+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
१०८ बलमा ४९ रन आवश्यक
लुम्बिनी लायन्स 2025
37/0 (1.6)
Shares
गण्डकीबाट एमाले पदाधिकारीमा ४ आकांक्षी :

किरणको उपाध्यक्षमा दाबी, खगराज र पद्मा सचिवका आकांक्षी

अमृत सुवेदी अमृत सुवेदी
२०७८ मंसिर ५ गते १८:२४

५ मंसिर, पोखरा । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पदाधिकारीमा गण्डकी प्रदेशबाट ४ आकांक्षी छन् । एकताको सन्देश दिन सर्वसम्मत गर्ने चर्चा चलिरहेका कारण कसैले पनि उम्मेदवारी घोषणा गर्न भने सकेका छैनन् ।

चारै जना पदाधिकारीका आकांक्षी भन्छन्, ‘अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपनि केपी शर्मा ओलीको विकल्प छैन, अन्य पदाधिकारीमा भने भूगोल र सक्रियताका हिसाबले सन्तुलन मिलाउनुपर्छ । सबै सर्वसम्मत नहुन पनिसक्छ ।’

नवौं महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार बनेका गण्डकी प्रदेश संयोजक किरण गुरुङले फेरि उपाध्यक्षकै दाबी गरिरहेका छन् । सचिव पृथ्वीसुब्बा गुरुङ त्योभन्दा उपल्लो पदमा जान चाहन्छन् भने केन्द्रीय सदस्य खगराज अधिकारी र पद्मा अर्याल सचिवमा आकांक्षी हुन् । एमालेमा संस्थापन समूह, साविक माओवादीबाट एमालेमै रहेका, १० बुँदेबाट रहेका र अन्य पार्टीबाट पनि एमालेमा प्रवेश गरेका गरी ४ धारलाई मिलाउनुपर्ने जटिल अवस्था रहेको चारै जना आकांक्षीको भनाइ छ । भन्छन्, ‘एकातिर सर्वसम्मत गरेर एकताको सन्देश दिनुपर्ने चुनौती छ भने अर्कोतिर सबैको व्यवस्थापन गर्नुपर्ने भएको छ ।’

गण्डकीमा ४ जना पदाधिकारीका आकांक्षी केपी ओली समूहका हुन् । अघिल्लो पटक नै उपाध्यक्षकै उम्मेदवार भएकाले आफ्नो स्वभाविक भएको किरण बताउँछन् ।

‘हिजो क्षेत्रकै सिनियर भएकै कारण उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ । यसपटक त्यही पदमा जानुपर्छ भनेर नेताहरुले पनि भनिरहनुभएको छ,’ किरणले भने, ‘प्रादेशिक हिसाबले सन्तुलन मिलाउनुपर्छ । कम्तिमा गण्डकी प्रदेशबाट २ पदाधिकारीमा आउनुपर्छ भन्ने हो, त्यसभित्र म स्वभाविक हिसाबले पर्छु ।’

नेकपा माले हुँदादेखि नै संस्थापक कमिटीमा रहेर काम गरेका किरण भूमिगत कालदेखि अहिलेसम्म पार्टी निर्माणमा लाग्ने नेतामध्ये गर्ने बताउँछन् । अध्यक्ष ओलीलाई साथ दिने सक्षम र योग्य कमिटी निर्माण हुँदा आफू पदाधिकारीमा पर्ने किरणको विश्वास छ । ‘पहिले एउटै अञ्चलबाट धेरै जना पदाधिकारी थिए । अब सातै प्रदेशबाट समान प्रतिनिधित्व हुने गरी पदाधिकारीसहित केन्द्रीय तथा स्थायी कमिटी मिलाएर लैजानुपर्ने चुनौती छ,’ किरण भन्छन्, ‘सबै पदाधिकारीमा सर्वसम्मत गर्ने अवस्था पनि देखिँदैन । प्रतिनिधि बन्ने एक जनाले पनि मेरो पदाधिकारी चुन्ने र चुनिने अधिकार छ भनेर भन्ने हो भने त सर्वसम्मत भन्ने कुरा हुँदैन ।’

सचिव पृथ्वीसुब्बाले महासचिवका लागि लबिइङ गरिरहेका छन् । सबैलाई व्यवस्थापन गर्नुपर्ने चुनौती रहे पनि अध्यक्षबाहेक सचिवभन्दा माथिको जुनसुकै पदमा आफ्नो दाबी रहने उनको भनाइ छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट बहिर्गमनमा परेका गुरुङले महासचिवमा दाबी गर्नु स्वभाविक भएको बताउँछन् । ‘म अहिले नै सचिव हुँ, महासचिवको दाबी गर्नु स्वभाविक हो । आकांक्षाको कुरा हो,’ उनले भने ‘अध्यक्ष कमरेडसँग कुरा गर्दा अबको एमाले कस्तो हुनुपर्छ ? विचार र नीतिमा के छ ? विकास निर्माण र समृद्धिमा के छ ? यसलाई पूरा गर्ने गरी टिम बनाउनुपर्‍यो भनेको छु ।’

अहिले भावनात्मक, मनोवैज्ञानिक रुपमा पार्टी र मन विभाजित भएको हुनाले सन्तुलित हिसाबले सबैलाई मिलाउनुपर्ने बाध्यताका बीच पनि आफू पदाधिकारीमा पर्ने उनको दाबी छ । ‘साविक एमालेको केपी ओली समूह, पहिले माधव नेपाल समूहमा भएका, तर १०बुँदे सहमति गरेर पार्टीमा बसेका, नेकपाको एकता भंग हुँदा एमालेमै बसेका माओवादी पृष्ठभूमि भएका र अन्य पार्टीबाट आएका नेताहरु एमालेमा छन्,’ उनले भने, ‘यी ४ खालका भावना, प्रवृति, चिन्तन र समूहलाई सापेक्ष रुपमा प्रतिनिधित्व गरेर पार्टी बनाउनुपर्ने छ ।’

उनले सचिवमा आफूले नदोहोर्‍याउने तर त्योभन्दा माथिको जुनसुकै पदमा आफ्नो दाबी रहेको दोहोर्‍याए । ‘म किन सचिवमा दोहोर्‍याउने ? महासचिव नभए उपाध्यक्ष लड्छु नि,’ उनले भने, ‘अध्यक्षमा पनि सर्वसम्मत नहुन सक्छ । भीम रावलले उठ्ने बताइरहनुभएको छ । जो उठे पनि अध्यक्ष केपी शर्मा ओलीको विकल्प देखिँदैन । पदाधिकारीमा आकांक्षी धेरै भएकाले मिलाउन धेरै गाह्रो छ ।’

१० बुँदेबाट एमालेमै रहेका जना उपाध्यक्ष छन्, जबकी पार्टीमा उपाध्यक्ष पद चार वटा मात्र रहेकाले व्यवस्थापन गाह्रो भएको उनी बताउँछन् । ‘उपमहासचिवमा थप २÷३ वटा भए पनि सजिलो हुन्थ्यो । सचिव पदमा चाहिँ केही व्यवस्थापन गर्न सकिने देखिन्छ,’ उनले भने । ओलीले आँट गरेर पदाधिकारीमा सर्वसम्मत गरे सम्भव रहेको भन्दै उनले भने, ‘अध्यक्ष ओलीलाई धेरै प्रसर आयो, जो हेरे पनि उस्तै होस् चुनावमै जाउँ भन्नु भयो भने केही असहज परिस्थिति ल्याउँछ । चुनावलाई प्रभाव पार्ने धेरै फ्याक्टर छन् ।’

केन्द्रीय सदस्य खगराज अधिकारीले भने सचिवमा दाबी गरेका छन् । पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, अनुशासन आयोग लगायतमा रहेका काम गरिसकेका कारण पनि अब आफ्नो पदाधिकारीमा दाबी रहने अधिकारीको भनाइ छ । ‘अध्यक्ष ओलीले लिएको नीति, उहाँको कमाण्डलाई आत्मसात गर्दै पार्टीका विभिन्न तहमा रहेर काम गरेको छु,’ खगराजले भने, ‘अब स्वभाविक हिसाबले पदाधिकारीमा आकांक्षा रहन्छ ।’ अहिले पार्टीमा व्यवस्थापन गर्ने चुनौती रहेपनि आफूमाथि पार्टी अध्यक्षले न्याय गर्ने अधिकारीको दाबी छ । संघीय सरकारको स्वास्थ्यमन्त्री, केही समय गृहमन्त्रीसमेत भइसकेका खगराजले पार्टीभित्र सन्तुलन मिलाउन भूमिका खल्ने बताए ।

एमाले केन्द्रीय सदस्य पद्मा अर्याल पनि सचिवमा आकांक्षी हुन् । पार्टीमा सन्तुलन मिलाउनु चुनौति रहेको भन्दै उनले नेतृत्वले दिएको जिम्मेवारी स्वीकार गर्ने बताइन् । ‘पार्टीको नेता म पनि हो । पार्टीको पदाधिकारी भरसक सर्वसम्मत गरौं भन्ने छ । यसपटक समावेशी हिसाबले सन्तुलन मिलाउने गरी हुने भन्ने हो,’ अर्यालले भनिन्, ‘पदाधिकारीमा सर्वसम्मत हुन नसके जे विधि र प्रक्रिया छ त्यसैमा जाने हो । आन्तरिक प्रतिस्पर्धालाई अनुशासित बनाउनुपर्ने छ । त्यसपछि कार्यकर्ताको बीचमा जाँदा आकांक्षा तय गर्ने हो ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएर काम गरेकी अर्यालले पार्टीलाई समावेशी बनाउनुपर्ने चुनौति रहेको बताइन् । परिस्थितिको मूल्यांकन गरेर आफू पदाधिकारीमा आकांक्षा राख्ने उनको भनाइ थियो ।

यसअघि लुम्बिनी क्षेत्रबाट पदाधिकारीमा बाहुल्य रहेको अवस्थामा संघीयता व्यवस्थापछि सबै प्रदेशको सन्तुलित सहभागिता हुनुपर्ने आकांक्षीहरुको भनाइ छ । एमालेको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने व्यवस्था छ ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा पनि धेरै आकांक्षी देखिएका छन् । पूर्व खेलकुद तथा युवा मन्त्री जगत विश्वकर्माले फेरि केन्द्रीय सदस्यमा फेरि दोहोरिन चाहन्छन् । पूर्वसांसद सीता गिरी ओली र भीम कार्की, प्रदेश सांसद राजीव पहारी, कृष्णबहादुर थापा, मोहन रेग्मी, धनञ्जय दवाडी, मायानाथ अधिकारी, रामशरण बस्नेत, पदम गिरी लगायतका नेता केन्द्रीय सदस्यको आकांक्षी हुन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?