलाडी समेत बनिन् । यसअघि पहिलो खेलमा इन्दु बर्माले ५५ रन बनाएकी थिइन् भने दोस्रो खेलमा कप्तान रुबिना क्षेत्रीले ५० रन बनाएकी थिइन् ।

सीताले काजल श्रेष्ठसंग पहिलो विकेटका लागि ३२ र ज्योती पाण्डेसंग दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरिन् । काजल ७ रन बनाएर आउट हुँदा ज्योतीले २० बलमा २४ रन जोडिन् ।

यस्तै डली भट्टले ९ बलमा १२ रन बनाइन् । चौथो विकेटका लागि सीताले सरिता मगरसंग अविजित ४२ रनको साझेदारी गरिन् । सरिताले ११ बलमा अविजित १७ रन बनाइन् ।

कतारका लागि एन्जेलिन मारे, साची दाडवानी र आयसाले समान १ विकेट लिए ।

नेपाली टोली अब एसिया छनोट खेल्न शुक्रबार कतारबाट युएई प्रस्थान गर्नेछ । जहाँ नेपालले पहिलो खेल हङकङसंग नोभेम्बर २२ मा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?