+
+

कांग्रेस अधिवेशन : सुर्खेतका पालिकामा संस्थापन पक्ष हाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १४:३१

३ मंसिर, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतका ९ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । क्रियाशील सदस्यता विवादले निर्धारित समयमा सम्पन्न हुन नसकेकाले अधिवेशन बुधबारबाट शुरु भएको थियो ।

सुर्खेतमा पनि कांग्रेसभित्र जबरजस्त दुई गुट छन् । शेरबहादुर देउवा (संस्थापन) पक्षबाट महामन्त्री पूर्णबहादुर खड्का र संस्थापनइतर (रामचन्द्र पौडेल) समूहको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गरेका छन् । पालिका अधिवेशनमा पनि यिनै दुई समूहबीच प्रतिस्पर्धा भएको छ ।

यसपटकको प्रतिस्पर्धामा संस्थापन पक्ष हाबी भएको छ । थानी समूहको गढ मानिएका पालिकामा समेत खड्का समूहले बर्चस्व कायम गर्न सफल भएको छ । जिल्लका ९ वटा पालिकामध्ये ८ वटा पालिकामा खड्का प्यानल विजयी भएको छ भने थानी प्यानलले एक पालिकामा मात्र नेतृत्व हात पारेको छ ।

भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, गुर्भाकोट नगरपालिकामा हस्त पुन, सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, वीरेन्द्रनगर नगरपालिकामा उपेन्द्र खड्का, लेकवेशीमा उमेश पौडेल, बराहताल गाउँपालिकामा भिमबहादुर भण्डारी र पञ्चपुरी नगरपालिकामा कृपाराम थापा सभापति बनेका छन् । उनीहरू सबै खड्का पक्षका हुन् । यी पालिकाहरुमा खड्का समूहको प्यानलले नै जित हात पारको छ ।

चौकुने गाउँपालिकामा मात्रै थानी पक्षका नरबहादुर वान्तोला विजयी भएका छन् । केही ठाउँमा सर्वसम्मत नेतृत्व छनोट गरिएपनि अन्यमा भने निर्वाचन भएको थियो । दुई समूह प्यानल बनाएरै चुनावी मैदानमा होमिएका थिए ।

अघिल्लो अधिवेशनमा जिल्ला नेतृत्व नै थानी पक्षले लिएको थियो । यो अधिवेशनबाट भने परिणाम उल्टिने संकेत देखिएको छ । पालिकाको नतिजाअनुसार जिल्लामा खड्का बलियो बन्दै गएका छन् भने थानी कमजोर भएका छन् ।

खड्का समूहले यसपटक क्रियाशील सदस्यता बढाउन चलाखी गरेकाले नतिजा उनि अनुकूल भएको नेताहरूले बताएका छन् । अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा आएकालाई क्रियाशील सदस्यता दिइँदा खड्का समूह बलियो भएको उनीहरूको तर्क छ । अखण्डबाट आएका झन्डै दुई सय जनालाई क्रियाशील सदस्यता दिइएको थियो । ती सबै खड्का समूहमा छन् । केन्द्रले जिल्लालाई अखण्डका १०० बढीलाई सदस्यता दिने परिपत्र पठाएपछि उतिबेला थानी समूहले आपत्ति जनाएको थियो । यही विवादले सुर्खेतमा लामो समय रोकिएको वडा अधिवेशन शनिबारबाट मात्र सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?