+
+

अलपत्र छन् शिवशक्ति, रामायण र बुद्धिष्ट सर्किट, यता रामदेवलाई बिन्तीपत्र !

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर ६ गते १८:३०

६ मंसिर, काठमाडौं । सरकारले नेपालको आध्यात्मिक र योगका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिदिन भारतीय योगगुरु रामदेवसमक्ष प्रस्ताव गरेको छ ।

आइतबार पशुपतिनाथ क्षेत्रमा आयोजित योग शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्ने प्रस्तावसहितको पत्र बुझाएका छन् ।

जवाफमा रामदेवले मन्त्रालयको प्रस्तावलाई गम्भीरतापूर्वक लिएर निर्णय लिने बताए । उनले पतञ्जलीले गर्न सक्ने सहयोगबारे नेपाल सरकारसँग कार्ययोजना पनि मागेका छन् । रामदेवसँग मिलेर नेपालको पर्यटन प्रवद्र्धन गर्न चाहेको पर्यटन बोर्डले जनाएको छ ।

रामायण सर्किट चर्चामै सीमित

पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डका अधिकारीहरुले तत्कालको चर्चाका लागि मात्र रामदेवलाई यस्तो प्रस्ताव गरिएको टिप्पणी गर्छन् ।

विगतमा पनि चर्चाका लागि यस्ता धेरै परियोजना घोषणा गरिएको तर अलपत्र पारिएको उनीहरुको भनाइ छ । सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा रामायण सर्किटको शुभारम्भ गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा एक–अर्का मुलुकमा पर्यटक आगमन संख्या बढाउन र तीर्थ यात्रुलाई सुविधा दिन अयोध्या र जनकपुरलाई जोड्ने गरी बस सेवा शुरु गरिएको थियो । हाल बससेवा बन्द भइसकेको छ र रामायण सर्किट चर्चामै सीमित भयो ।

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपालको पर्सामा ‘रामायण पथ’ खोज्ने भन्दै ७ लाख रुपैयाँ बजेट छुट्याएको थियो । यो बजेट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामायणको रामचन्द्र नेपालमा जन्मिएको र त्यो ठाउँ पर्साको ठोरीमा रहेको बताएपछि अध्ययन गर्न छुट्याइएको हो ।

बोर्डका एक उच्च अधिकारीका अनुसार त्यहाँ प्रारम्भिक अध्ययन पनि भएको थियो । तर तथ्यलाई प्रमाणित गर्न सक्ने कुनै आधार नदेखिएपछि यो कार्यक्रम पनि अगाडि बढाइएन ।

बुद्धिष्ट सर्किट पनि त्यस्तै

आर्थिक वर्ष २०७२/७३ को बजेटमा सरकारले बुद्धिष्ट सर्किटका लागि प्रारम्भिक काम थाल्ने उल्लेख गरेको थियो । पर्यटक आगमन प्रभावित हुने अवस्थाका बीच धार्मिक पर्यटक तान्न यो अवधारणा ल्याइएको नेपाल पर्यटन बोर्डका तत्कालिन सदस्य राजेन्द्र सापकोटा बताउँछन् । ‘युरोप र अमेरिकाबाट पर्यटक आउन समय लाग्ने अवस्थामा नेपाल र भारतकै पर्यटकको एक्सचेन्जबाट पनि पर्यटन चलायमान बनाउन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको थियो,’ उनले भने ।

त्यसो त २०७५ सालमै बृहत बुद्ध सर्किटको खाका सरकारी स्तरबाटै तयारसमेत पारिएको थियो । यसमा भने नेपालभित्र बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटिएको थियो ।

तर, भारतसँगको सर्किटको उद्देश्य भने बुद्धसँग सम्बन्धित गन्तव्यको भ्रमणका लागि एक अर्का मुलुकमा आएका पर्यटकलाई नेपाल र भारतका दुबै गन्तव्यसम्म पुर्‍याउने थियो । तर, यस्तो अभियान निजी क्षेत्रका व्यवसायीबाट प्याकेजमा केही काम भए पनि परिणाम देखिने गरि कुनै काम हुन सकेको छैन ।

शिवशक्ति सर्किटमा डेढ करोड खर्च, उपलब्धि शून्य

नेपाल भ्रमण वर्ष २०२० अभियान कोरोना भाइरसको महामारीका कारण शुरुआतमै प्रभावित भयो । भ्रमण वर्ष सचिवालयले धार्मिक पर्यटक आकर्षित गर्ने भन्दै शिवशक्ति सर्किटको अवधारणामा काम गरेको थियो ।

महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षण अनुसार शिवशक्ति सर्किटसहितका प्रवर्द्धनात्मक सामग्री बनाउन तत्कालिन भ्रमण वर्ष सचिवालयले १ करोड ४९ लाख ६ हजार रुपैयाँ खर्च गरेको थियो ।

तर, अहिले यस्तो कुनै पनि सर्किट अस्तित्वमा छैन । नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार भ्रमण वर्षमा धार्मिक पर्यटक भित्र्याउन यस्तो अभियान सुरु गरिए पनि कोरोना महामारीका कारण प्रभावित बनेको हो । त्यसपछि यो अभियान पनि सुस्तायो ।

योगी सदगुरुसँग पनि प्रस्ताव

रामदेवअघि यसै वर्ष नेपाल आएका अर्का प्रख्यात योगी सदगुरुसँग समेत नेपाल पर्यटन बोर्डले सहकार्यको प्रस्ताव राखेको थियो । गत भदौमा काठमाडौंमा आयोजित अनौपचारिक कार्यक्रममा सदगुरुले धार्मिक पर्यटनको योजनावद्ध विकासमा लाग्न नेपाललाई सुझाव दिएका थिए ।

उनले नेपालका मौलिक कला र संस्कृति जोगाउन सुझाव दिँदै सोही माध्यमबाट पर्यटक आकर्षित गर्न समेत सुझाव दिएका थिए । यस पटक पनि रामदेवले पतञ्जलीका माध्यमबाट नेपालमा के गर्न सकिन्छ भन्नेबारे कार्ययोजना ल्याउन सुझाव दिए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?