
४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार क्लबले च्यासल युथ क्लबलाई ३-० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको २१ औं मिनेटमा निशान खड्का, ४५ औं मिनेटमा राफायल र ५८ औं मिनेटमा अनन्त तामाङले गोल गरे । च्यासलका विकास मेराग्लियाले पेनाल्टीको अवसर खेल फालेका थिए ।
निशानले करिब २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि थ्रीस्टारका अनन्त तामाङले च्यासलका विकास मेराग्लियालाई पेनाल्टी बक्समा फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो । तर विकासले प्रहार गरेको पेनाल्टी थ्रीस्टारका गोलकिपर प्रिसोले बचाए ।
थ्रीस्टारका लागि ४५ औं मिनेटमा राफायलले अनन्त तामाङको फ्रिकिकमा गोल गर्दै २-० को अग्रता दिलाए । त्यसपछि ५८ औं मिनेटमा अनन्त तामाङले हेमन्त थापा मगरको कर्नरमा गोल गरेका थिए ।
८४ औं मिनेटमा च्यासलका गोलकिपर प्रदीप भण्डारीले थ्रीस्टारका हेमन्त थापा मगर र लाकेन लिम्बुको प्रहार जोगाएका थिए । थ्री स्टारका विदेशी खेलाडी राफायल च्यासलका फरवार्डका लागि बाधक जस्तै देखिएका थिए ।
जितपछि थ्री स्टारले ३ अंक जोडेर लिग सुरुवात गरेको छ । च्यासलले भने हारबाट लिग सुरुवात गरेको छ । थ्री स्टारले अर्को खेलमा ललितपुरकै सातदोबाटो युथ क्लबसंग खेल्नेछ भने च्यासलले विभागीय टोली नेपाल एपीएफ क्लबसंग खेल्नेछ ।
लिगमा आइतबार ब्रिगेड ब्वाईज क्लब र नेपाल एपीएफ क्लब तथा जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब बीच खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4