+
+

‘युरोप छिर्न टर्की आउँदै हुनुहुन्छ, होश गर्नुहोस् !’

उज्ज्वलकुमार घिसिङ, अध्यक्ष, एनआरएनए टर्की उज्ज्वलकुमार घिसिङ, अध्यक्ष, एनआरएनए टर्की
२०७८ मंसिर ६ गते १०:१२

अमेरिका छिर्दा मेक्सिकोको र युरोप छिर्दा टर्कीको कहानी एउटै जस्तै लाग्छ । टर्कीदेखि अवैध बाटोहुँदै ग्रीस लैजाने गरिन्छ । नेपालीहरू युरोपको सपना बुन्दै विभिन्न प्रलोभनमा टर्की प्रवेश गर्छन् । कोही वर्क परमिटमा, कोही भिजिट भिसामा, कतिपय त इरान हुँदै अवैध रूपमा टर्की आउने पनि छन् ।

नेपालमा म्यानपावर एजेन्सीदेखि व्यक्तिसम्मलाई समन्वय गरेर कसरी हुन्छ टर्कीसम्म पुर्‍याइदिनुपर्‍यो भन्ने गर्छन् । युरोप छिर्ने उद्देश्य बोकेर यहाँ आउनेहरूको संख्या धेरै छ । वर्क परमिटमा आएका कतिपयले नियमित ट्याक्स नतिरेपछि अवैधानिक हुन्छन् । उनीहरूको उद्देश्य पनि युरोप छिर्ने नै हुन्छ ।

कतिपयका आफन्तहरू युरोपमा हुन्छन् । टर्की आएपछि जसरी पनि युरोप पुगिन्छ भन्ने आशा हुन्छ । उनीहरूले युरोप मात्रै छिर्नु, यता आएपछि सहयोग गरौंला भन्ने वचन दिन्छन् । त्यसैले पनि धेरैले टर्कीमा इन्ट्री मात्रै हुने गरी भिसा लिएको पनि पाइन्छ ।

यदि तपाईं युरोपको सपना बुन्दै टर्कीको लागि भिसा लगाउँदै हुनुहुन्छ, खर्च गर्दै हुनुहुन्छ भने लाखौं रकम खर्च गर्नुअघि एकपटक सोच्नुहोस् । बुझेर मात्रै यात्रा गर्दा राम्रो ।

अवैध रूपमा अघि बढ्न तस्करहरूले ग्रीस जाने बाटोलाई ‘गेममा’ जाने भन्दा रहेछन् । त्यसैले नेपालीहरू पनि तस्करहरूको ‘गेममा’ निस्कन तयार हुन्छन् ।

घटनाबारे हामीलाई शुरूमा जानकारी नै हुँदैन । तस्करले पैसा असुलेपछि, बन्धक बनाएपछि, पैसा फसेपछि वा गन्तव्यमा पुग्न नसकेर अलपत्र परेपछि मात्रै हामीलाई खबर हुन्छ । एजेन्टको दलदलमा फसेपछि पनि सम्पर्क गरिन्छ । पाँचौं पटक, छैटौं पटक प्रयास गर्दा पनि ग्रीस पुग्न नसकेपछि अप्ठ्यारोमा परें भनेर धेरैले सम्पर्क गर्छन् ।

जंगलको बाटोमा हिंड्दै गर्दा धेरै दुखद घटनाहरू भएका छन् । कतिपयको खुट्टा भाँच्चिएका छन् । यातना र दुःख भोगेका छन् । ऋण गरेको मोटो रकम खर्च भइसकेको हुन्छ । यस्तो अवस्थामा जस्तोसुकै जोखिम मोलेर पनि अघि बढ्न मान्छे तयार हुँदोरहेछ ।

भर्खरको घटना हो, हामीले तीन नेपाली भाइहरूलाई उद्धार गरेर नेपाल पठाएका छौं । उहाँहरूको युकेसम्म पुग्ने सपना रहेछ । नेपालदेखि युके जाने भन्दै टर्की आए । यहाँबाट प्लेनमा नै सर्भिया लगिएछ । त्यहाँबाट १९ दिन जंगलको बाटो हिंडाएर लैजाँदै गर्दा पुलिसले समात्यो । सामानहरू समेत पुलिसले फ्याँकिदिएछ । उनीहरूको खुट्टामा चप्पल समेत थिएन । फेरि–फेरि नआओस् भन्नका लागि पुलिसले फालिदिने गर्दोरहेछ । ग्रीसको पुलिसले उनीहरूलाई समातेर टर्की पठाइदियो । एक जना पाकिस्तानीले बोर्डरदेखि यहाँसम्म ल्याइदिएको थियो ।

दूतावाससँग समन्वय गरेर नेपाल फर्काउन ट्राभल डकुमेन्ट बनाएका छौं । नेपालदेखि उनको परिवारले टिकट काटे । उनीहरू नेपाल फर्किए । उनीहरू चार–पाँच दिन मसँगै बसे । लाखौं रकम खर्च गरेर हिंडेका यस्ता मान्छेका पीडा र बाध्यता लगभग एउटै खालका छन् ।

अहिले हामी भेटे जतिलाई सल्लाह दिन्छौं । यो अवैध बाटो हो । एजेन्टले बन्धक बनाएर वा अपहरण गरेर थप पैसा असुल्न पनि सक्छ । यसरी आउनुहुन्न भनेर नेपालीले यसअघि भोगेका घटनाहरू पनि सुनाउँछौं ।

टर्कीमा कति नेपाली छन् ? हामीसँग यस सम्बन्धी कुनै तथ्याङ्क छैन । न नेपाल सरकारसँग छ, न टर्की सरकारसँग छ । मेरो व्यक्तिगत अनुमानमा झन्डै २५०० जति नेपाली छन् भन्ने लाग्छ । त्यसमा एक हजार भन्दा बढी त अवैधानिक नै होलान् ।

नेपाल सरकार वैदेशिक रोजगार विभागले टर्कीका लागि श्रम स्वीकृति दिंदा अलि राम्रो चेकजाँच गर्नुपर्छ । पछिल्लो क्रममा इरान हुँदै पनि टर्की आउने नेपालीको संख्या बढ्दो छ । त्यतातिर पनि सरकारको ध्यान जान जरूरी छ । वर्क परमिट भिसामा आएर पनि इन्ट्री हुने बित्तिकै परमिट क्यान्सिल भएको पनि पाइन्छ । त्यता पनि ध्यान दिन जरूरी छ ।

अर्कोतर्फ नेपालीलाई टर्की पठाउने म्यानपावर कम्पनीबारे पनि छानबीन र अनुसन्धान जरूरी छ । यदि तपाईं युरोपको सपना बुन्दै टर्कीको लागि भिसा लगाउँदै हुनुहुन्छ, खर्च गर्दै हुनुहुन्छ भने लाखौं रकम खर्च गर्नुअघि एकपटक सोच्नुहोस् । बुझेर मात्रै यात्रा गर्दा राम्रो । आउनु अघि हामीसँग सुझाव लिन सक्नुहुन्छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनुअघि यसमा पनि ध्यान दिन जरूरी छ ।

(एनआरएनए टर्कीका अध्यक्ष घिसिङसँग अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानीको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?