+
+

मछिन्द्रका प्रशिक्षक प्रवेश भन्छन् : जसले ट्रेनिङमा राम्रो गर्छ उसैलाई खेलाउने हो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते ६:३५

७ मंसिर, काठमाडौं । पछिल्लो समय राष्ट्रिय टिममा चर्चा पाउन सफल खेलाडी हुन् मनिष डाँगी । अनl ८ वर्षअघि राष्ट्रिय टिमबाट गोल गर्दै चर्चा आएका खेलाडी हुन् विमल घर्ती मगर ।

यी दुई खेलाडीले सोमबार वैकल्पिक खेलाडीको रुपमा मछिन्द्र फुटबल क्लबको लागि मैदान प्रवेश गर्दै शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेल खेले ।

एनआरटीविरुद्धको पहिलो खेलमा मछिन्द्रले २-१ को जित हात पार्दा मनिष ६०औं र विमल ८०औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

मछिन्द्रको जितमा दुवै गोल भने सुनिल बलले गरे । मनिष हाल राष्ट्रिय टिममा छन् भने विमल चोटका कारण घुँडाको शल्यक्रियापछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलमार्फत मैदानमा पुनरागमन गरे ।

मनिषले भने यसै खेलबाट ए डिभिजन लिगमा डेब्यु गरे ।

मनिष, विमल र सुनिल बाहेक मछिन्द्रमा राष्ट्रिय टिमका सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ अनि राष्ट्रिय टिमबाट खेलिसकेका अभिषेक रिजाल, रन्जित धिमाल, देवेन्द्र तामाङ र छिरिङ गुरुङ पनि खेले ।

एनआरटीविरुद्ध मछिन्द्रका कुल १४ खेलाडीले खेल्दा तीन विदेशी र विमलसँगै ८०औं मिनेटमा मैदान प्रवेश गरेका उत्सव राई बाहेक १० जनासँग राष्ट्रिय टिमको अनुभव थियो । विदेशी खेलाडीमा पनि अजरवैजानको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका नुर्लान नोभ्रुजोभ जस्ता खेलाडी थिए ।

यस्तै बेन्चमा अझै रेजिन सुब्बा, बुद्द चेम्जोङ जस्ता खेलाडी थिए ।

साविक विजेता मछिन्द्रले यसपटक उपाधि रक्षा गर्न भनेर नै मनिष, सुनिल बल र छिरिङ गुरुङ जस्ता खेलाडीलाई भित्र्याएको छ । यस्तै चोटबाट ठीक हुँदै गरेका विमललाई पनि क्लबले निरन्तरता दिएको छ ।

धेरै नाम चलेका र स्टार खेलाडी हुँदा प्रशिक्षकलाई खेलाडी ह्याण्डल गर्न गाह्रो हुन्छ । सायद मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाललाई पनि त्यस्तै भयो ।

उनले खेलपछि ट्रेनिङमा राम्रो गर्ने खेलाडीलाई नै खेलाएको प्रतिक्रिया दिए । धेरै नाम चलेका खेलाडी हुदा गाह्रो होला नि भन्ने प्रश्नमा प्रवेशले भने, ‘ट्रेनिङमा जसले बेस्ट दिन्छ उसलाई पहिलो रोजाइमा खेलाउने हो । कोच भएपछि मैले पनि त्यही गर्ने हो ।’

मिडफिल्डर विशाल राई केही थाकेको जस्तो देखिएकोले उनलाई परिवर्तन गरिएको उनले बताए । ‘खेल जित्नका लागि खेलाउनुपर्ने हुन्छ । खेलाडी थाक्यो भने ६०-७० मिनेटमा परिवर्तन गर्नुपर्ने हुन्छ ।’

पहिलो खेलमा एनआरटीलाई हराउँदै उपाधि रक्षा अभियान थाल्दा प्रशिक्षक कटुवाल सन्तुष्ट देखिए । ‘फस्ट म्याच गाह्रो हुन्छ । एनबरटीसँग दुई जना राम्रो अफ्रिकन फरवार्ड थियो । तीन अंक जोड्न सकेकोमा खुशी छु । केही गोल गर्ने अवसर गुमाए ।’

उनले केही अवस्थामा रेफ्रीले पनि गल्ती गरेको भन्दै गुनासो राखे । एनआरटीका एरिक विष्टले फ्रि किकमा गोल गर्दा फल नभएको उनको भनाइ थियो ।

उता हारबाट लिग सुरु गरेपनि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य सन्तुष्ट देखिए । ‘पहिलो खेल हो । सन्तुष्ट नै छु । केटाहरूले राम्रो खेले’ शाक्यले भने, ‘सानो गल्तीले गर्दा दोस्रो गोल खानु पुग्यौँ ।’

पहिलो खेल भएकोले टिम पनि राम्रोसँग सेट हुन नपाएको र विदेशीहरूलाई पनि राम्रो सपोर्ट नभएको उनले बताए ।

एरिकको फ्रिकिक गोलको बारेमा सोध्दा उनले यसका लागि ट्रेनिङ गरेको र त्यसमा सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?