+

डिपाएको गोलमा बार्सिलोना विजयी, जाभीको दोस्रो इनिङ्समा सुखद सुरुआत

२०७८ मंसिर  ५ गते ९:०६ २०७८ मंसिर ५ गते ९:०६
डिपाएको गोलमा बार्सिलोना विजयी, जाभीको दोस्रो इनिङ्समा सुखद सुरुआत

५ मंसिर, काठमाडौं । खेलाडी जीवनमा जाभी बार्सिलोनामा उत्कृष्ट थिए । प्रशिक्षकको रुपमा बार्सिलोनामा दोस्रो इनिङ्स थालेका जाभीले सुखद सुरुआत गरेका छन् ।

जाभीको प्रशिक्षणमा बार्सिलोनाले खेलको पहिलो ला लिगा खेलमा सहरी प्रतिद्वन्द्वी स्पानयोललाई १-० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेम्फिस डिपाएले एक मात्र गोल गरे ।

घरेलु समर्थकका अघि बार्सिलोनाले तीन अंक जोडे पनि स्पानयोलले गोलका अवसर खेर फालेका थिए ।

डिपाएले ४८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितपछि १३ खेलबाट २० अंक जोडेर बार्सिलोना छैटौं स्थानमा उक्लेको छ ।

जाभीले बार्सिलोनाका लागि १७ वर्षमा ७६७ खेल खेल्दै २५ उपाधि जितेका थिए । उनले अन्तर्राष्ट्रिय ब्रेकले गर्दा बार्सिलोनाको प्रशिक्षकका रुपमा पहिलो खेल खेल्न २ साता कुर्नुपरेको थियो ।

सेभिया शीर्ष स्थानमा

इभान राकिटिकले इन्जुरी टाइममा गोल गरेपछि अलाभेजसँग २-२ को बराबरी खेलेको सेभिया शीर्ष स्थानमा उक्लेको छ ।

सेभियाले घरेलु मैदानमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै पुनरागमन गरेको हो ।

भिक्टोर लागुएर्डिनले खेलको पाँचौ मिनेटमै गोल गर्दै अलाभेजलाई अग्रता दिलाएका थिए ।

तर ३८औं मिनेटमा लुकास ओकम्पसाले सेभियाका लागि बराबरी गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा जोसेलुले पेनाल्टीमा गोल गर्दै अलाभेजलाई फेरि अग्रता दिलाए । तर इन्जुरी टाइममा राकिटिकले गोल फर्काउँदै सेभियाको हार टारे ।

१३ खेलबाट रियल सोसिडाड समान २८ अंक जोडेको सेभिया गोलअन्तरमा अघि रहेको हो । अलाभेज १३ खेलबाट १४ अंकसहित १४औं स्थानमा छ ।

एट्लेटिकोको कठिन जित

फेलिपेले खेल सकिने तीन मिनेट बाँकी छँदा गोल गरेपछि फेलिपेल ओसासुनामाथि १-० को कठिन जित हात पारेको छ ।

फेलिपेले यानिक कारास्कोको पासमा गोल गरेका थिए ।

जितपछि १३ खेलबाट २६ अंक जोड्दै एट्लेटिको तेस्रो स्थानमा छ।

जाभी हर्नान्डेज बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय